काठमाडौं । लिम्बू भाषा गीतसंगीत क्षेत्रमा ‘स्वर किन्नरी’का रुपमा चिनिएकी गायिका मनु नेम्बाङको नयाँ पालाम गीत सार्वजनिक भएको छ । गायिका मनुको हरेक पालाम तथा लिम्बू भाषा गीतमा आफ्नै विशेषता छ ।

दुई दकशभन्दा लामो समयदेखि लिम्बू गीतसंगीत, खाशगरी पालाममा एकछत्र राज गर्दै आएकी गायिका मनु नेम्बाङले यसपटक ‘कान्छा फूङ्ए’ बोलको पालाम ल्याएकी छन् । लिम्बू जाती एवं समुदायको सांस्कृतिक पहिचान र विशेषता बोकेको पालाम पछिल्लो समय युट्युबमा मात्र सिमित हुँदै गएको छ । सार्वजनिक पालाममा गायिका मनु नेम्बाङलाई सलमान थलङ र निर्मल लिबाङले साथ दिएका छन् ।
हालसम्म गायिका मनु नेम्बाङले हजारभन्दा बढी लिम्बू गीत तथा पालाम गाइसकेकी छन् । उनले गाएका अधिकांश पालामहरु लिम्बू सुमदायमा लोकप्रिय र चर्चित छ । आफूले गाएका पालाम र गीतहरु चर्चामा रहेपनि मनु खाशै मिडियामा आउन चाहदिनन् ।
कोकिल स्वरकी धनी गायिका मनु नेम्बाङका पालाम र लिम्बू भाषाका गीतहरु सुनेर दर्जनौँ यो क्षेत्रमा प्रवेश गरेका छन् । अहिले पनि मनुको बाटो पछ्याउने खोेज्ने थुप्रै लिम्बू समुदायका कलाकारहरु छन् ।
लिम्बू समुदायको कला, संस्कृति र सांस्कृतिक पहिचान जोगाउन पालाममा आफूलाई समर्पित गर्दै आएकी मनुको यो पछिल्लो पालाम ‘कान्छा फूङ्ए’लाई पनि दर्शकले रुचाएका छन् । यो पालाम गायिका मनु नेम्बाङले आफ्नै अफिसियल युट्युब च्यानलबाट बुधबार सार्वजनिक गरेकी हुन् ।
यो भिडियोलाई अहिलेसम्म जतिले हेर्न भ्याए, सबैले राम्रो प्रतिक्रिया दिएका छन् । यो पालामको भिडियो पूर्वी गाउँतिरै छायाँकन गरिएको छ । त्यसैले पनि पालामको मर्ममा जिवन्तता उजागर छ ।