Logo
Logo

हार्वर्डमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्पको कदमलाई अदालतले रोक्यो


1.4k
Shares

काठमाडौं । अमेरिकाको प्रख्यात हार्वर्ड विश्वविद्यालयमा विदेशी भर्नामा रोक लगाउने राष्ट्रपति ट्रम्प प्रशासनको कदमलाई अदालतले तत्कालका लागि रोक लगाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार शुक्रबार बोस्टनको संघीय अदालतअन्तर्गतको जिल्ला अदालतले विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्ड विश्वविद्यालयको अधिकार खोस्ने ट्रम्प प्रशासनको कदमलालाई रोक लगाएको हो ।

न्यायाधीश एलिसन बुरोजले ट्रम्प प्रशासनको उक्त कदममा अस्थायी रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । अदालतको उक्त आदेशले हजारौं विदेशी विद्यार्थीलाई तत्काल राहत मिलेको छ ।

‘अन्तर्राष्ट्रिय विद्यार्थीहरूबिना हार्वर्ड, हार्वर्ड होइन,’ न्यायाधीश बुरोजले गरेको आदेशमा भनिएको छ । यो मुद्दामा अर्को सुनुवाइ नहुन्जेलका लागि विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार सुरक्षित भएको छ ।

बिहीबार ट्रम्प प्रशासनका गृहमन्त्री कृष्टि नोयमले विश्वविद्यालयलाई पत्राचार गर्दै विदेशी विद्यार्थी भर्ना अधिकार रद्द गरेको थियो । गृहमन्त्री नोयमले विश्वविद्यालयको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम (एसइभिपी) प्रमाणीकरण शैक्षिक सत्र २०२५÷०२५ देखि खारेज गर्न निर्देशन दिएकी थिइन् ।

प्रशासनले हार्वर्डलाई अहिले पढिरहेको विदेशी विद्यार्थीहरूलाई पनि अरू विश्वविद्यालयमा सार्न पनि आदेश दिएको छ । अन्यथा त्यस्ता विद्यार्थीले कानुनी हैसियत गुमाउनुपर्ने चेतावनी दिएको थियो ।

हार्वर्डले प्रशासन र विद्यार्थी अनुशासन कायम गर्न सुधार नथालेको राष्ट्रपति ट्रम्पको आरोप छ । साथै, हार्वर्डले ट्रम्प सरकारले आफ्नो शैक्षिक निर्णयहरुमा नियन्त्रण गर्न संघीय स्रोत रोक्का गरेको दाबी गर्दै संघीय रकम फुक्का गर्न माग गर्दै मासाच्युस्ट्सस्थित जिल्ला अदालतमा मुद्दा हालिसकेको समाचारमा जनाइएको छ ।

ट्रम्प प्रशासनको यो कदमलाई डेमोक्र्याटहरूले पनि निन्दा गरेका थिए । यसलाई उनीहरूले हार्वर्डको शैक्षिक स्वतन्त्रतामाथि असह्य भनेका छन् । गृहमन्त्री नोयमले भने हार्वर्डले हिंसालाई प्रश्रय दिएको, यहूदी विरोधी भावनालाई बढावा दिएको र चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको आरोप लगाएकी छन् । रोयटर्सका अनुसार हाल हार्वर्डमा कुल विद्यार्थीको २७ प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी छन् ।

प्रतिक्रिया दिनुहोस्