काठमाडौं । ‘मेरी बास्सै’की कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को निधन भएको छ । क्यान्सरपीडित श्रेष्ठको शुक्रबार राति निधन भएको हो । श्रेष्ठको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको थियो । अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दिपकराज गिरी, दिपकप्रसाद आचार्य, सुशीला निरौला (विमली), गायिका राधिका हमाललगायत कलाकारको उपस्थिति रहेको थियो ।
श्रेष्ठले २०५२ सालमा ‘ट्वाक्क टुक्क’सँगै हिजो आजका कुरु सिरियलबाट कलाकारिता यात्रा सुरु गरेकी थिइन् । पछिल्लो समय उनी ‘मेरिबास्सै’मा सिताराम कट्टेल (धुर्मुस)कै खड्काजि क्यारेक्टरको श्रीमती ‘अप्सरा’ बनेपछि चर्चामा आएकी थिइन् ।
पछिल्लो केही वर्षयता उनी क्यान्सर रोगबाट पीडित थिइन् भने करिब एक महिनादेखि ओछ्यानमै थलिएकी थिइन् ।