काठमाडौं । गीतकार टेक तामाङको एकल सांगीतिक साँझ सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा शनिबार २५ जना वाद्यवादकसहित गीतकार तामाङका रचनाहरु प्रत्यक्ष प्रस्तुत गरिएको थियो ।

गीतकार संघ नेपालको आयोजनामा आयोजित ‘गीतकार टेक तामाङ सांगीतिक साँझ –२०८२’मा डेढ दर्जन गायक गायिकाले प्रत्यक्ष रुपमा गाएका थिए ।
गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको सभापतित्व एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा भएको सांगीतिक साँझमा स्रोता दर्शकको भीड थियो । कार्यक्रममा उपस्थित स्रोता दर्शकको भीडलाई सहज बनाउन हलको ढोकासँगै बाहिर पनि एलइडी राखेर प्रत्यक्ष देखाइएको थियो ।
कार्यक्रममा गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीतहरु प्रस्तुत गरिएको थियो । नेपाल मेरो घर–किरण प्रधान, आमा– शिव परियार, स्वर्ग सुख– डेबिट शंकर, मीठा मीठा बोली–रुपक चौधरी, जित्नेहरुको पनि– सत्यराज आचार्य, आफ्नै धड्कन– स्वरुपराज आचार्य, मन पर्छ–संगीता राना प्रधान, अल्झिरह्यो याद–प्रदीपराज पाण्डे, नजिक यति भएर पनि र जन्मिखेली– कन्काइष्ट राई, तिमी सागर–सञ्जय तुम्रोक र सुमिना लो, तिमीलाई पराईको र अँगालोमा बेरिरहुँ– अन्जु पन्त, मै खुकुरी–सञ्जय तुम्रोक, माथि माथि लेकमा–रेश्मा बमजन, जोर मादलको तालैमा–अस्मिता अधिकारी, स्वर्ग झैं सैलुङ्ग–प्रल्हाद तिमिल्सिना र सुमिना लोले प्रस्तुत गरेका थिए । गायक गायिकाले सांगीतिक प्रस्तुत दिँदै जाँदा दर्शकदीर्घामा वान्समोरको आवाज गुन्जिरहेको थियो । दर्शकहरु गीतसँगै झुमेका थिए ।
संगीतकार अशोककुमार राईको संगीत संयोजनमा रहेको वाद्यवादनको समूहले प्रत्यक्ष रुपमा वाद्यवादनमा साथ दिएका थिए । जसमा मनोहर सुनाम भ्वाइलिन संयोजक, शिलाबहादुर मोक्तान किबोर्ड, भरत बुढाथोकी तालवादन संयोजकको रुपमा रहेका थिए ।
यस्तै, भ्वाइलिनतर्फ मोहनकृष्ण ढली, किशोर कार्की ढली, रविन कार्की ढली, नारायण कार्की ढली, रोमन बुढाथोकी, बिकासनाथ योगी रहेका थिए । त्यस्तै बाँसुरीतर्फ गोपाल देव घतानी र धन बहादुर गुरुङ रहेका थिए ।
त्यस्तै तालबादनतर्फ कुमार महाराज, मेघराज लुङ्गेली, अनिल थापा, पोषण धर्ती रहेका थिए । गिटारतर्फ देव राई, सञ्जिव लिम्बु, दिपेश श्रेष्ठ रहेका थिए भने सिता मैया राहचल सितारमा रहेकी थिइन् । सारङ्गीमा भरत नेपाली थिए भने प्याड ड्रमतर्फ भुपेन्द्र रसाइली रहेका थिए । त्यसैगरी ब्रासतर्फ रुद्र परियार, पूर्ण नेपाली र तेज तामाङ रहेका थिए ।
गीतकार संघ नेपाल र भीमबहादुर फूलमाया स्मृति पुस्तकालयको सहयोगार्थ गीतकार टेक तामाङ सांगीतिक साँझले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको गीतकार तामाङले बताए ।
अतिरिक्त प्रहरी महानिरीक्षक इआईजी समेत रहेका गीतकार टेक तामाङको सांगीतिक साँझमा राजनीतिक, साहित्यिक, सांगीतिक, न्यायिक, व्यवसायिक, शैक्षिक, प्रशासनिक, सुरक्ष निकाय लगायतका क्षेत्रहरुका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा टेक तामाङद्वारा रचित सोल्टिनी र माथि माथि लेकमा गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । कार्यक्रमलाई आवाजका दुनियाँका साथी दिनेश डिसीले संचालन गरेका थिए भने कार्यक्रम सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।