काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत ‘दुःख सुनाएर के काम ?’ सार्वजनिक गरिएको छ । डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ ।
गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ ।

कतिपय अवस्थामा मानिस बिरामी भएर अस्पतालको बेडमा छटपटिँदा आफ्नो नजिकको मान्छे खोज्छ, तर त्यस्तो बेला पनि साथ नपाउने अवस्थामा गीतकार खतिवडाले निकै मार्मिक ढंगले ‘साथ मागेर के काम ? चाहिँदाखेरि पाइँदैन भने !’ भन्ने भाव व्यक्त गरेका छन । मानिसलाई स्वार्थी नबनौं, अरूको सुख–दुःखमा साथ दिऊँ भन्ने सन्देश यस गीतमार्फत दिइएको छ ।
साथै, कतिपयले आफ्ना पीडा र दुःख देखाउँछन् भने, केहीले देखाउँदैनन् । फरक यत्ति हो—कसैको आँसु देखिन्छ, कसैको देखिँदैन, तर मनभित्र आँसु गडेको हुन सक्छ भन्ने गहिरो भाव गीतमा समेटिएको छ । गीतले मानवीय संवेदनशीलता तथा यथार्थतालाई उजागर गरेको छ ।
गीतमा मानिसको सोच र मनोवृत्तिको पनि चित्रण गरिएको छ । कोही सकारात्मक सोच राख्छन्, कोही नकारात्मक। सकारात्मक व्यक्तिहरूबाट सकारात्मक ऊर्जा प्राप्त हुन्छ, भने नकारात्मक सोच भएका व्यक्तिहरूले अरूको कुरा काट्ने प्रवृत्ति देखाउँछन् । त्यस्ता मानिसहरूबाट नकारात्मक ऊर्जा सर्छ, त्यसैले त्यस्ता मानिसहरूबाट टाढा बस्नु नै उपयुक्त हुन्छ भन्ने सन्देश गीतमा पाइन्छ ।
गीतकार खतिवडाका यसअघि पनि दर्जनौं गीतहरू सार्वजनिक भइसकेका छन् । ‘सम्झनाका पाइलाहरू’, नामक गीति संग्रहमा १०९ वटा गीतहरू समावेश छन् । तीमध्ये स्वार्थी संसार, स्वदेश छोडी, मनका कुरा, बिन्दास, देखुँ देखुँ, सन्देश पु¥याइदेउ, मेरो कथा, चोखो चोखो जस्ता गीतहरू बजारमा लोकप्रिय छन् ।
गीत, कविता तथा समसामयिक लेख रचनामा कलम चलाउँदै आएका खतिवडा हाल सरकारी सेवामा कार्यरत छन् ।