काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डायलग (आइआरजिडीडी ) बीच आर्थिक कूटनीति र लगानी प्रवर्द्धनका लागि सहकार्य सम्झौता भएको छ । मंगलबार काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा एनसीसीका अध्यक्ष कमलेशकुमार अग्रवाल र आइआरजिडीडी की अध्यक्ष तथा पूर्वराजदूत डा। शर्मिला पराजुली ढकालले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताअनुसार, दुवै संस्थाले व्यापार तथा लगानी कूटनीति, नीतिगत अनुसन्धान, क्षमता अभिवृद्धि, नेपाली उत्पादनको बजार प्रवर्द्धन र निजी क्षेत्रको संलग्नतामा सहकार्य गर्नेछन् । नेपालको कूटनीतिक सम्बन्ध स्थापित मुलुकहरू र विदेशमा रहेका नेपाली समुदायलाई समेटेर लगानीका सम्भावना र व्यापार वृद्धिका लागि संयुक्त प्रयास गरिने उल्लेख छ ।
साथै, व्यापार, युवा जनशक्ति परिचालन, आर्थिक कूटनीति र लगानी अभिवृद्धिका क्षेत्रमा संयुक्त अनुसन्धान पनि गरिनेछ । सम्झौताको कार्यान्वयन प्रत्येक छ महिनामा पुनरावलोकन गरिने चेम्बरले जनाएको छ । चेम्बरका अध्यक्ष अग्रवालले विदेशस्थित कूटनीतिक नियोग, राजदूतावास र नेपालको निजी क्षेत्रबीच निरन्तर छलफल र सहकार्यमार्फत आर्थिक कूटनीतिलाई सुदृढ गर्न आइआरजिडीडीसँग यो सम्झौता गरिएको बताए ।