Logo
Logo

यस्तो पनि हुन्छ, प्रहरी संगठनमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० साउन । कोरोना संकटको बेला न्यूनतम स्रोत साधन बिना नै प्रहरीहरु फिल्डमा खटिएका छन् । दैनिक १५ घन्टासम्म खटिएका उनीहरुले सरकारले दिने भनेको खाजा खर्च समेत पाएका छैनन् । जनताको जीवन जोगाउन केही प्रहरी दिनरात खटिएका छन् ।

यस्तो अवस्थामा केही प्रहरीहरुलाई भने मस्ती छ । घरमै बसेर तलब मात्र होइन, उनीहरुले राशनसमेत लिदै आएका छन् । तीनै प्रहरीमध्ये एक हुन् प्रहरी नायब निरीक्षक पुनम चन्द । केही वर्षयता सधैं आकर्षक कार्यालयहरुमा लेखापालको रुपमा काम गर्दै आएकी उनले चैतदेखि कतै हाजिरसमेत नगरी तलब र राशन लिदै आएको खुलेको छ । तर, उच्च प्रहरी अधिकारीले नै उनलाई जोगाएका छन् ।

राष्ट्रसंघीय शान्ति मिसनमा छनोट हुनुअघि उनी काठमाडौं परिसरमा लेखापालकै रुपमा कार्यरत थिइन् । त्यसअघि सिआईबी र अपराध महाशाखामा थिइन् । मिसन छनोट भएपछि उनको परिसरबाट सरुवा भयो । तर, शान्ति मिसन जानुअघि नै लकडाउन सुरु भएपछि मिसनका लागि छनोट भएका प्रहरीहरुलाई नियमित डिउटीमा खटाउने निर्णय प्रहरी प्रधान कार्यालयबाट भयो ।

उनको दरबन्दी महानगरीय अपराध महाशाखामा थियो । लकडाउनभरी एक दिन पनि उनी कार्यालयमा उपस्थित भइनन् । तर, महाशाखाले उनलाई तलब भने दिइरह्यो । एक महिनाभन्दा लामो समय गैरहाजिर भएमा त्यस्ता प्रहरीलाई सेवाबाट हटाउने समेत गरिएको छ । तर, पहुँचवाला प्रहरीको हकमा भने केही हुँदैन ।

चार महिना घरमै बसेर तलब लिइरहेकी उनी हालै मात्र डिउटीमा जान थालेको स्रोत बताउँछ । जबकी उनलाई प्रहरीले स्पष्टिकरण समेत सोधेको छैन । महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखाका प्रहरी अधिकारीहरुले उनलाई कारबाहीबाट जोगाएका हुन् । सधैं पहुँचका भरमा आकर्षक पोष्टिङ पाउने उनी अनुशासनमा पनि कमजोर प्रहरी मानिन्छिन् । आफ्नै हाकिमहरुलाई समेत सम्मान नगर्ने उनको कार्यशैली छ ।

पहुँचका भरमा जागिर खानेहरुको एउटा उदारण मात्र भएको प्रहरी अधिकारीहरु बताउँछन । उच्च पदस्थ व्यक्तिको निकट हुने र उनीहरुको काम सघाएर डिउटी नै नगरी तलब र राशन बुझ्ने प्रहरीको संख्या ठूलो छ ।

प्रतिक्रिया दिनुहोस्