Logo
Logo

रहस्यकै गर्भमा बिलाए मदन


2.3k
Shares

जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय जिप दुर्घटनाबाट निधन भएको पनि ३२ वर्ष बितेछ । यो ३२ वर्षमा नेपालमा धेरै राजनीतिक परिवर्तनहरू भए । २०५१ सालमा एमालेको नौ महिने शासनकालदेखि अहिलेसम्म नेकपा एमालेको नेतृत्वमा पटकपटक सरकार बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयं चारपटक प्रधानमन्त्री बनिसकेका छन् । तर, मदन–जीवराजले मरेर पनि न्याय पाएनन्

दासढुंगा हत्या काण्डको न्यायिक आयोगदेखि छानबिन समितिहरू बने, तर आफैँ चार चारपटक प्रधानमन्त्री हुँदा पनि मदन आश्रितको हत्यारा पत्ता लगाउन सकेनन् । एमाले स्वयंले भन्ने गथ्र्यो मदनको हत्यामा देशी विदेशी शक्तिको हात छ, तर त्यो देशी विदेशी शक्ति को हो भन्ने कुरा पनि रहस्यकै गर्भमा छ । आफ्नै नेतृत्वको सरकारले चाह्यो भने यो हत्याकाण्डको पर्दाफास हुनसक्छ तर, चिन्ता र चासो कार्यकर्ताहरूलाई बाहेक नेतृत्वलाई छैन ।

नेतृत्वले ३६५ दिनमा जेठ ३ गते मात्र मदनलाई सम्झने, ३६४ दिन बिर्सने गरेको छ । मदन भण्डारी दूरदर्शी नेता मात्र थिएनन्, सादा जीवन उच्च विचारका प्रतिविम्ब पनि थिए । उनी यो धर्तीमा जति बाँचे देश र जनताका लागि बाँचे । काठमाडौँको नक्सालमा उनको डेरा थियो, बागबजारमा कार्यालय । डेराबाट कार्यालय जाँदा उनी साइकल चलाएर जान्थे । डेरामा बेदका चार/पाँचवटा कुर्ची थिए । सम्पत्तिको नाममा एउटा आफूले बोक्ने ब्याग मात्र थियो ।

उनमा पदको घमन्ड थिएन, न त सम्पत्तिकै मोह । यदि, पदको घमन्ड भएको भए मनमोहन अधिकारीलाई पार्टीको अध्यक्षमा राखेर आफू महासचिवमा मात्र सीमित हुने थिएनन् । २०४८ सालको निर्वाचनपछि मदन भण्डारी प्रमुख प्रतिपक्ष दलको नेता बने, उपनेता सिपी मैनालीलाई बनाए ।

पाँचौँ महाधिवेशनमा सिपी मैनाली मदनका प्रतिस्पर्धी थिए । तर, स–सम्मान सिपीलाई संसदीय दलको उपनेता बनाउनु भनेको पार्टीभित्र फरक विचारको सम्मान गर्नु थियो । यस घटनाबाट पनि नेतृत्वको सोच कति दूरदर्शी र पारदर्शी हुनुपर्छ भन्ने शिक्षा हामीले लिनुपर्छ ।

त्यही एमाले आज विचारविहीनहरूको झुन्डमा परिणत भएको छ । फरक विचार राख्नेहरूमाथि पूर्वाग्रह साँधिएको छ । ‘ओली भनेको एमाले, एमाले भनेकै ओली’मा पार्टी रूपान्तरण भएको छ । मदनले मनमोहनलाई जोडेर एमाले बनाए, केपीले प्रचण्डलाई जोडेर नेकपा बनाए ।

नेपाली कम्युनिष्ट आन्दोलनमा यी दुई कामले ऐतिहासिक फड्को मा¥यो । मदनले जोडेको एमाले निरन्तर बगिरहेको छ, ओलीले जोडेको नेकपा बगर बनेको छ । यसबाट हिजोको एमाले र आजको एमालेको नेतृत्व कस्तो थियो भन्ने कुराको तुलना गर्न सकिन्छ ।

मदन भण्डारीको सम्झनामा यी हरफहरू लेखिरहँदा मनमा अनेकौँ तरङ्गहरू आइरहेका छन् । हिजो भूमिगतकादेखि एमालेमा बिताएका क्षणहरू छाल बनेर दिमागमा उर्लिरहेका छन् । ‘दृष्टि’ पत्रिकामार्फत पाँचौँ महाधिवेशनमा मदनको पक्षमा दृढतापूर्वक उभिएको क्षण र नवौँ महाधिवेशनमा ओलीको पक्षमा उभिएको धरातलको स्मरण भइरहेको छ । पाँचौँ महाधिवेशन विचारको लडाइँ थियो भने, दशौँ महाधिवेशन व्यक्तिको ‘इगो’ बनेको थियो ।

वास्तवमा, यी दुई क्षण भनेको जनताको बहुदलीय जनवादको जगमा उभिएको क्षण थियो । फरक कति मात्र हो भने पाँचौँ महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुन्यो, नवौँ महाधिवेशनले ओलीलाई अध्यक्ष ।

फरक के हो भने मदनले छोटो समयमै एमालेलाई सगरमाथाको शिरमा पु¥याए, अन्ततः ओलीले एमालेलाई नारायणीको तिरमा पु¥याए । मदन भण्डारी कुनै राजकीय पदमा थिएनन् र पनि विश्वमै हलचल ल्याउने नेता थिए, जसको विषयमा ‘न्यूज विक’ जस्तो अन्तर्राष्ट्रिय म्यागजिनमा ‘कार्ल माक्र्स लिभ इन नेपाल’ भनेर अन्तर्वार्ता छापियो । ओलीको विषयमा त्यसको विपरीत अन्तर्राष्ट्रिय मिडियामा नकारात्मक कुरा मात्र छापिन्छन् ।

भन्नुको मतलब पदले मात्रै कोही ठूलो नेता बन्दैन । ठूलो नेता बन्न पदअनुसारको विचार, व्यवहार र आचरण पनि चाहिन्छ । प्रधानमन्त्री ओलीले बल्खुमा गएर मदन–आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरिरहँदा मदन भण्डारीका जीवनशैलीबाट केही कुरा अनुशरण गर्न सके मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने थियो ।

प्रतिक्रिया दिनुहोस्