काठमाडौं । लामो समयदेखि गीत लेखनमा सक्रिय सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो रचनामा नयाँ आधुनिक गीत ‘माया हो माया’ ल्याएका छन् । पूर्व्प्रधानमन्त्री एवं नेकाि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला लगायतले उक्त गीतको एक समारोहबिच सार्वजनिक गरेका छन् ।

गीत सार्वजनिक समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले गीतकार क्षत्रीको गीत निकै माधुर्य रहेको बताए । भिडियो पनि आफुलाई मनपरेको भन्दै उनले गीतको सफलतको शुभकामना व्यक्त गरे । ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको यो गीतमा गायक डेविड शंकर र गायिका बेनिशा पौडेलको युगल स्वरमा रहेको छ ।
गीतमा दीपक शर्माको संगीत सृजना रहेको छ । काठमाडौँको पुतलीसडकस्थित आर्टोम्युजि रेकर्डिङ स्टुडियामा रेकर्ड गरिएको यो गीतलाई जुगल डंगोलले संगीत संयोजन गरेका हुन् ।
यस गीतको भिडियोलाई निर्देशन डब्बु क्षत्रीले नै गरेका हुन् । भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका एवं मोडल सरिता भारतीले अभिनय गरेका छन् । भिडियोमा यी दुईको अभिनय राम्रो छ ।
काठमाडौंबाट पाँच दिनको यात्रा गरेर गीतको भिडियो मुगुको रारा, कालिकोट र जुम्लामा छायांकन गरिएको छ । कर्णालीको सुन्दरतालाई प्रवर्धन गर्ने उद्देश्यले गीतको भिडियोलाई ती क्षेत्रमा छायांकन गरिएको गीतकार डब्बु क्षत्रीले बताए ।