काठमाडौं । जापानले आफ्नो नयाँ विकसित ‘टाइप ८८’ जमिनबाट समुद्रमा प्रहार गर्ने क्षेप्यास्त्रको परीक्षण यस वर्षको सैन्य अभ्यासमा गर्ने भएको छ । यो अभ्यास जुन १९ देखि ३० सम्म होक्काइदो टापुको दक्षिणी तटीय क्षेत्रमा हुनेछ ।

जापानी सञ्चारमाध्यमका अनुसार, उक्त अभ्यासमा जापानी प्रतिरक्षा बलले युद्ध पोत प्रतिरोधी प्रणालीको प्रशिक्षण लिनेछ । आशायी सिम्बुन अखबारले जनाएअनुसार, जापानले आफ्नो भूमिबाट पहिलो पटक यस्तो क्षेप्यास्त्रको परीक्षण गर्न लागेको हो ।
यसअघि यो क्षेप्यास्त्र अमेरिका र अन्य विदेशी भूमिमा परीक्षण भइसकेको छ । यसको मारक दूरी ६२ माइल रहेको बताइएको छ । पूर्वी एशियामा चिनियाँ प्रभाव बढिरहेको सन्दर्भमा जापानले यो नयाँ क्षेप्यास्त्रको परीक्षण गर्न लागेको हो ।










