
काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा लगातार डिजिटल रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंकले ‘कुमारी भर्चुअल क्रेडिट कार्ड’ सेवा शुरू गरेको छ । बैंकले ‘फोन पे’ पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा ‘कुमारी भर्चुअल क्रेडिट कार्ड’ सेवा शुरू गरेको हो ।
यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्टमार्फत सहज रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने कार्ड हो, जसलाई ग्राहकले आफ्नो कुमारी स्मार्ट एपमार्फत सहजै मोबाइलबाट सुचारु गर्न सक्नेछन् ।
फोनपेको क्यूआर मर्चेन्टहरूमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकले अधिकतम ४५ दिनसम्म विनाब्याज (शर्तहरू लागू हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत छान्न सक्ने छन् ।
विगत २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३०२ शाखा, ३१८ एटीएम, ५० एक्स्टेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।