Logo
Logo

कैदी मृत्यु घटनामा प्रहरी नायब निरीक्षक पक्राउ


10k
Shares

काठमाडौं । जिल्ला कारागार कैलालीका प्रहरी नायब निरीक्षक (सइ) हरजित नाथ पक्राउ परेका छन् ।

कारागारमा कैद भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिकाका २८ वर्षीय हरिसिंह पालीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले सइ नाथलाई पक्राउ गरेको हो ।

बिहीबार मृतक पालीकी श्रीमती जानकी साउदले प्रहरीको कुटाइबाट आफ्ना श्रीमानको हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन् । उक्त जाहेरीको आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए ।

जिल्ला अदालत कैलालीबाट बैंकिङ कसुरमा दोषी ठहर भई दुई लाख रुपैयाँ जरिवाना र १० दिन कैद सजाय भएका पालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले २९ जेठमा पक्राउ गरेको थियो । कैलाली प्रहरीले उनलाई १ असारमा जिल्ला अदालतमा बुझाएको थियो । बैंकिङ कसुरको मुद्दा सइ नाथले दिएका थिए ।

जिल्ला कारागारमा रहेका पालीको २ असार राति सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीको कुटपिटबाट हत्या भएको परिवारको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्