Logo
Logo

अष्ट्रियाली पूर्व चान्सलर झुटो बयान दिएको अभियोगमा निर्दोष ठहर


756
Shares

काठमाडौं । अष्ट्रियाको एक अदालतले सोमबार पूर्व चान्सलर सेबास्टियन कुर्जलाई झुटो बयान दिएको अभियोगमा निर्दोष ठहर गरेको छ । कुनै समय युरोपमा सफल युवा (वुन्डरकिन्ड) भनेर चिनिने कुर्जले सन् २०२१ मा चान्सलर पदबाट राजीनामा दिएका थिए ।

उनलाई गत वर्ष संसदीय छानबिनमा झुटो बयान दिएको आरोपमा दोषी ठहर गर्दै आठ महिनाको जेल सजाय सुनाइएको थियो । फैसलाविरूद्ध ३८ वर्षीय कुर्जले आफू निर्दोष रहेको भन्दै अपिल गरेका थिए ।

कुर्जको अपिलमाथि सुनुवाइ भएपछि फैसलामा सेबेस्टियन कुर्ज निर्दोष ठहर भएका छन् । अदालतमा सुनुवाईका क्रममा आफ्नो बयानमा कुर्जले आफूलाई अवरोध गरिएको र उनलाई दोषी ठहर गर्ने न्यायाधीश पक्षपातपूर्ण भएको तर्क गरेका थिए ।

सन् २०१९ मा अति दक्षिणपन्थीसँगको आफ्नो पहिलो गठबन्धन सरकार ढाल्ने व्यापक भ्रष्टाचार काण्डको छानबिन गरिरहेको संसदीय छानबिनलाई गुमराहमा राखेको आरोपमा कुर्जलाई गत वर्ष दोषी ठहर गरिएको थियो ।

अर्को एक मुद्दामा कुर्जमाथि भ्रष्टाचारको आरोप लागेको छ । कुर्जले आफ्नो छवि उकास्न र अनुकूल मिडिया कभरेजको लागि भुक्तानी गर्न चुनावको लागि सार्वजनिक पैसाको दुरुपयोग गरेको अभियोजकहरूले आशङ्का गरेका छन् ।

सन् २०२१ मा राजनीति छोडेपछि कुर्ज धेरै निजी अन्तर्राष्ट्रिय उद्यममा संलग्न छन् । सन् २०२३ मा विवादास्पद पेगासस स्पाइवेयर विकास गर्ने इजरायलको ‘एनएसओ ग्रुप’का पूर्व प्रमुखसँग मिलेर स्थापना गरेको ‘ड्रिम साइबर सेक्युरिटी कम्पनी’ मा कुर्ज र अर्का एक उद्यमी पनि सामेल छन् ।

यस वर्षको सुरुमा ड्रिमले आफ्नो कम्पनीको मूल्य १.१ बिलियन अमेरिकी डलर रहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्