
मान्छेको इच्छा असीमित हुँदोरहेछ । जापान पुग्नुअघि जापान देख्ने र साथीहरुसँग भेट्ने इच्छा थियो । दुवै इच्छा पूरा भए । आफूले सोचेको भन्दा पनि धेरै राम्रो भयो । दिनदिनै जसो कुनै न कुनै साथीसँग भेट हुन्थ्यो । कुनैकुनै बेलामात्र चुपचाप एक्लै कोठामा बसेर समय काट्नु पथ्र्यो । त्यहाँ बस्न आफूले पैसा खर्च गर्नु पर्ने कुरा भएन ।
सबै बन्दोबस्त साथीहरुले नै मिलाइदिएका हुन्थे । भाग्यमानी पाहुना न थिएँ ! तर पनि खालि समयमा भने अनेक कुरा सोचेर बस्थें । कति नेपालीहरु र अरु गरिब देशका नागरिकहरु गरिबीबाट उम्किने र केही पैसा कमाउन जापान जाने गरेको कुरा सुनेकी थिएँ । मेरो जापानको भिसा तीन महिनाको थियो । यता टोकियोमा साथीहरुसँगको भेटघाट चाहिँ दुईहप्तामै पूरा हुन लागिसकेको थियो । बाँकि समय आफुले पनि केही काम गर्न पाए हुन्थ्यो भन्ने इच्छा मनमा पलाउन थाल्यो ।
जापानको निम्ति नियमित महिनामा एउटा लेख लेख्ने गरेको योजना सिद्धिसकेको थियो । लेखको माग नै नभएको होइन, तर जापानी भाषामा उल्था गरिदिने असल मित्र सुसुमु अब काममा यति व्यस्त थिए कि उनले अब भ्याउन सक्ने थिएनन् । बितेको दुई वर्षसम्म लगातार लेखेको कारणले त हो, जापान घुम्न मलाई त्यसरी निम्तो दिएका थिए साथीहरुले ।
म कृतज्ञ थिएँ । र त्यो मौकाको उपयोग गरेर केही काम गर्न पाए हुन्थ्यो भन्ने सोच आउनु पनि नराम्रो कुरा त थिएन । जे पायो त्यही काम गर्ने सोच भन्दा पनि चीन पुग्नु अघिदेखि नै लामो समय शिक्षणमा लागेको कारण र नेपाललाई माया गर्ने जापानीहरु धेरै रहेछन् भन्ने थाहा पाएको हुँदा कतै नेपाली भाषा पढाउने काम पाए पनि हुने भन्ने इच्छा जागेको थियो । जापान पुग्दा म साथीहरुको पैसामा पुगेको र जहिलेपनि आफूलाई पैसाको कमी महशुस भईरहेकाले पनि यस्तो इच्छा जागेको थियो । समयको सदुपयोग पनि होस् र फर्कने बेला अलिकति भए पनि आफ्नो भन्न सकिने पैसा होस् भन्ने थियो ।
साथीहरुसँग आफ्नो इच्छा व्यक्त पनि गरेँ । साथीहरुलाई धेरै चित्त बुझेजस्तो लागेन । तर पनि ’हुँदैन’ भनेनन् । मैले एउटा किताब पनि किनेँ, कसरी नेपाली भाषा सिक्ने भन्ने किताब थियो त्यो । मेरो निम्ति एउटा साथी थपियो ।
त्यस्तै जापानी र अंग्रेजी भाषाको एउटा किताब पनि भेट्टाएँ । अर्को एउटा साथी थपियो । खाली समयमा ती किताबहरु पल्टाउन थालेँ । त्यतिबेला मेरो चीनियाँ भाषा ठिकै थियो । भर्खरै चीनमा पाँच वर्ष बिताएर गएकोले जापानी साथीहरुसँग चीनियाँ भाषा नै बोल्थेँ । प्रायः सबै साथी शाङहाईको ईष्ट चाइना नर्मल युनिभर्सिटीमा पढेर फर्केकाहरु थिए । त्यसलेपनि सजिलो भयो ।
टोकियोबाट अलि टाढा केही जापानीहरुले पार्ट–टाइम नेपाली सिक्न चाहने केही साथीहरु छन् भनेर निशिकावाले भनिन् । हप्ताको दुईपल्ट साइतामा नजिकै पुग्नु पर्ने थियो । त्यहाँ एक्लै जान त सक्दिन थिएँ । शुरुमा पु¥याइदिने काम पनि निशिसिकावाले नै गरिदिइन् ।
अरु काम भन्दा त इज्जतिलो काम पनि थियो शिक्षणको काम । मेरो रूचिकै काम पनि थियो । काम पनि, दाम पनि राम्रै पाएँ । अझ महत्वपूर्ण कुरा के भने नयाँ जापानी साथीहरुसँग पनि संगत पनि भयो । एउटा जापानी परिवारको घरमा पस्दा ढोकाबाटै भित्तामा झुण्ड्याएको नेपालको झण्डा देखें । छक्क परेँ, खुसी त लाग्ने नै भयो । हामी नेपाली नै भएर पनि घर घरमा राष्ट्रिय झण्डा राख्दैनौं । त्यहाँ हाम्रो झण्डाले त्यो माया र सम्मान पाएको देख्दा भावुक भएँ ।
दुईजना बुढाबुढी मात्र भएको घर– नेपाललाई साँच्चै मन पराउने परिवार रहेछ भन्ने कुरा त त्यो झण्डाले नै स्पष्ट देखाइदियो । कुरा बुझ्दै जाँदा अझै अचम्म लाग्यो । ती दुईको सम्बन्धको शुरुआत नै नेपालमा भएको रहेछ । उनीहरुको बिहे हुनुको कारण नै दुवैलाई नेपाल मन परेकोले रहेछ ! मासुओ कियोजी र योको– दुवै नै धेरै पल्ट नेपाल पुगिसकेका, नेपालका गाउँ गाउँ घुमिसकेका परेछन् ।
नेपाली भाषामा ‘नमस्ते’ ‘राम्रो’ ‘नराम्रो’ भन्न जान्ने भए पनि अलि धेरै नेपाली जान्न पाए राम्रो हुन्छ भन्ने आशाले पनि नेपाली भाषा सिक्न खोजेका रहेछन् । थपमा दुईजना अरु साथी पनि उनीहरुले खोजेका रहेछन् । एकडेढ घण्टाको क्लासमा मैले पाएको पैसा त्योबेला राम्रै लागेको थियो । ठ्याक्कै कति भन्ने चाहिँ अहिले बिर्सिएछु– डायरीमा पनि टिपेकी रहिनछु । तर पैसा भन्दा ठुलो त राम्रा साथीहरु पाउनु थियो ।
मासुओ कियोजीको परिवार हरेक वर्ष जस्तै इन्द्र जात्रा पारेर नेपाल घुम्न आउने रहेछन् । वसन्तपुरकै एउटा होटलमा बस्ने अनि गाउँ गाउँ डुल्ने वा ट्रेकिङ्ग जाने गर्दा रहेछन् । उनीहरुको कुरा सुन्दा खुसी लाग्यो । उनीहरु आत्मीय लागे । उनीहरुले जति त आफैले पनि देश घुम्न पाएको छैन भन्ने कुराले मनमा केही असजिलो पनि लाग्यो । कियोजी एक राम्रो फोटोग्राफर पनि रहेछन् ।
पछि हामी नेपाल फर्किसकेपछि बबर महलमा उनको एउटा फोटो प्रदर्शनी भएको बेला मलाई पनि निम्तो दिएका थिए । प्रदर्शनीमा नेपालका गाउँघर, केटाकेटीहरु, हिमाल, बस्तीका साना पसलहरु आदिका फोटो थिए । उनको एउटा किताब पनि पाएँ । राम्रो मोटो जिल्ला भएको किताबको नाम नै ‘मेरो देश नेपाल’ थियो । उनी नेपाल आएका बेला हाम्रो सगोलको पुरानो घरमा पनि आउने गर्थे । पछि हाम्रो आफ्नै घर भएपछि कसरी हो सम्पर्क टुटिसकेको थियो । लामो समय पछि २०१८ मा मेरी छोरीले टोकियो युनिभर्सिटीबाटै पिएचडी पास गरेपछि दीक्षान्त समारोहमा भाग लिन म पनि टोकियो गएँ ।
टोकियोमा पुराना साथीहरुको एउटा भेलाजस्तै भएको थियो सँगै लन्च खाने । २८ वर्षपछिको त्यो भेटघाटमा कियोजी र योको पनि आएका थिए । तर कियोजी ह्वीलचेयरमा थिए । योकोले कसरी टाढाबाट पनि ह्वीलचेयरमा राखेर त्यहाँ ल्याएकी होलिन् ? सम्झँदा पनि मन त्यसै भावुक हुने ! उनलाई मस्तिष्कघात भएको रहेछ । धन्न बाँचेछन् ।
भेटमा हामी सबै खुसी भयौँ । उनलाई बोल्न पनि गाह्रो थियो । बाहिर सिमसिम पानी परिरहेको थियो । नेपालप्रतिको प्रेमले अझै ओतप्रोत ती जापानी मित्र जोडी देख्दा म भावविह्वल भएकी थिएँ । मसँग भएको एउटा सानो नेपालको झण्डा भएको लकेट निकालेर कियोजीको ज्याकेटमा लगाइदिएँ । इच्छा धेरै नराख्नु भन्ने एउटा भनाइ छ, तर कुनै कुनै सकारात्मक इच्छाले जीवनमा अझै नयाँ अवसर थपिदिँदो रहेछ !