काठमाडौं । प्रहरी प्रधानकार्यालयले एसएसपीको बढुवा प्रकृया अघि बढाउन सकेको छैन । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवामा शक्ति केन्द्रबाट चरम दबाब दिएपछि अहिलेसम्म प्रकृया अघि बढाउन नसकेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतकाअनुसार राष्ट्रपति रामचन्द्र पौडेल र गृहमन्त्री रमेश लेखकनिकट रहेका तीन एसपीका कारण अवरुद्ध बनेको छ । आफ्नो व्याचमा तेस्रो लटमा बढुवा भएकाहरूले एसएसपीमा बढुवा हुन शक्ति केन्द्रको प्रयोग गरेपछि प्रहरी प्रधान कार्यालय मानव स्रोत विभाग र प्रहरी महानिरीक्षकको सचिवालय अलमलमा परेको हो ।
हाल ११ रिक्त पदमा ३३ एसपी एसएसपीका लागि प्रतिस्पर्धामा छन् । सबैजसो एसपीशक्तिशाली भएकाले प्रहरी महानिरीक्षक दीपक थापाले ‘प्रेसर’ थेग्न सकेका छैनन् । गृहमन्त्री आफू निकटस्थलाई बढुवा गर्ने योजनामा छन् भने राष्ट्रपति पौडेलले आफ्ना नातामा भान्जा पर्ने रमेश पण्डितलाई अघि सार्दा बढुवा रोकिएको स्रोतले जनाएको छ । तेस्रो लटमा बढुवा भएका जनकबहादुर शाही र चक्रराज जोशी गृहमन्त्री रमेश लेखकको क्षेत्रको भएको भन्दै उनीहरूले दबाब दिइरहेका छन् ।
अन्तिम नम्बरमा रहेका रमेश पण्डितले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत दबाब सिर्जना गरेका छन् । कतिपयले बढुवाका लागि अख्तियारका आयुक्तमार्फत दबाब दिइरहेका छन् । त्यसैगरी दोस्रो लटमा बढुवा भएका योगेन्द्रसिंह थापा, वीरेन्द्रबहादुर शाही पनि दबाब दिनेमा परेका छन् । अहिले रोकिएकोचाहि जोशी, शाही र पण्डितकै कारण भएको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ ।
हाल बढुवाको रोलक्रममा रहेका विमल बस्नेत, प्रकाश रानाभाट, कमल थापा, तुलबहादुर कार्की, राकेश सिंह, राजिब कुमार बस्नेत, दिपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपेन्द्र शाही, रामप्रकाश शाह, प्रविण धिताल र दयानिधी ज्ञवाली सबैभन्दा सिनियर छन् ।
यसमध्ये विमल बस्नेतको बढुवा रोक्का भएका अधिकृत हुन् भने कमल थापा हनि ट्रयापिङ केसमा छानविनमा रहेका छन् । प्रकाश रानाभाट र केदार खनाल, दीपक पोखरेल राजिव बस्नेतलाई संगठनभित्र रुचाइएको छैन । उनीहरु कही न कही कारवाही भोगेका र कमाण्ड गर्न नसकेको तथा प्रहरी संगठनको जनशक्तिलाई नीजि खेतबारीमा उपयोग गरेको आरोप लागेका कारण बढुवाका लागि संगठनले उयपुक्त मानेको छैन ।
दोस्रो लटमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही छन् ।
त्यस्तै, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमल्सिना र रमेश पण्डित तेस्रो लटमा बढुवा भएका हुन् । तेस्रो लटमा बढुवा भएकाहरुको तीन वर्ष मात्र पुगेको छ । पहिलो लटका एसपी भएको सात वर्ष भइसकेको छ ।
सात वर्ष भएका एसपीलाई छुटाएर तीन वर्ष मात्र अवधि पुगेकालाई बढुवा गर्न आइजीपीलाई दबाब दिएको भन्दै बढुवा प्रकृया अघि बढाइएको छैन । एसएसपीमै बढुवा रोकिदा डिएसपीबाट एसपी, इन्सपेक्टरबाट डिएसपी तथा वरिष्ठ सइबाट इन्सपेक्टरमा पनि रोकिएको छ । असार मसान्तसम्म बढुवा प्रकृया अघि नबढेमा दुई महिना अझै ढिला हुने बताइएको छ । प्रहरी प्रधानकार्यालयले तीन पटक बढुवालागि अनुमति लिन गृहमन्त्रालय पुग्दा पनि गृहमन्त्रीले प्रकृया अघि बढाउन अनुमति दिएका छैनन ।