Logo
Logo

सुमात्रा टापु नजिकै भूकम्प, १४० भन्दा बढी घरमा क्षति


315
Shares

काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापु नजिकै शुक्रवार बिहान ५.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण बेङ्कुलु प्रान्तमा १४० भन्दा बढी घरमा क्षति पुगेको छ, तर हालसम्म मानवीय क्षतिको कुनै खबर प्राप्त भएको छैन ।

युएसजिएसका अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान २:५२ बजे बेङ्कुलु सहर नजिकै समुद्रमा, ६८ किलोमिटर गहिराइमा गएको थियो । यता, इन्डोनेसियाको मौसम विज्ञान, जलवायु र भूगर्भीय एजेन्सी (बीएमकेजी) ले भूकम्पको केन्द्रविन्दु ८४ किलोमिटर गहिराइमा रहेको र म्याग्निच्युड ६.० रहेको उल्लेख गरेको छ । बीएमकेजीले यो भूकम्पबाट सुनामीको कुनै सम्भावना नरहेको स्पष्ट गरेको छ ।

राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले बेङ्कुलु सहरमा मात्र १४० घर प्रभावित भएको र तीमध्ये कम्तीमा आठ वटा घर पूर्ण रूपमा ध्वस्त भएको बताए ।  “यी घरहरूको पुनर्निर्माण सम्भव छैन,” उनले पत्रकार सम्मेलनमा भने। साथै, सेन्ट्रल बेङ्कुलु जिल्लामा दुई वटा घरमा सामान्य क्षति भएको जनाइएको छ ।

इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा अवस्थित छ, जहाँ टेक्टोनिक प्लेटहरूको घर्षणका कारण बारम्बार भूकम्पहरू आउने गर्छन् । विगतमा यहाँ ठुला भूकम्पहरूले विनाशकारी क्षति पुर्‍याएका छन् । सन् २०२१ मा सुलावेसीमा ६।२ म्याग्निच्युडको भूकम्पले १०० भन्दा बढीको ज्यान लिएको थियो भने सन् २०१८ मा पालूमा ७.५ म्याग्निच्युडको भूकम्प र सुनामीले २,२०० भन्दा बढीको मृत्यु भएको थियो । त्यस्तै, सन् २००४ मा आचेमा गएको ९.१ म्याग्निच्युडको भूकम्प र सुनामीले १ लाख ७० हजारभन्दा बढीको ज्यान लिएको थियो । हाल स्थानीय अधिकारीहरूले क्षतिग्रस्त क्षेत्रको मूल्याङ्कन र प्रभावितहरूलाई सहयोग प्रदान गर्ने कार्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्