Logo
Logo

सपना र जीवन


2.8k
Shares

मान्छेको जीवनमा सपनाहरु हुन्छन् । मान्छेका सपनाबारे धेरै अघिदेखि विद्वानहरूले बोल्दै आएका छन्, लेख्दै आएका छन् । कसैका सपना विपनामा अनूदित भएका पनि छन्, धेरैले भने अधुरै सपना छोडेर संसार छोडेका छन् । अनिश्चितता र अनित्यताको यो दुनियाँमा सबैका सपना पुरा हुन गाह्रो पनि छ । गीत, संगीत र लेखनमा निक्कै प्रख्याति कमाई सकेका एक व्यक्तित्व, धेरैका प्रिय र परिचित गणेश रसिकका पनि सपना थिए। गएको हप्ताको जेठ १८ गते ७८ वर्षको उमेरमा क्यान्सरको कारण गणेश दाइले यो धर्ती छोडेर जानुभयो ।

उहाँका कति प्रतिशत सपना पुरा भए, त्यो त थाहा छैन । तर जीवनमा धेरै किसिमका दुःख वियोगका कथाहरु बोकेर पनि सपना देख्न नछोड्ने र एक ‘भाग्यमानी’ मान्छे नै मान्छु उहाँलाई । संसार छोड्नु अगाडि आफ्नो मनका गाँठाहरु फुकाएर जान पाउने मध्येका एक भाग्यमानी पनि मान्छु । उहाँ आफैले नै भने जीवन नै एउटा सपना रहेछ भनेर जानुभयो ।

उहाँलाई धैरै नजिकबाट चिन्न नपाए पनि कहिले कहिले संगै बसेर उहाँका मनका कुरा सुन्ने अवसर पाउने मध्ये म पनि एक हुँ जस्तो लाग्छ । उहाँ क्यान्सरको विरामी हुनहुन्थ्यो भनेर केही वर्ष अघि नै सुनिसकेकी थिएँ ।

डाइग्नोसिस काठमाडौँ मोडेल असप्तालमै युरोलोजिष्ट डा अमित उपाध्यायले गरेका थिए । निकै अघि बढिसकेको क्यान्सरको पहिलो उपचार र अपरेशन त्यहीँ भयो । अपरेशन त भयो, तर उसै त ढिलो भइसकेको, त्यहाँमाथि अन्य कर्म र सपना पुरा गर्न व्यस्त हुँदा आफ्नो वास्ता गर्न चुकेको महसुस गर्नु भएको थियो ।

विरामी भए पनि विरामी जस्तो नदेखिने उहाँ, विरामी अवस्थामा पनि राम्रो पहिरनमा चट्ट परेर हिँड्नु हुन्थ्यो । उहाँको भद्रता र मीठो बोलिबारे चिने जानेका सबैले कुरा गर्छन् । कलाकारिताले पनि प्रशस्त लोकप्रियता कमाई सक्नु भएको थियो । यस अर्थमा उहाँ सफल हुनुहुन्थ्यो ।

वि.सं २००४मा भोजपुरमा जन्मिनु भएका उहाँले सानै उमेरमा आमा गुमाउनु भयो । यो संसारमा दुःख नभए अरु कहाँ होस् ? भगवान बुद्धले त्यसै गर्नु भएको होइन दुःख सत्यको कुरा । तर उहाँको जीवन कालमा वियोगका खपिनसक्नु कथाहरु धेरै नै भए । उहाँले आफैले लेखेका मार्मिक संस्मरणहरु पढ्दा पनि धेरै दुःखहरु खपेर पनि बाहिरबाट सुखी देखिनसक्ने मान्छे जस्तो लाग्छ । सबैले उहाँका दुःखहरु देख्न सक्तैनन् अनुमान लगाउन सम्म पनि गाह्रो कुरो थियो । उहाँले दिनुभएको संस्मरण पढ्नु अगाडिसम्म उहाँका दुःखहरुको अनुमान मैले लगाएकी थिइन ।

एकपल्ट कवि मञ्जुलको घरमा उहाँ र आभास सँगै सरोज र म पनि थियौं । मञ्जुल दाइको डेरामा जापानी रक्सी साकेसहित बेलुकाको खाना खाएका थियौँ । उहाँले पिउनु भयो भएन याद छैन । सरोजले भने मजैले पिएका थिए । अहिले त दुईदशक भन्दा बढी भइसक्यो ।

सात वर्ष जति अघि होला उहाँलाई पित्तथैलीको समस्या देखाप¥यो उहाँले विश्वास गर्ने र भाइ जस्तै लाग्ने डाक्टर भएकोले सरोज आफैले उहाँको अपरेशन गरेका थिए । त्यतिबेला उहाँले आफ्नै जीवनका बारेमा पनि धेरै कुराहरु गर्नु भएको रहेछ । सपनाकै बारेमा पनि कुराकानी भएको रहेछ । उहाँको जीवन संगिनी निरा भाउजु उहाँभन्दा ८,९ वर्षले कान्छी भए पनि क्यान्सरसँग जुझिरहनु भएको रहेछ । गणेश दाइ निक्कै माया गर्नु हुन्थ्यो भाउजूलाई । आफ्नो उमेरमा श्रीमतीप्रति आफू पुरा इमान्दार हुन नसकेको अत्मग्लानि पनि व्यक्त गर्नु भयो पछि ।

यसरी आफ्नो गल्ती स्वीकार गरी क्षमा मागिसकेपछि मान्छे फेरि एकपल्ट पवित्र हुन्छ । त्यही बेलातिर हामीलाई फेरि एकपल्ट खान बोलाउनु भएको थियो, अपरेशन सफल भएपछि । तर हामी के कारणले जान सकेनौं । त्यसको एक डेढ वर्षपछि नै उहाँ आफै क्यान्सरकै विरामी भएको कुरा सुन्दा नमज्जा लाग्यो । तै पनि उहाँ काममा हिंडिरहनु भयो ।

आफूलाई क्यान्सर भएको थाहा भएपछि झन् बढी सक्रियपूर्वक आफ्नो बाँकी सपना पूरा गर्न लाग्नु भएछ । पछि श्रीमतीलाई धेरै दुःख नहोस भनेर बालकोटमा घर पनि किन्नु भएछ । इलामको जग्गा बेचबिखन गरेर ऋणबाट मुक्त हुनु भएछ ।

पछि एकपल्ट मदन पुरस्कारको कार्यक्रमबाट फर्किदा गाडीमा सँगै फर्केका थियौं । उहाँको दुःख कोट्याउने मन थिएन । धेरै कुरा गरिनँ मैले । जीवन संगिनीको निधन भएको ठुलो घाउ थियो उहाँसँग । शृंखलाबद्ध रूपमै उहाँले धेरै वियोगहरू खप्नु प¥यो । छोरा पनि अलि अघि नै बितिसकेका थिए । आफ्नै आँखाले तीन–तीनजना भाइहरू बितेको पनि देख्नु परेछ । प¥यो भने सबै सहनै पर्ने रहेछ ।

उहाँसँगका अन्तरवार्ता र भेटघाट गर्न गएका मित्रहरुको तस्विरहरू हेरिरहन्थें । पछि उहाँको नाममा ग्रन्थ निकाल्ने काम पनि भयो सम्पादक सुदर्शन श्रेष्ठको सक्रियतामा । सुदर्शनले लेख्नु भन्दा भन्दै म र सरोज दुवैले केही लेख्न सकेनौँ ।

उहाँकै सपनाअनुसार अर्को एक वर्ष त रहनुहुन्छ होला जस्तो लागेको थियो । एक्कासि उहाँको निधनको कुरा सुन्दा झस्किएँ । अनि उहाँका अन्तरवार्तामा लेखिएका केही वाक्यहरू सम्झें । उहाँ जाने बेला प्रज्ञा–प्रतिष्ठानमा शवलाई नलैजानु, सास गएपछि छिट्टै नै कसैलाई खबर नगरीकन जलाइदिनु भन्नु भएको थियो । तर उहाँको बेलायतमा बस्ने आफ्नै छोरीलाई कुर्न दुई रात शिक्षण अस्पतालमा राख्नु परेछ ।

पशुपतिमा गएर हार्दिक श्रध्दाञ्जली अर्पण गर्न भनि फूल बोकेर बाहिर निस्किएँ । गएको मंगलबारको दिन, सडकमा सार्वजनिक गाडी थिएन साझाबाहेक । साझा पनि अत्यन्त भीड थियो । अरु ट्याक्सी, पठाओ कुनै गाडी जान मानेनन् ।

हिंडेर जाने आँट पनि आएन । एउटा मन्दिरको छेउको सानो पोखरीको डिलमा फूल राखेर भावपूर्ण श्रद्धा सुमन चढाएर घर फर्कें । अनि कतै लाइभमा देख्न पाइन्छ कि भनेर मोबाइल खोली हेरेँ – त्यस्तो दिनमा पनि पाँच छ सयजनाको मलामी र उहाँकै शब्द संगीतको ‘म नेपाली ठीटो’ गीत बजिरहेको देख्दा मन भावुक भयो ।

मान्छेको संसारमा असल मित्र र यति धेरै शुभचिन्तक कमाउनु सानो कुरा होइन । गणेश दाइका सपनाहरू कति पुरा भए, कति अधुरै रहे थाहा छैन । उहाँका अमूल्य योगदानहरू भने सदैव स्मरणीय रहने छन् ।

जीवनको अन्तिम अवस्थामा उहाँले गर्न सक्नुभएको आत्मस्वीकृतिले पक्कै उहाँलाई पवित्र बनाएको पनि हुनुपर्छ । दुःख–सुख, संयोग–वियोग, सफलता–असफलताले भरिएको उहाँको ७८ वर्षे जीवन पूर्ण जस्तै लाग्छ । यस हिसाबले जीवनलाई सपना भन्नुहुने उहाँको सपना पुरा भएकै मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्