काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको पाँचबुँदे प्रस्तावमा कुनै छलफल नहुने बताएका छन्।
संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले एकीकृत समाजवादीसहित माओवादीको प्रस्तावमा सहमति भए पनि रास्वपाको प्रस्तावमा छलफल नै नहुने प्रष्ट्याएका हुन्।

‘हामी माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौँ, अब विपक्षी दलले भोलि एक दिन फेरि छलफल गर्न समय माग गर्नु भएको छ, त्यसकारणले संसदको बैठक पनि अपराह्न ३ बजेलाई राखिएको हो,’ भट्टराईले भने।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक विवादमा तानिएपछि करिब दुई सातादेखि संसद् अवरुद्ध हुँदै आएको छ। अख्तियारको छानबिनमा हस्तक्षेप नहुने गरी उच्चस्तरीय छानबिन समिति बनाउने रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफलै नहुने भट्टराईले बताएका हुन्।
माओवादी र रास्वपा एक–अर्काको प्रस्तावमा सहमति नरहेका उल्लेख गर्दै उनले दुई विपक्षी दलबिच भोलि छलफल हुने बताए। उनले भने, ‘हामीसँग माओवादीका साथीहरुको भनाइ अनुसार त्यसमा (पाँचबुँदे)मा उहाँहरुको सहमति छैन, त्यो उहाँहरुको लाइन होइन, त्यो रास्वपाको लाइन हो।’