Logo
Logo

ओलीको एकाधिकारमा धावा


शरद् रिजाल

8.1k
Shares

मुलुककै सर्वोच्च पदमा पुगेर साझा अभिभावकीय भूमिका निर्वाह गर्ने दायित्व बोकेका राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने विषय अब नौलो रहेन ।

एकै कार्यकाल राष्ट्रपति र उपराष्ट्रपति भएका मध्ये पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नेकपा(माओवादी केन्द्र)को उपाध्यक्षमा फर्किए । मुलुककै दोस्रो वरियतामा रहेका पासाङ पार्टीको पनि अध्यक्ष पछिको दोस्रो पदमा फर्किएका छन् । यद्यपि, वरियतामा भने उनी पूर्ववत् पार्टीको दोस्रो स्थानमा रहन सकेनन् ।

यता, उनकै कार्यकालमा राष्ट्रपति भएकी विद्यादेवी भण्डारी पनि एमालेको सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरिन् । शनिबार ७४ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले पार्टी सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् ।

मुलुक गणतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि दोस्रो पटक राष्ट्रपति र उपराष्ट्रपतिको पदमा विराजमान दुवै जना आफ्नो पूर्ववत् पार्टीको सक्रिय राजनीतिमा फर्किएका छन् ।

यद्यपि, पूर्वराष्ट्रपति भण्डारीको पार्टीगत जिम्मेवारी अझै निक्र्योल भइसकेको छैन । उनी एमालेको पूर्वउपाध्यक्ष भएकाले पार्टी नेतृत्वकै आकांक्षासहित पुनःराजनीतिमा फर्किएको चर्चा छ । अर्थात् एमालेमा आफूलाई निर्विकल्प नेतृत्व ठानेका पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि चुनौती दिन पुनःसक्रियता बढाएको आकलन गरिएको छ । यसले एमालेमा अब ओली–विद्या आमनेसामनेको अवस्था उत्पन्न भएको छ ।

ओलीले पनि यही कुरा बुझेर विद्या लक्षित अभिव्यक्ति विगतदेखि नै दिँदै आएका थिए । उनले यसअघि राष्ट्रकै सम्मानजनक पदमा पुगेका व्यक्ति सक्रिय राजनीतिमा फर्कन उचित नहुने बताउँदै आएका थिए । शनिबार राष्ट्रियसभा गृहमै राजनीतिमा फर्कने भण्डारीको शंखघोषले ओलीमा चिसो पसेको उनको अभिव्यक्ति र भावभंगीबाटै सहजै बुझ्न सकिन्थ्यो ।

ओलीले विद्याको सम्बोधन समेत नसुनेर कार्यक्रमस्थलबाटै बाहिरिए । ओलीले पार्टीमा आफूविरुद्ध बोल्न थालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सम्बोधनको समेत पूर्वानुमान गर्दै उनलाई पनि राम्रो बोल्ने भनेर व्यङ्ग्य गरे ।

यसले एमालेमा विद्याको पुनरागमनले ओली सशंकित रहेको स्पष्ट देखिएको छ । आफ्नो एकल साम्राज्यमा धावा बोल्न आँटेपछि उनी भण्डारीलक्षित संशययुक्त भाव आफ्नो सम्बोधनमा प्रकट गरेका थिए । ओलीले विद्याको पुनरागमन सम्बन्धी सार्वजनिक तथ्यबारे भने मिडियालाई दोष लगाउँदै कुप्रचार गरिएको आरोप लगाउँदै आएका छन् ।

भण्डारीको पुनःआगमन र उनलाई रोक्न गरिएको तिकडमले एमालेमा ओलीको विकल्प तयार भएको सन्देश दिएको छ । विद्यालाई रोक्न विधान समेत संशोधन गर्ने तयारीमा रहेका ओली र उनका निकटस्थका सबै प्रयास अन्ततः निरर्थक सावित भएका छ ।

पूर्ववत् पार्टीमा उनको पुनरागमनले एमालेको आन्तरिक राजनीति निकै पेचिलो बन्दै ध्रुवीकरण समेत बढाएको छ । केहीले उनको कदम स्वागतयोग्य ठानेका छन् भने एमालेकै कतिपयलालाई अरुचिकर लागेको छ ।

नेपाली राजनीतिमा समेत यसले नयाँ बहस सिर्जना गरेको छ । उनको पुनरागमनले वाम एकताको वातावरण समेत बनाउने भन्दै केही हौसिएका समेत छन् । यसको परिणाम भने हेर्न बाँकी नै छ ।

यद्यपि, ओलीको क्रियाकलापले आजित भएर एमालेबाट विभाजित हुन बाध्य भएको एकीकृत समाजवादी भने भण्डारीले नेतृत्व सम्हालेपछि एकताबद्ध हुन सक्ने सम्भावना छ । तर, उनले पार्टी नेतृत्वको जिम्मेवारी लिन त्यति सहज भने छैन । उनीसँग नेतृत्वका लागि दुई वटा मात्रै विकल्प छ । सर्वसम्मत नेतृत्वमा पदस्थापन या प्रतिस्पर्धा । उनलाई एमाले नेतृत्वले सर्वसम्मत अध्यक्ष स्विकार्ने भए रोक्ने प्रयत्न नै गर्ने थिएन । उनी नेतृत्वमा ओलीको उत्तराधिकारी भएर होइन, प्रतिस्पर्धीका रूपमा निर्वाचित हुनुपर्ने बाध्यात्मक अवस्थामा छ ।

त्यसबाहेक ओलीको कृपाले पुरानै पद उपाध्यक्षमा फर्किन उनको पूर्वराष्ट्रपतिको कदले समेत दिँदैन र त्यसको औचित्य पनि छैन । यही बुझेर ओलीले विद्याको आगमन सहयोगीका रूपमा नभई प्रतिस्पर्धीकै रूपमा भएकाले त्यसलाई रोक्न अनेकौँ कुतर्क गर्दै हिँडेका छन् ।

त्यसैले उनी नेतृत्वमा आउने एकमात्रै उपाय भनेको ओलीलाई आगामी दशौं महाधिवेशनमा विस्थापन गरेरै हो । त्यसको पूर्वतयारीस्वरुप एमालेका पदाधिकारी र स्थायी समितिमै रहेका केही नेताले विद्याको पुनरागमनको पक्षमा पार्टीभित्र र बाहिर माहौल बनाउन लागिपरेका छन् ।

यी यावत घटनाक्रमले आगामी महाधिवेशनमा ओली–विद्याकै प्रतिस्पर्धा हुने निश्चितप्रायः छ । ओलीले यस अघि नै पार्टीमा तेस्रो पटक नेतृत्वमा आउने सार्वजनिक उद्घोष गर्दै ७० वर्षे उमेरहदको औचित्य सकिएको बताइसकेका छन् ।

यसअघि एमालेबाट विभाजित भएका नेतालाई फर्काउन उमेरहद स्थगन गरिएको थियो । त्यसका अलावा उनले दुई कार्यकाल भन्दा बढी पार्टीको कार्यकारी पदमा नरहने प्रावधानलाई लत्त्याएर त्यसको औचित्य सकिएको जिकिर गरेका छन् ।

पार्टीको विधि विधानलाई पूर्णतया अवज्ञा गर्दै निरकुंशताउन्मुख ओलीलाई विद्याको पुनरागमनले चुनौती खडा गरेको छ । उनको एकल नेतृत्व मोहमा विद्या तगारो बनेर अघि बढेकी छन् । यसले एमालेमा ओलीको निरंकुशता तोड्दै आन्तरिक लोकतन्त्रको अभ्यासलाई समेत पुनर्जिवीत तुल्याउन प्रमुख भूमिका खेल्ने छ ।

नवौं महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिएका माधवकुमार नेपाललाई एमालेबाट बाहिरिन बाध्य पारियो भने दशौं महाधिवेशनमा उम्मेदवारी दिएका भीम रावल पनि अपमानजनक ढंगले पार्टीबाटै निष्कासित गरिएको छ । यसरी ओलीले पार्टीमा आफ्नो निरंकुश चरित्र प्रदर्शित गरिरहेको बेलामा विद्याको आमगनले भने उनमा निकै बेचैनी बढाएको छ ।

ओलीको यस प्रकारका निरकुंश रवैयालाई निस्तेज पार्न एमालेमा विद्याको पुनरागमन कामयाबी हुने देखिन्छ । कुनै बेला एमालेमा ओलीकै सारथि रहेकी उनी अब आफ्नो पूर्व नेतालाई नै चुनौती दिने ठाउँमा पुगेकी छिन् ।

उनको पुनरागमनले वाम आन्दोलनमा उल्लेख्य उपलब्धि हासिल हुन नसके पनि एमालेमा ओलीको एकाधिकार तोड्दै पार्टीमा आन्तरिक लोकतन्त्र पुनस्र्थापित गर्न प्रभावकारी भूमिका खेल्ने छ । यसले उनका पति मदन भण्डारीद्वारा प्रतिपादित प्रतिस्पर्धाबाटै श्रेष्ठता हासिल गर्ने एमालेको पथप्रदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद(जबज)लाई समेत न्याय प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्