Logo
Logo

डिजिटल असहिष्णुताविरुद्ध दुई गायिकाको विद्रोह


945
Shares

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा गाली–बेइज्जतीका घटनाहरू तीव्र रूपमा बढिरहेका छन् । यसले कलाकारदेखि प्रधानमन्त्रीसम्मलाई आजित बनाएको छ । यही विकृतिविरुद्ध गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले सामाजिक सञ्जालमार्फत सुरु गरेको ‘एक्सपोज अभियान’ अहिले निकै चर्चामा छ । 

उनीहरूले आफूलाई गाली गर्ने, बेइज्जती गर्ने र चरित्र हत्या गर्न खोज्ने व्यक्तिहरूको स्क्रिनसटसहित सामाजिक सञ्जालमै खुलासा गरिरहेका छन् । नकारात्मक कमेन्ट, अश्लील सन्देश र निजी जीवनमा असर पार्ने खालका व्यवहारको विरोधमा उनीहरूले यो कदम चालेका हुन् ।

एलिनाले प्रहरीको साइबार ब्यूरोमा उजुरी समेत दिइसकेकी छन् । उनले नाम तोकेर चारजनाविरुद्ध उजुरी दिएकी छन् । बाँकी अरुविरुद्ध पनि उजुरी दिने उनको भनाइ । 

एलिनाले आफूमाथि छुद्र टिप्पणी गर्नेलाई कारबाहीको दायरामा ल्याएरै छोड्ने बताएकी छन् । आफ्नो निजी जीवनमा प्रश्न उठाउने अधिकार कसैलाई नभएकामा उनले जोड दिएकी छन् । 

उनीहरूको यस साहसी कदमको सर्वत्र प्रशंसा भइरहेको छ । कलाकारहरू मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमार्फत ‘साहसी छोरीहरू’ भन्दै समर्थन जनाएका छन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ । समाजलाई उत्तेजनाले ’गाइड’ गरेर गलत बाटोतर्फ डो¥याउन नदिन र विवेकतर्फ फर्काउन ’गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।’

फिल्मकर्मी तथा कलाकारहरूले पनि अभियानमा ऐक्यबद्धता जनाइरहेका छन् । निर्माता तथा अभिनेता दीपक राज गिरीले लामो स्टाटस लेख्दै सामाजिक सञ्जालमा मौलाउँदै गएको विकृति र असहिष्णु प्रवृत्तिको भत्र्सना गरेका छन् ।

यौन दुर्व्यवहार र वैवाहिक विघटनपछिको जीवन सामना गरिरहेका दुई गायिकाको साहसको खुलेर प्रशंसा गरेका छन् । साथै, उनले राज्य प्रणालीको निष्क्रियता र कानुनी कमजोरीतर्फ पनि संकेत गरेका छन् । त्यस्तै, गैँडा उपनामले परिचित अर्का हाँस्या–कलाकार निर्मल पौडेलले पनि यी दुईले चालेको यो कदमको प्रशंसा गरेका छन् । उनले ‘ह्याट्स अफ’ लेख्दै यी दुईको अभियानमा समर्थनमा जनाएका छन् । अर्का कलाकार तथा स्ट्यान्डअप कमेडियन सुमन कार्की र हाँस्या कलाकार माग्ने बुढा भनेर चिनिने केदार घिमिरेले पनि दिपक राज गिरीकै पोस्ट सेयर गर्दै समीक्षा र एलिनालाई ढाडस दिएका छन् । अभिनेत्री केकी अधिकारी पनि यी दुई गायिकाको साथमा देखिएकी छन् । आफ्नो सामाजिक संजालको स्टोरीदेखि पोष्टसम्ममा केकीले समीक्षा र एलिनाको समाचार शेयर गरेकी छिन ।

केकीले समीक्षा र एलिनाबारेको समाचार सेयर गर्दै लेखिकी छन्, ‘भनिन्छ– अति गर्नु तर अत्याचार नगर्नु । अत्याचारको मूल्य चुकाउनैपर्छ ।’ अर्की अभिनेत्री तथा निर्मात्री निता ढ्गांनाले यी दुईको समर्थनमा लामो स्टाट्स लेखेकी छिन । 

एलिनाको एक भिडियो शेयर गदै उनले जे गर्‍यौ सही गर्‍यौ भन्दै एलिनालाई ढाडस दिएकी छिन । उनले लेखेकी छिन,‘हो, कलाकारहरूले ताली र गाली दुवै सहनुपर्छ । तर अत्याचारको पनि सीमा नागेपछि नराम्रो कमेन्ट गर्नेहरूलाई र नकारात्मक सोच राख्नेहरुलाई, यो गतिलो झापड हो । कुनै पनि छोरी–चेलीको प्रोफाइलमा गएर नराम्रो कमेन्ट गर्ने काम नगर्नुस् । 

यदि तपाईंलाई मन पर्दैन भने उसलाई ब्लक गरिदिनुस् । अबको समय ,नराम्रो गर्नेहरूप्रति लडेर अगाडि बढ्ने हो, खुम्चिएर बस्ने समय हैन ।’ असहिष्णु र अभद्र व्यवहार गर्नेहरूलाई सञ्जालबाटै खुलेआम सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले एलिना र समीक्षासँग माफीसमेत मागेका छन् ।

यता, एमाले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतको स्टाटसले भने गायिका समीक्षा चिन्ता दुखाएकी छन् । शनिबार बस्नेतले फेसबुकमा लेखेको एउटा स्टाटसले आफ्नो चरित्रमा आक्षेप लगाइएको भन्दै गायिका अधिकारीले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी फेसबुकमै गुनासो पत्र लेखेकी थिइन् । 

समीक्षाले लेखेकी छन्, ‘‘सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु । जनताको अदालतभन्दा ठुलो अरू केही छैन । जिन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ । यो तीन करोड जनतालाई थाहा छ । धेरै भन्ने नपार्नुस्। बस्नेतज्यूलाई मेरो प्रश्न छ– मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउँथ्यो ?’

यसपछि पूर्वमन्त्री बस्नेतले क्षमा माग्दै आफ्नो स्टाटस इडिट गरेका छन् । बस्नेतले स्पष्टीकरण दिँदै लेखेका छन्– ‘मेरो स्टाटस आफूमाथि भएको निरन्तरको प्रहार र आक्रमणको बारेमा केही स्पष्ट पारेको मात्रै हुँ । सोही विषय लेख्दा केही सन्दर्भहरू जोडिएका थिए’ ‘कसैको चरित्र हत्या गर्ने वा बदनाम गर्ने उद्देश्यले बिलकुल होइन। कतिपय पुराना पीडालाई कोट्याउने मनसाय पनि थिएन। तर समीक्षा बहिनीको टिप्पणीप्रति संवेदनशील बन्दै यदि मेरो अभिव्यक्तिमा कतै कमजोरी भएको भए म त्यसप्रति क्षमाप्रार्थी हुँदै बहिनीको भावना बुझेर मैले स्टाटसलाई केही संशोधन गरेको छु ।’

हुन त, सामाजिक सञ्जालमा दुर्व्यवहारमा पर्ने यी दुई गायिकामात्रै होइनन् । अरु थुप्रै कलाकार, चलचित्रकर्मी र गायक–गायिकालाई पनि यस्तो कमेन्ट आउने गरेको पाइन्छ । कतिले यो विषयमा बोल्ने गरेका छन् भने कतिले यसमा खासै चासो दिँदैनन । समीक्षा र एलिनाहरू जस्तै महिलाहरूलाई लक्षित गर्ने स्त्रीद्वेषी सोच अझै बलियो रूपमा देखा परेको छ। यसमा दोष केवल सामाजिक सञ्जाल वा प्रयोगकर्ताहरूलाई दिनु मात्र पर्याप्त छैन, राज्य पनि उत्तरदायी छ। अझै पनि हाम्रो देशमा डिजिटल साक्षरताको अभाव छ। यस्ता प्लेटफर्महरूमा नियन्त्रण र नियमन गर्ने ढाँचा स्पष्ट छैन। नियम र कानुन बनाउने बेला अब ढिलो भइसकेको छ। 

के हुन्छ सजाय ? 
सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने व्यक्तिलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही हुन्छ । विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद हुन्छ । यी दुवै सजाय पनि हुन सक्ने व्यवस्था छ ।

उक्त ऐनको दफा ४७ को उपदफा १ मा ‘कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ’ भन्ने उल्लेख छ ।

सोही दफाको उपदफा २ मा ‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटकपटक गरेमा त्यस्तो कसुरबापत अघिल्लोपटक भएको सजायको डेढी सजाय हुने’ उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्