Logo
Logo

बिहानीको पूर्वाभास


2.4k
Shares

म दिन–दशा ग्रह–नक्षत्रको प्रभावमा विश्वास गर्ने मान्छे थिइन । ‘असल कर्म गर, त्यसैमा बाँच, जीवन भन्नु संघर्ष हो’ भन्ने धारणा राख्थेँ । म जन्मेको परिवारको सांस्कृतिक पृष्ठभूमि पनि बौद्ध भएकाले कुशल कर्म गर्नुपर्छ भन्ने विश्वासमै हुर्किएँ । राजनैतिक चेतना पलाउने थालेपछि पारिवारिक परिवेशसँग संघर्षै संघर्ष भइरहे पनि बौद्धदर्शनबाट प्राप्त करुणा र कुशल कर्मको शिक्षा भने मेरो राजनीतिक कर्ममा पनि सहायक नै भएको थियो ।

चीन पुगिसकेपछि पढ्ने अवसर पाएपनि फरक किसिमको संघर्ष जारी थियो । संघर्षले छोडेको थिएन मलाई । साथीहरुको निम्तोमा जापान टोकियो पुगेपछि चाहिँ त्यहाँका साथीहरुको मित्रताले भिन्दै खालको अनुभूति गराएका थिए । क्षणिक नै भएपनि द्वेषरहित मैत्रीपूर्ण वातावरणमा रहन पाएकी थिएँ । त्यसबेला अचानक देख्न पुगेको जापानको त्यो सम्पन्नताले छक्क परेकी पनि थिएँ । मेरा ती जापानी साथीहरुलाई सम्झँदा अझै पनि आनन्दित हुन्छु ।

अझै म टोकियोमै थिएँ । मलाई घुमाउने र घरमा राख्ने पालो आसिदा र रेइकोको प्रेमिल जोडीको परेको थियो । दुवै नै मलाई कसरी सहयोग गर्ने भन्ने ध्याउन्नामा थिए । उनीहरुको कामको व्यस्तता मलाई थाहा थियो । दुई दिनको निम्ति मलाई घुमाउनैका निम्ति दुवैले छुट्टी नै लिएका थिए ।

जापानको नामी टिभी स्टेशन ‘एनएचके’ र संसद भवन घुमाउन लगे आफ्नै गाडीमा राखेर । मेरो निम्ति कति पैसा खर्च गरिरहेका थिए, अंक त थाहा थिएन । तर, प्रशस्त खर्च गरिरहेका छन् भन्नेचाहिँ थाहा थियो । भित्रबाट लाज नलागेको होइन, तर उनीहरुको मैत्रीपूर्ण व्यवहारले भएको खुसीले जितिरहेको थियो । नयाँ नयाँ कुरा देख्न पाएकोमा उत्साहित पनि थिएँ । एउटा बच्चाको मन असल अभिभावकसँग घुम्न पाउँदा जस्तो हुन्छ, मेरो मन त्यस्तै भएको थियो ।

एनएचके स्टेशनमा धेरै मानिस घुम्न आउँदा रहेछन् । त्यहाँको एउटा स्टुडियोमा एकछिन् उभिनु भने मलाई । म पनि उनीहरुले जे जे भन्छन् त्यसै गरिदिन्थेँ । उनीहरुले भनेको ठाउँमा उभिएँ । एकैछिनमा फोटोग्राफरले मलाई मलाई एउटा टिशर्ट दिए । टिशर्टमा मेरो आफ्नै तस्बिर छापिएको रहेछ ।

“सुलो, तिम्रो आफ्नै तस्बिर सहितको टिशर्ट तिमीलाई नै उपहार ! भनेर दिंदा म त एकछिन् अक्क न बक्क भएँ । त्योबेलाको निम्ति त्यो प्रविधि नयाँ नै होला, मैले त देख्ने कुरै थिएन । भाव बिभोर भएर धन्यवाद व्यक्त गरेँ । यो एउटा गज्जबको सप्र्राइज उपहार थियो – तत्क्षणमै आफ्नो तस्बिर भएको लुगा पाउनु ! पछिसम्मै त्यो लुगा बचाएर राखेकी थिएँ । मेरो बुढालाई पनि मन प¥यो त्यो लुगा । उनले पनि लगाए ।

त्यसपछि मलाई आसिदा र रेइकोले साठी तल्ला भन्दा अग्लो संरचना देखाउन लगे । त्यो बेलासम्म चीनमा पनि त्यति अग्ला घरहरु देख्न पाएकी थिइन । टोकियोको सबभन्दा भीडलाग्ने क्षेत्र सिन्जुकु पनि घुमाए । “केही किन्ने मन छ ?“ भनेर सोधे । उनीहरुको पैसा अझै खर्च गरिदिने मन बिल्कुल थिएन । र त्यहाँका महङ्गा कुरा आफूले पैसा तिरेर किन्ने क्षमता पनि थिएन । खालि बजार हेर्ने मात्र भयो । घर फर्के पछि फेरि मीठो मीठो जापानी पकवानले अतिथि सत्कार गरे। त्यो देख्दा ‘यिनीहरुको ऋण कसरी तिर्ने होला ? यिनीहरुलाई म चाहिँ कसरी मद्दत गर्न सकुँला ?’ भनेर सोचिरहेँ । ‘नेपाल फर्केपछि यसैगरि सत्कार गर्न सकुँ’ भनेर कामना गरें । तर उनीहरु कहिल्यै नेपाल आएनन् । एमि मलाई हार्दिकतापूर्वक टोकियो टावर घुमाउने साथी एकपल्ट नेपाल पुगेकी थिइन् । तर हाम्रो सगोलको घरमा उनलाई राख्ने छुट्टै कोठा नै थिएन । नजिकैको होटेल ¥याडिशनमा आफ्नै पैसाले बसिन् । कतै कतै घुमाउने बन्दोबस्त त गरें तर त्योबेला मेरो अर्को बच्चा भइसकेको थियो । उनलेझैँ सहयोग गर्न कहाँ सक्नु ?

बेलुकी रेइको र आशिदा दुबैले घरमा बुढा र छोरीलाई फोन गर्ने मन छैन ? फोन गर भनी कर गरे । मेरो मनको कुरा पनि बुझ्ने यी साथीहरुलाई के भनेर मात्र सह्राना गरौं भइरहेको थियो । उनीहरुको आदेशै मानेझैँ घरमा फोन गरें । तर सरोज बाहिर गएको बेला परेछ । छोरीसँग मात्र बोल्न पाएँ । छोरीसँग बोल्न पाउँदा खुसी त लाग्यो । तर उसको स्वर मलिन सुन्दा आमाको मन नमीठो हुने नै भयो । उसले आमालाई धेरै सम्झेकी रहिछ ।घरमा अरु मान्छेपनि सँगै भएकोले होला कुनै गुनासो भने गरिन । नयाँ स्कूलमा भर्ना भएको कुरा सुनाई । नेपालको स्कूल उसलाई मन नपरेको कुरा पनि मैले अनुमान गरें । चीनमा ऊ राम्रो विद्यार्थी र क्लास टीचरको धेरै माया पाईरहेकी बच्चा थिई । अहिले बानी नपर्नु स्वाभाविकै थियो । त्यो रात म सुत्न सकिन छोरीको चिन्ताले ।

अर्को दिन साथीहरुले साकुरा फुलेको ठाउँमा लिएर गए । साकुरा उनीहरुको प्रिय र राष्ट्रिय फूल । ‘सुलो तिमी कति भाग्यमानी ! साकुरा फुलेकै बेलामा आइपुग्यौ !’ भन्दै साकुराका बारेमा धेरै कुरा सुनाए । जापानीहरु साँच्चै रमाउँदा रहेछन् साकुरा फुलेको बेला । पिकनिक मनाएर बस्दा रहेछन् साकुरा फुलेको ठाउँमा ।म पनि बेस्सरी रमाएँ । त्यही दिन बेलुकी सरोजको फोन आयो । मैले छोरीलाई साथीको घरको फोन नम्बर टिपाएकी थिएँ अघिल्लो दिन । फोनमा नेपालमा एउटा नयाँ अस्पताल बनाउने कुरा साथीहरुसंग भएको कुरा सुनाए । ‘बरु तिमी जापानमै हुँदा साथीहरुसँग पनि कुरा गर्नु । केही थप सहयोग पनि भइहाल्छ कि !’ समेत भने । यो कुराले मनमा अझै खुसी थपियो ।

आफ्ना जापानी साथीहरुसँग त्यहीबेलादेखि कुरा गर्न थालेँ । अरु साथीहरुसंग पनि । राम्रो ‘दिन–दशा’ सुरु भएको जस्तो लाग्यो – बिहानीको पूर्वाभास जस्तो ! नेपालमा ४६ सालको आन्दोलन सकेर साथीहरु उत्साहित भईरहेको बेला थियो । बुढाको मूड पनि राम्रो थियो । जुन उद्देश्यको निम्ति नेपाल फर्केका थिए, त्यही दिशातर्फ बढिरहेको पाउँदा खुसी नहुने त कुरै भएन ।

मेरा साथीहरुसंग कुरा गर्दा उनीहरु पनि खुसी भए । सक्नेहरुबाट सक्दो सहयोग हुन सक्ने आश्वासन पनि पाएँ । म बसेकै घरका साथीहरु त मिहिनेत गरेर काम गर्दै युनिभर्सिटीमा पढिरहेका थिए र अझै आधा समय काम गरिरहेका थिए । उनीहरु आफैलाई त स्वास्थ्य क्षेत्रबारे खास केही थाहा हुने कुरा भएन । तर कोबे, ओशाका, क्योटो आदि ठाउँका धेरै साथीहरु भेट्न अझै बाँकि नै थियो । म अनेक सपना बुन्न थालेँ ।

प्रतिक्रिया दिनुहोस्