बागमती । बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल प्रारम्भ भएको छ ।

यही असार १ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए । सो बजेटमाथि आजदेखि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो ।
आजको प्रदेशसभा बैठकमा २६ जना प्रदेशसभा सदस्यहरूले सरकारद्वारा प्रस्तुत बजेटमाथि आफ्ना धारणा राखे । प्रदेशसभा सदस्यहरूले जनताको चाहना र प्रदेशको आवश्यकताअनुसार बजेट नआएकाले त्यसलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रदेशसभाको अर्को बैठक शनिवार दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । बजेटमाथिको छलफलले भोलि पनि निरन्तरता पाउने उनले बताए । आजको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ माथि सभामा विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो विधेयक बैठकमा छलफलका लागि सर्वसम्मतले स्वीकृत भएको सभामुख भुवनकुमार पाठकले घोषणा गरेका थिए ।