काठमाडौं । जापान सरकारले अमेरिकाले लगाएको आयात करको असरबाट साना तथा मध्यम व्यवसायलाई जोगाउन १५ अर्ब ५० करोड डलरको राहत कार्यक्रम घोषणा गरेको छ । अमेरिकाले जापानलगायत विभिन्न देशका सामानमा १० प्रतिशत आधारभूत आयात कर तथा गाडी, फलाम र आल्मुनियममा थप उच्च कर लगाएको छ, जसले जापानी व्यवसायमा प्रत्यक्ष असर पारेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार, सरकारले साना व्यवसायलाई सहज ऋण, ऋणका सर्तमा छुट र सरकारी ऋण संस्थामार्फत आर्थिक सहायता प्रदान गर्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चमा जापानी सामानमा २४ प्रतिशत ‘प्रतिशोधात्मक’ कर घोषणा गरेका थिए, तर यो निर्णय जुलाईसम्म स्थगित छ ।
जापानले कर हटाउन आग्रह गरिरहेको छ र यसका लागि सरकारी प्रतिनिधिमण्डल चाँडै अमेरिकासँग चौथो चरणको वार्तामा सहभागी हुँदै छ ।
प्रधानमन्त्री शिगेरु इशिबाले आगामी महिना क्यानडामा हुने जी–७ शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पसँग भेटेर सहमति जुटाउने सङ्केत गरेका छन् । साथै, बढ्दो बिजुली र ग्यासको मूल्यले नागरिकमा परेको असर कम गर्न सरकारले तीन महिनाका लागि २ खर्ब ८८ अर्ब येनको सहायता प्याकेज घोषणा गरेको छ । अस्पताल, विद्यालय र साना उद्योगका लागि थप विशेष सहायता योजनासमेत अघि सारिएको छ ।










