Logo
Logo

नेपाललाई माया गर्ने जापानीहरू


2.5k
Shares

साइतामाको गाउँबाट विशाल टोकियोको भीडभाडमा फर्किएँ, एक्लै रेल चढेर । अब एक्लै हिँड्ने अभ्यास पनि गराउन थालेका थिए साथीहरूले । यसरी एक्लै यात्रा गर्दाको अनुभव बेग्लै हुने नै भयो । टोकियोमा सुसुमु आओकीको डेरा थियो । घर त अर्कै सहरमा रहेछ । एकदमै व्यस्त मान्छे, अरू जापानीभन्दा पनि । डेरामा प्रायः म एक्लै नै हुन्थेँ । भान्सामा खानेकुरा जे छ, त्यही खान्थेँ । कहिलेकाहीँ बुझेपनि, नबुझेपनि एक्लै टिभी हेरेर पनि बसेँ ।

एकदिन टोकियोकै सोफिया युनिभर्सिटीको एउटा हलमा नेपालबारे एउटा कार्यक्रम रहेछ । सुसुमुले मलाई पनि लिएर गए । नेपालबारे चासो राख्ने अरू बुद्धिजीवीहरूसँग भेटाउन खोजेका रहेछन् । म पनि उत्साहित भएर उनको पछि लागेँ ।

नेपालका पुरातत्वविद् डा. साफल्य अमात्यको प्रस्तुति रहेछ– त्यो दिन । उहाँकी श्रीमती र अन्य केही नेपालीहरूलाई पनि भेट्न पाएँ । नेपालबारे कुरा सुन्न चाहने र नेपाललाई माया गर्नेहरूको भीड देखेर म छक्क परेँ ।

कति धेरै जापानीहरू भेला भएका ! हल हाउसफूल थियो । अरु बेला प्रायः व्यस्त रहने जापानीहरू त्यो दिन त्यसरी भेला भएको देखेर मेरो मन पनि प्रसन्न भयो । सुसुमुले धेरै मान्छेहरूसँग परिचय गराइदिए– नेपालबाट आएको लेखक भनेर । हो त्यही बेला पहिलो पटक नेपालविज्ञ प्रोफेसर हिरोशी इशीसँग मेरो परिचय भएको थियो ।

छुट्टै भेट्नका लागि समय पनि मिलाइदिएका थिए– सुसुमुले । प्रोफेसर हिरोशीले पनि मेरा लेखहरू पढेका रहेछन् र मेरो जापान यात्राको निम्ति सहयोग गर्नसमेत भ्याइसकेका रहेछन् ।

नेपालबाटै आएकाहरू पनि खुसी देखिए मेरो त्यहाँको उपस्थिति र चिनजानले । कतिपय जापानीहरूले त मेरो लेख पनि पढेका रहेछन् । सुसुमु कति असल साथी ! कुनै कुरामा कन्जुस्याईँ देख्दिन थिएँ । उदारता मात्र होइन, बौद्धिकतामा पनि उनी अब्बल थिए ।

व्यक्तिगत रुपमा कलेजदेखि नै चिनजान भएपनि, उनको व्यवहारले प्रभावित भएपनि, जापानमा उनको हैसियतबारे थाहा थिएन । त्यो भेलामा उनको सम्बन्धको सञ्जाल देख्दा अझै खुसी लाग्यो । त्योभन्दा अझै बढी खुसी त नेपाललाई मन पराउने धेरै जापानीहरू देख्दा लाग्यो ।

त्यही अवसरमा बाल्यकालमा सँगै सुकुलमा बसेर पढेका एकजना नेपाली सहपाठी माधवलाई पनि देख्दा अचम्म लाग्यो । उनी उतै बस्ने क्रममा, नेपाली कम, जापानी बढी भैसकेका रहेछन् । तर चिनेको मात्र नभई नाम पनि सम्झिरहेका रहेछन् । त्यो देखेर पनि खुसी लागेको थियो ।

त्यो कार्यक्रमबाट फर्केपछि फेरि एकपल्ट टोकियो घुमाए सुसुमुले मलाई । अझै पनि सबै कुरा नौलै थिए मेरा निम्ति । कोठामा पुगेपछि हामी पढेको युनिभर्सिटीका अरू सहपाठीहरूको पनि लिस्ट देखाए । कुन दिन कहाँ बस्ने ? को को सँग कहाँ कहाँ जाने ? स्पष्ट योजना देख्दा म अचम्मै भएँ ! कति मिहिन काम गरेका साथीहरूले ! त्यतिबेलासम्म जापानमा पनि मोबाइल फोन आइसकेको थिएन ।

तर निकट भविष्यमा हुने विज्ञानको चमत्कारका बारेमा जापानी साथीहरू सचेत थिए । उनीहरूका कुरा सुन्दा अचम्म लाग्थ्यो मलाई । हुन त त्यो बेला नै बैंक जाँदा पैसा निकाल्न मान्छे नचाहिने, सबै मेसिनको सहयोगले हुने भइसकेको थियो ।

“भविष्यमा एउटा सानो चिप्समा सिंगो पुस्तकालय अट्न सक्छ’’ जस्ता कुरा साथीहरू सुनाउँथे । मैले थाहा पाउनुपर्ने कुरा कति बाँकी नै रहेछन्, उनीहरूको ज्ञान र भौतिक संरचनाहरू देख्दा आफ्नो देश त्यहाँ पुग्ला भन्ने प्रश्न मनमा आइरहने नै भयो । मान्छेले नै गरेका कामहरू थिए ती सबै ।

हामीकहाँ त्यो बेला भर्खरै मात्र ०४६ सालको आन्दोलन सफल भएर बहुदल आएको थियो । अब त नेपालले पनि प्रगति गर्न सक्छ होला भन्ने ठुलो आशा लिएर सरोज नेपाल फर्केका थिए । सरोज र छोरीलाई हरेक क्षण जस्तै सम्झिरहन्थेँ । अहिले जस्तो फोनमा कुरा गर्न पनि कहाँ सजिलो थियो र ! साथीहरूको घरबाट फोन गर्दा धैरै पैसा लाग्ने भएकोले फोन गर्छु भन्न लाज लाग्थ्यो । तैपनि साथीहरूले नै जानेर फोन गर्न दिन्थे ।

फोन गरेका बेला सरोजको उत्साह अनुभूत गर्थेँ । उनका सपना र योजना सुन्दा पनि खुसी लागेको थियो । नयाँ काम गर्ने सम्भावना मात्र होइन कि सिंगो नेपालले नै उनलाई पर्खेको जस्तो अनुभूत गरेकी थिएँ ।

उनका कुरा सुन्दा म निकै भावुक भएकी थिएँ । नयाँ अस्पताल बनाउने सम्भावना र साथीहरूसँग त्यसैबारे कुराकानी भइरहेको कुरा फोनमा सुन्दा कसरी त्यो योजनालाई सफल बनाउने भनी जापानी साथीहरूसँग पनि कुराकानी गर्ने अवसर पाएँ ।

“छोरीको पनि घरमा बानी परिसक्यो’’ भनेर सरोजले भन्दा एक किसिमको आनन्द लागेको थियो । भगवानलाई कहिल्यै नदेखेपनि मनमनै कृतज्ञ भैरहेँ । सकारात्मक भाव र सकारात्मक वातावरणमा मान्छेको सोच पनि भिन्दै हुँदोरहेछ ।

अर्को दिन एमीले मलाई टोकियो घुमाउने र उनकै घरमा दुई दिन पाहुनाको रुपमा राख्ने योजना रहेछ । उनको घरसम्म पनि सुसुमुले नै लगिदिए । जब एमीसँग भेट भयो, सुसुमु एकछिन पनि त्यहाँ नबसी फर्किहाले । समय नहुनु एउटा कुरा थियो । त्योबाहेक, नबोलाई साथी नै भए पनि अरूको घरमा नजाने चलन रहेछ जापानमा ।

टोकियोको मूल सडकमा घर । हाम्रो न्यूरोडको सम्झना आयो । टोकियोको जग्गा धेरै महङ्गो भनेर सुनेकी थिएँ । त्यति महङ्गो ठाउँमा पनि साथीको त्यति ठूलो घर रहेछ । स्नानगृहको ‘ओफुरो’को पानीमा फूलहरू राखेर पाहुनालाई सबभन्दा पहिले नुहाउने अवसर दिँदा रहेछन् । अनि मिष्ठान्न भोजनसँगै टेबलमा भव्य र न्यानो सत्कार !

भोलिपल्ट टोकियोको नयाँ पुराना ठाउँमा घुमाउन लगिन् एमीले । महङ्गा ठाउँहरूमा पनि आफैले पैसा खर्च गरिन् । धेरै ठाउँको त नाम नै बिर्सिसकेँ ! टोकियो टावर घुम्दाको सम्झना भने ताजै छ अझै ।

एमीले भनेकी थिइन् पेरिसको आइफल टावरभन्दा अग्लो छ भनेर । म त्योबेलासम्म फ्रान्स पुगेकी थिइनँ । शाङ्हाई कै टावर पनि बनिसकेको थिएन । मेरो जीवनमै चढेको सबभन्दा अग्लो टावर थियो– टोकियो टावर । त्यतिबेला नै पहिलो पटक मैनले बनेका विभिन्न प्रख्यात व्यक्तिका मुर्तीहरु देखेकी थिएँ । त्योबेला मोनालिसासंग खिचेको फोटो अहिलेसम्म पनि छ मसँग ।

एमीले टोकियोको सुमिदागावा खोलातिर घुमाउँदै थाइ रेष्टुराँमा लगिन् । लन्च खाँदै गरेका आत्मीय कुराकानी कहाँ बिर्सन सक्छु र ! म एक नेपाली । नेपाललाई मन पराउने चिनेका÷नचिनेका जापानी मित्रहरू प्रति साँच्चै नै कृतज्ञ छु ।

प्रतिक्रिया दिनुहोस्