Logo
Logo

यादव खरेललाई ‘दीर्घ साधना सम्मान’, अरु क-कसले पाए अवार्ड र सम्मान ?


1.8k
Shares

काठमाडौं । बरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेललाई ‘दीर्घ साधना सम्मान’ अर्पण गर्दै १२औँ ‘म्यूजिक खबर म्यूजिक अवार्ड–२०८१’ सम्पन्न भएको छ । राजधानीको तिलगंगास्थित बेस्ट वेस्र्टन प्लस होटलमा शुक्रबार आयोजित म्यूजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गीतकार खरेललाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गीत संगीतका विभिन्न विधामा योगदा पु¥याउने स्रष्टा तथा पत्रकारलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री पाण्डेलगायतका बरिष्ठ गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कार्यक्रमकी संयोजक सबिता पोखरेल लगायतले सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री पाण्डेले प्रतिष्ठित गीतकार यादव खरेललगायतलाई सम्मान गरिसकेपछि बधाई दिँदै विशिष्टदेखि अनुजसम्मका स्रष्टा कलाकारलाई एकै ठाउँमा जम्मा गरेर सम्मानको वातावरण बनाउने म्यूजिक खबर टिमप्रति धन्यवाद दिएका थिए ।

उनले ‘कल्चर फर टुरिजम’को नारा लिएर म्यूजिक खबरले १२ वर्षसम्म गरेको अवार्ड तथा सम्मानको कार्य सह्रानीय भएको भन्दै सरकारले गर्न नसकेको काम व्यक्तिले गर्नु विशिष्ट कार्य भएको बताएका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि एवं स्रष्टा कलाकारलाई स्वागत गर्दै अवार्डका अध्यक्ष सुमन पण्डितले अवार्डलाई सम्मानित र मर्यादित बनाउँदै लैजान सम्पूर्ण कला क्षेत्र लाग्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई ‘संगीत पत्रकारिता पुरस्कार’बाट सम्मान गरिएको थियो । फोटो पत्रकारितामा उचाइ कायम गरेका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘म्यूजिक खबर फोटो पत्रकारिता सम्मान’ अर्पण गरिएको छ भने गायिका पूजा देबकोटालाई ‘म्यूजिक खबर बालप्रतिभा संगीत सम्मान’ र न्युजिल्याण्ड निवासी गीतकार रमिल अधिकारीलाई ‘म्यूजिक खबर डायस्पोरा संगीत सम्मान’ प्रदान गरियो ।

त्यस्तै, गीतकार शेखर ढुंगेल र निर्देशक दिवाकर भट्टराईलाई ‘म्यूजिक खबर स्रष्टा सम्मान’, कोरियोग्राफर गम्भीर विष्टलाई ‘म्यूजिक खबर कला सम्मान’, सफला मैया राजभण्डारीलाई ‘म्यूजिक खबर सामाजिक सेवा सम्मान’ र आश्विनीकान्त झालाई ‘म्यूजिक खबर ब्यूटी प्याजेन्ट कोरियोग्राफर सम्मान’ प्रदान गरिएको छ ।

त्यस्तै, कार्यक्रममा ‘म्यूजिक खबर रजत सम्मान’ बाट तिलकसिंह पेला सम्मानित भएका थिए । गायक खुमन अधिकारी र गायिका जुनु रिजाललाई ‘म्यूजिक खबर दशक सङ्गीत सम्मान अर्पण गरियो भने गायिका मिना लामालाई ‘म्यूजिक युवा सङ्गीत सम्मान अर्पण गरिएको थियो ।

कार्यक्रममा सुगम संगीतर्फ गायक गोविन्द मधुर आचार्य र गायिका बबिना भट्टराई सर्वोत्कृष्ट गायक गायिका घोषित भए भने । आचार्यले एक दिन उज्यालो छाउला गीतका लागि सर्वोत्कृष्ट गायकको अवार्ड चुमेका हुन् ।

त्यस्तै, आधुनिक विधातर्फ नरहरि प्रेमी घर छोडेको मान्छे गीतबाट सर्वोत्कृष्ट सङ्गीतकार बने भने महेश आचार्य तिमी सँगै छैनौँ गीतबाट सर्वोत्कृष्ट गीतकार बन्न सफल भए । गायिका अन्जु पन्त र गायक नरेश रेग्मी धर्ती र जूनको कहानी गीतबाट सर्वोत्कृष्ट युगल गायनको अवार्ड चुम्न सफल भए । एउट जून गीतबाट सुशील बिक्रम शाहले सर्वोत्कृष्ट ध्वनि सम्पादन आधुनिकको अवार्ड चुमे ।

आदत गीतबाट विपिन आचार्य सर्वोत्कृष्ट सङ्गीत संयोजकको अवार्ड चुम्न सफल भए । रुपेश थापा तिमीबिना चल्दैन गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडिओ छायाँकार बन्न सफल भए भने लामपाते सुरतीबाट रबिन बिक सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादनको अवार्ड चुम्न सफल भए ।

अभिनेता विनोद श्रेष्ठ र उषा सुबेदी ‘विदाई’ गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडिओ मोडल मोर्डनतर्फ अवार्ड चुम्न सफल भइन् भने शान थापा छुनै हुन्न जस्तो गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडिओ निर्देशकको अवार्ड चुम्न सफल भए । एलिना चौहान तिमीबिना चल्दैन गीतबाट पपुलर गायिका अफ दि इयरको अवार्ड चुम्न सफल भइन् । भाग्य लेख्ने भगवान गीतबाट गीतकार भुपेन्द्र बुढाथोकीले जुरी अवार्ड गीतकारको अवार्ड प्राप्त गरे ।

पागल गीतबाट केशव पौडेलले जुरी अवार्ड सङ्गीतकारको अवार्ड प्राप्त गरे भने दिपेन्द्र आले ढल्के बरैमा गीतबाट सर्वोत्कृष्ट गायक डायस्पोराको अवार्ड चुम्न सफल भइन् । जति टाले पनि गीतबाट सुरज पण्डितले जुरी अवार्ड गायकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट कस्ट्युम डिजाइनर शम्भू पुरीले प्राप्त गरे ।

यसैगरी, पप गायनतर्फ गायक प्रेज्वल नेपाली कस्तो माया गीतबाट सर्वोत्कृष्ट पप गायक बने । गायिका सारिका घिमिरे कलियुगकी राधा गीतबाट सर्वोत्कृष्ट पप गायिका बन्न सफल भइन् । गीतकार रमेश कोइराला सर्वोत्कृष्ट पप गीतकार बने भने जुगल डंगोल सर्वोत्कृष्ट पप सङ्गीतकार बन्न सफल भए । सुदिप भण्डारी (जिबब) सर्वोत्कृष्ट र्यापर बन्न सफल भए ।

लोकदोहोरीतर्फ गायक सरोज लामिछाने खोली तरेको गीतबाट सर्वोत्कृष्ट गायक लोकदोहोरीको अवार्ड चुम्न सफल भए ।
त्यस्तै, गायिका सुनिता बुढा क्षेत्री उजेली गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् । कृष्ण केसीले ठूली गीतबाट सर्वोत्कृष्ट सङ्गीत लोकदोहोरी, सन्तोष सापकोटा बस्यौ अलग्गै गीतबाट सर्वोत्कृष्ट गीतकार लोकदोहोरी, सामना शाह आँसुको वर्षातबाट सर्वोत्कृष्ट महिला गीतकार, तेजेन्द्र दुरा तिम्रो जवानी गीतबाट सर्वोतकृष्ट सङ्गीत संयोजक लोकदोहोरी, खड्ग बाजुराली ठूली गीतबाट सर्वोत्कृष्ट ध्वनि सम्पादन लोकदोहोरीको अवार्ड चुम्न सफल भए ।

त्यस्तै मौसम हिमाली कश्मिरे पछ्यौरी गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडिओ निर्देशक लोकदोहोरीको अवार्ड चुम्न सफल भए । बादल घिमिरे कसम तोड्ने भा गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडिओ मोडल महिला पुरुष र अस्मिता पुरी फूलमाया गीतबाट सर्वोत्कष्ट म्यूजिक भिडिओ मोडल महिलातर्फ उषा सुबेदी अवार्ड चुम्न सफल भए । रेश्मा तामाङ जुध्यो नजर गीतबाट सर्वोत्कृष्ट कल्चरल गीत गायिका बनिन् ।

गायक शुक्र तामाङ र गायिका रेजिना परियारको ठट्यौली ठाडो भाका गीत सर्वोत्कृष्ट कल्चरल गीत बन्न सफल भयो । गायक रायन बस्यालले घामको झुल्को गीतबाट सर्वोत्कृष्ट नवप्रतिभा गायकको अवार्ड चुमे भने उमेश भट्ट कतै म हराएँ कि गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडिओ नवनिर्देशकको अवार्ड चुम्न सफल भए ।

गायक रामचन्द्र चन्दको पापीनीलाई गीत सर्वोत्कृष्ट लोकगीत बन्न सफल भयो । सबिन आचार्य र निशा गुरुङ सर्वोत्कृष्ट प्रत्यक्ष गायक गायिका घोषित भए । ए गौरी गीतबाट गायिका संगम लामिछाने र लजाउँदै लजाउँदै गीतबाट सुशील ज्ञवाली पब्लिक च्वाइस अवार्ड लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए ।

त्यसैगरी चलचित्रविधातर्फ गीतकार प्रमोद ढुंगाना चलचित्र उपहारको ‘हारेको छैन’ गीतबाट सर्वोत्कृष्ट चलचित्र गीतकार बन्न सफल भए । सङ्गीतकार अर्जुन पोखरेल ज्वाइँसाप चलचित्रको ‘कसम बत्तिको’ गीतबाट सर्वोत्कृष्ट सङ्गीतकार बने । चलचित्र दिमाग खराबको झम्के झमाझम गीतबाट गायक सुमिन खड्का र गायिका नम्रता खरेल सर्वोत्कृष्ट चलचित्र गायक गायिका बन्न सफल भए । गायक सबिन सुवेदीलाई चलचित्र छक्कापञ्जा ५ को विहे भाको छैन गीतबाट इकरेजमेन्ट अवार्ड गायकको अवार्ड प्रदान गरियो ।

उत्कृष्ट पाँचमा परेका मध्येबाट सर्वोत्कृष्ट बन्नका लागि निर्णायकको तर्फबाट ५० प्रतिसत पब्लिकको तर्फबाट (भोट) ४० प्रतिसत र आयोजकको तर्फबाट १० प्रतिसत गणना गरि गीतहरुको मूल्यांकन गरिएको आयोजक संस्थाले जनाएको छ । निर्णायकमा लोकप्रिय मोडल तथा अभिनेत सागर लम्साल बले, म्यूजिक भिडियो निर्देशक तथा कोरियोग्राफर स्मृती तिमिल्सिना ‘गुरुआमा’, बरिष्ठ पत्रकार तुलसी गिरी ‘भावुक’, मोडल सबिना कार्की, लोकप्रिय गायिका देबी घर्ति र लोकप्रिय गायक राजु ढकाल रहेका थिए ।

कार्यक्रम गायिका मन्जु पौडेल र पत्रकार निराजन भण्डारीले सञ्चालन गरेका थिए । कार्यक्रममा शंकर बिसी र अस्मिता पुरीको समूह, शिव विक र रितु तामाङको समूहले नृत्य प्रस्तुत गरेका थिए भने जुनु रिजाल र टिका बमजनले गीत प्रस्तुत गरेका थिए । शुभकामना मिडिया सोलुशनको आयोजनामा आयोजना भएको १२औं म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रमलाई प्रिज्म टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्