काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले आइतबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जुलाई–अगस्ट २०२४ मा भएको मानवताविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा हसिनाविरुद्ध पाँच वटा आरोप पत्र दायर गरिएको छ ।

आईसीटीका अनुसार, हसिनालाई मानवताविरुद्धको अपराधको आदेश दिने मुख्य व्यक्ति भएको आरोप लगाइएको छ । अभियोजन पक्षले दायर गरेको आरोपपत्रमा तथ्य, तथ्याङ्क, कागजात, भिडियो र अडियो कलका विवरण समेटिएको छ । साथै, मुद्दामा ८१ जनालाई साक्षीका रूपमा बोलाइएको बीबीसी बंगला सेवाले जनाएको छ ।
यसै मुद्दामा बङ्गलादेशका पूर्वगृहमन्त्री असदुज्जमान खान र पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल९मामुनविरुद्ध पनि आरोप लगाइएको छ। खानविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ भने अल-मामुन पक्राउ परिसकेका छन् ।
सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरूले गरेको आन्दोलनले हिंसात्मक रूप लिएपछि १६ वर्षसम्म सत्तामा रहेकी ७७ वर्षीया हसिना गत अगस्ट ५, २०२४ देखि सत्ताबाट बाहिरिएर भारतमा शरण लिइरहेकी छिन् ।










