Logo
Logo

मलाई ओली ‘बा’ मनपर्छ-हेमा मानन्धर, अध्यक्ष, नेप्लीज फेसन होम


- दृष्टि न्युज/संवाददाता


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट अति प्रभावित क्षेत्रमध्ये इभेन्ट र फेसन दुनियाँ पनि हो । कोरोनाभाइरसको संक्रमण फैलिएसँगै इभेन्ट तथा फेसन शोहरु ठप्प छन् । यतिसम्म कि कतिपय इभेन्ट कम्पनीहरु बन्द नै भइसके । यस्तै, एक एभेन्ट कम्पनी हो, नेप्लीज फेसन होम । वार्षिक आधा दर्जनभन्दा बढी इभेन्टहरु गर्दै आएको नेप्लीज फेसन होम अहिले ‘यता न उता’को बनेको छ । ‘कम्पनी बन्द गर्ने कि के गर्ने भइसक्यो’ फेसन होमकी अध्यक्ष हेमा मानन्धरले भनिन्, ‘तयारी हुँदै गरेका इभेन्टहरुसमेत स्थगन भएका छन् ।’ नेप्लीज फेसन होमले कोरोना संक्रमण फैलिनअघि तीन वटा इभेन्टको तयारी गर्दैथियो । ‘मिस नेवा’, ‘किड क्वीन’ र ‘लिटिल मिस नेवा’को तयारी गर्दागर्दै देश लकडाउनमा गयो । संक्रमण बढ्दै गएकाले ती इभेन्ट सुचारु हुने टुंगो छैन । राजधानीमा सबैभन्दा बढी कार्यक्रम गर्ने इभेन्ट कम्पनी पनि हो, नेप्लीज फेसन हो म । तिनै फेसन होमकी अध्यक्ष तथा इभेन्ट मेनेजर हेमा मानन्धरसँग एमपी सुब्बाको जम्काभेट ।

कार्यालय सुरु गर्नुभएको छ ?

कार्यालय आउन थालेको केही दिनमात्रै हुँदैछ । कार्यालय खोलेर पनि काम छैन । इभेन्टहरु गर्ने कुरा भएन । घरमा बस्नुभन्दा कार्यालय खोलेर बस्नु ठीक होला भनेर खोलेकी हुँ । अफिस खोलेपछि साथीभाईहरुसँग कुरा गर्न पाइएको छ ।

‘लकडाउन’को समय के गरेर बिताउँनुभयो ?

सुरुमा सुतेरै बित्यो । विमारी भएँ । लकडाउन लम्बिँदै गएपछि दिक्क लाग्न थाल्यो । फुर्सदको समय कटाउन केही कविता लेखेँ । लकडाउनमा मैले १०÷१५ वटा कविता लेख्न भ्याएँ । त्यसबीचमा राहत वितरणमा लागियो । हामीले १२ सयभन्दा बढीलाई खाद्यान्नलगायतका राहत वितरण गरियौँ ।

कोरोनाले गर्दा इभेन्ट कम्पनीहरु शून्यमै गए भन्छन् नि ?

हो नि, इभेन्टहरु सबै रोकिए । कार्यक्रम नभएपनि अफिसको भाडा, कर्मचारीलाई तलब दिनुप¥यो । यस्तो संकटको बेलामा कर्मचारीलाई तलब नदिँदा पनि नहुने । धन्न मेरो घरबेटी मनकारी भएर घरभाडामा आधा छुट दिनुभयो । तैपनि कोरोनापछिको लकडाउनमा ६÷७ लाख घाटा भएको छ । अझै कहिलेसम्म यस्तै अवस्था रहने हो, थाहा छैन । त्यसैले कार्यालय नै घरमा थन्काइदिउँ कि जस्तो लाग्न थालेको छ ।

‘लकडाउन’अघि इभेन्टको तयारी हुँदैथियो ?

‘मिस नेवा’को तयारी हुँदैथियो । त्यस्तै, ‘लिटिल मिस नेवा’ र ‘किड क्वीन’को पनि तयारी हुन लागेको थियो । ‘मिस नेवा’ भदौको पहिलो साता हुनेवाला थियो । तर, अब कहिले हुन्छ, थाहा छैन । सबै लथालिंग भएको छ ।

अहिलेको अवस्था हेर्दा अझै केही वर्ष इमेन्टहरु होलाजस्तो छैन । विकल्प केही सोच्नुभएको छ ?

सोचेकै छैन । मेरो काम नै इभेन्ट गर्नु हो । इभेन्टबाहेक मैले के गर्नु र ? म अन्यौलमा परेकी छु । म मात्र होइन, सबै इभेन्ट कम्पनीहरु अन्यौलमा परेका छन् । यो कोरोनाले गर्नु ग¥यो ।

इभेन्टबाहेक तपाइँ राजनीति पनि गर्नुहुन्छ नि ?

म नेपाली कांग्रेसको महिला संगठनमा आवद्ध छु । १४औँ महाधिवेशनमा चुनाव लड्ने सोच छ ।

पार्टीको कुन पदका लागि लड्दै हुनुहुन्छ ?

क्षेत्रिय प्रतिनिधसम्म हुने मन छ । तर, अहिले नै चुनाव लड्दैछु भन्दा गुल्टाइदेला । नेपाली कांग्रेसमा खुट्टा तान्ने प्रवृति छ ।

तपाइँको बुझाइमा कांग्रेसभित्रको विवाद के हो ?

मुख्य कुरा सभापति शेरबहादुर देउवा नै हुन् । उहाँले पार्टी राम्ररी चलाउन सक्नुभएन । पार्टीको कुनै पनि संगठन राम्रो छैन । यसको सबै कारण पार्टी सभापति देउवा नै हुनुहुन्छ । पार्टी हाँक्ने नेतृत्व नै कमजोर भएपछि पार्टी उँभो नलाग्ने रहेछ भन्ने कांग्रेसमा पुष्टि भएको छ ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा नेता/कार्यकतालाई कारबाही गर्ने क्रम बढेको छ भन्छन् नि ?

हो नि । राम्रा राम्रा नेताहरुलाई कारबाही गर्न थालिएको छ । तर, यसले पार्टीलाई फाइदा हुँदैन । नेतादेखि कार्यकर्तासम्म निरुत्साहित गर्ने काम भइरहेको छ । यो सभापति देउवाकै रणनीति हो ।

तपाइँको बुझाइमा कांग्रेस कार्यकर्ता के चाहन्छ ?

नेपाली कांग्रेस हाँक्न सक्ने सभापति चाहेका छन् । जसरी हुन्छ, शेरबहादुर देउवाको विकल्प चाहन्छन् । आगामी महाधिवेशनमा विकल्प खोजिन्छ । त्यही बुझेरै होला सभापति देउवाले आफ्नो विपक्षका कार्यकर्ता र नेताहरुमाथि कारबाही थालेका छन् ।

वर्तमान सरकारको कामकारबाही कस्तो लाग्छ ?

मलाई ओली बा मनपर्छ । अहिलेसम्म नेपालका प्रधानमन्त्रीले गर्न नसकेका काम उहाँले गरेर देखाउनुभएको छ । भारतले मिचेको जमिनलाई समेटेर नयाँ नक्सा जारी गरेर सारा नेपालीको शिर उच्चो बनाइदिनुभएको छ । मनोबल बढाइदिनुभएको छ । यस्तै अरु पनि धेरै राम्रा काम यो सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्