Logo
Logo

सपना, आन्दोलन र युद्धहरू


3.8k
Shares

सन् १९९१को मार्च सकिएर अप्रिल लाग्ने बेलासम्ममा साथीहरुले मलाई टोकियो घुमाउन छुट्ट्याएको समय करिब करिब सकिइसकेको थियो । कहिले एक्लै टिभी हेरेर समय काट्थेँ । सुसुमुको समय मिलेको बेला उनीसँग कुरा गर्थेँ । कुरा कहिले गम्भीर बिषयमा पनि हुन्थ्यो । उनी पर्यावरणविद्, उनीसँग हुने कुराकानीको विषयपनि पर्यावरण र नै हुन्थ्यो । जापानमा हरेक व्यक्ति देश, समाज र घरलाई कसरी सफा राख्ने भन्ने कुरामा सचेत भएको जस्तो लाग्थ्यो मलाई । सडक, गल्ली जता हेरे पनि सफा लाग्थ्यो ।

त्यहीबेला अर्थात् १९९० तिर इराकले कुवेतमाथि आक्रमण गरेपछि त्यो लडाईंले सिङ्गै संसारलाई असर पारेको थियो । कुवेतमा तेलको खानी भएकोले त्यो बेला अमेरिका र युरोपका धेरै देश त्यो लडाईँमा होमिए । त्यो ’गल्फवार’का कारण कालै भएको समुद्रको पानी र वायु प्रदूषणको दृष्य टिभीमा देख्दा मन नमीठो हुन्थ्यो । लडाईले कसको हीत गर्छ र ?

नीलो समुद्र कालो भइरहेको, समुद्रमाथि स्वतन्त्र भएर खेल्ने र उडेर रमाउने सेता चराहरुको रङग पनि कालो भएको देख्दा मन ज्यादै अशान्त भएको थियो । मान्छेमात्र होइन, पृथ्वीवासी जीवजन्तुलाई समेत प्रत्यक्ष असर पारेको कुरालाई लिएर हामी चिन्तित हुन्थ्यौँ ।

युद्ध शब्द नै भयानक छ – जति आज छ, उति नै हिजोपनि थियो । तर युद्धले जहिलेपनि आक्रान्त छ विश्व । अहिले इजराइलले गाजामा गरिरहेको नरसंहारले मान्छेको भविष्य नै अन्धकार देखाइरहेको छ ।

अबोध बच्चाहरु यसरी मारिँदैछन् कि संसार नै बच्चारहित हुने त होइनन्, भन्ने प्रश्न पनि उठ्न थालेको छ । केही दिनका निम्ति थामिएजस्तो भएको इरान इजरायल युद्धले अब अर्को विश्वयुद्धकै रूप त लिने होइन भन्ने डर हुन थालिसकेको थियो ।

मानव जातिका कारण पृथ्वीले नै भोग्नु परेको यो दुर्भाग्यका बारे दुरदर्शी साथी सुसुमु उहिल्यै देखि चिन्तित देखिन्थे । उनी आफै भने वातावरण बचाउन भनेर पुराना थोत्रा चीजलाई समेत हतपती फ्याँकि हाल्दैनथे । हरेक चीज चलाउन मिलुन्जेल चलाउने हो भने फोहोरमैला कम हुन्छ, प्रदूषण अलिकति भने पनि घट्छ भन्ने उनको मान्यता थियो । त्यो देख्दा म गरीब देशको मान्छेलाई समेत अचम्म लाग्थ्यो ।

त्यही बेलातिर उनले मलाई नेपालविद् प्रोफेसर हिरोशी इशीसँग भेट गराउन लगे । नेपालको सतुङ्गलमा बसेर नेपालको बारे थेसिस लेखेका प्रोफेसर इसीसँग कुरा गर्दा उनी ज्यादै ठूला विद्वान र भविष्यवक्ता जस्तो लागेको थियो मलाई ।

म नेपालीलाई भन्दा धैरै नेपालबारे थाहा थियो उनलाई । उनले मलाई देख्ने बितिक्कै नेवारकी छोरी भनेर चिनिहाले । हुन त मेरा केही लेखहरु पनि पढिसकेका भएर मेरोबारेमा धैरै कुरा थाहा पाउनु अस्वाभाविक थिएन । तरपनि मलाई नेवाः भनेर चिन्ने उनी पहिलो जापानी थिए ।

उनी नेपालभाषा र नेपाली दुवै भाषा फरर्र बोल्थे । मसँग नेपालभाषामै कुरागर्न थाले । मलाई लिएर जाने साथी एकछिन् जिल्ल पनि परे हाम्रो कुराकानीमा न्यानोपन देखेर । मेरै मातृभाषामा कुरा हुँदैछ भनेर थाहा पाएर उनी पनि खुसी भए ।

पाँच वर्षदेखि मैले आफ्नो मातृभाषामा कुरा गरेकी थिइन । एकैपल्ट जापानी प्रोफेसरसँग कुरा गर्दा एकछिन् त म आफै अलमलिएँ । उनले “ल्वाकःबाकः जुलला !’’ भन्दै लामो समय प्रयोग नगरेपछि बोल्न गाह्रो हुन्छ भनेर सम्झाउँदा मलाई लाज लागेको थियो ।

भावुक पनि भएकी थिएँ – आफ्नै भाषा विदेशीले यति राम्रोसँग बोलेको देख्दा । उनको अफिस भित्र पस्नासाथ नै म फेरि नेपालमै छु भनेजस्तो लागेको थियो । किताबको ¥याकहरुमा टन्नै नेपाल सम्बन्धि किताबहरु थिए । केही त इतिहासका पुराना पुस्तक पनि थिए । साँच्चैका नेपालविद् थिए उनी ।

नेपालको बारे कुरा गर्दै जाँदा ४६ सालको आन्दोलन भर्खरै सकिएको बेला भएकोले आन्दोलनको कुरा पनि निस्कियो । उनले मेरो इतिहासै पनि बुझिसकेको भएर होला सिद्धै भनेका थिए – “आनदोलनका बेला धन्न तपाईँ चीनमा हुनुहुन्थ्यो र हाम्रो भेट हुन सक्यो । नत्र तपाईँ पनि शहिद हुन के बेर !’’ मेरो देशको बारेमा जापानी विद्वानसँग यसरी कुरा भईरहँदा मेरा आँखा भिजेका थिए ।

उनले नै हो त्यही बेला नेपालको बारेमा भविष्यवाणी गरेको – “नेपालमा आन्दोलनहरु त भइरहन्छन् नै, तर चाहे जस्तो परिवर्तन हुन गाह्रो छ…’’ भनेर । त्यो बेला मलाई चित्त बुझेको थिएन । तर उनले भनेका सबै कुराहरु आज फर्केर हेर्दा मिलेका छन् ।

सरोजको सपना थियो– देशमा एउटा राम्रो अस्पताल मात्र होइन गैरसरकारी स्वास्थ्यसेवाको नमूना नै बनाउने । प्रोफेसर हिरोशीले पनि सक्दो सहयोग गर्ने कुरा गरेका थिए । उनले फेरि एउटा राम्रो लेख लेख्नु भनेर सुझाएका थिए । तर जापानी साथीहरुका निम्ति लेख्ने मेरो योजना सकिसकेकोले र जापानी भाषामा उल्था गरिदिने साथीको व्यस्तता पनि बढिसकेकोले फेरि थप दुःख दिन चाहिन ।

उनको अर्को सुझाव थियो कोबेमा बस्नु हुने र नेपालमा धेरै समय डाक्टरको रुपमा काम गरेका डा. इवा मुरालाई भेट्नु भन्ने । टोकियो पछि कोबे ओसाकातिर जाने योजना पनि उनलाई थाहा थियो । उनको कुराले जति प्रभावित भए पनि मनको एउटा कुनामा भने लागिरहेको थियो – यी मान्छे जति विद्वान भए पनि आखिर विदेशी न हुन्, सबै कुरा त उनले भनेजस्तो कसरी होला र !

खासगरी उनले भनेको ‘नेपालमा असल नेता नै छैनन्’ मलाई मन परेको थिएन । आज भन्दा ३३ वर्ष अघिको कुरा हो यो । यही तीन दशकभित्र हो चीनले त्यति ठुलो उन्नति प्रगति गरेको । एशियाका अरु साना देशहरुले पनि धेरै उन्नति गरिसकेका छन् ।

हाम्रै देशमा भने यति धेरै आन्दोलन र राजनैतिक परिवर्तन भइसक्दा पनि असल नेता किन जन्मिन नसकेको होला ? जहिले पनि ‘सतीले सरापेको देश’ भनेर किन भन्नु पर्ने ? यो सब देख्दा ती जापानी प्रोफेसरको विश्लेषण र भविष्यवाणीको खुब सम्झना हुन्छ ।

अहिले पनि हाम्रो देशको मात्र कुरा नभएर संसारभरि नै कतै आन्दोलन कतै लडाईँको कुरा सुन्नु परिरहेको छ । अझै पनि युवा र किशोरकोशोरीहरु सपनाका निम्ति लड्दैछन् । विचारधाराहरुकै अवसान भएको यो समयमा अहिलेको युवा पुस्ताको सङ्घर्ष कहाँ गएर टुङ्गिने होला ? हिरोशी इसीसँग अहिले भेट हुँदो हो त म यही प्रश्न गर्थेँ हुँला ।

प्रतिक्रिया दिनुहोस्