Logo
Logo

किर्ते हस्ताक्षर गरी कर्मचारी बर्खास्त गर्ने बृहत्तर जनकपुरका अध्यक्ष पक्राउ


945
Shares

काठमाडौं । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल शाहलाई प्रहरीले पक्राउ गरेको छ । कार्यकारी निर्देशकको हस्ताक्षर किर्ते गरी चार जना कर्मचारी बर्खास्त गरेको आरोपमा फरार रहेका उनलाई धनुषा प्रहरीले सोमबार जनकपुरधामबाटै नियन्त्रणमा लिएको हो ।

धनुषा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार, परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर किर्ते गरी कर्मचारी बर्खास्त गरेको उजुरीपछि शाहमाथि अनुसन्धान सुरु गरिएको थियो ।

अध्यक्ष शाहले प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी तथा नायब सुब्बाहरू मदन चौधरी र सञ्जय मण्डललाई बर्खास्त गर्न कार्यकारी निर्देशक पासवानको हस्ताक्षर आफैँले गरी तयार पारेको पत्र उच्च अदालतमा पेश गरेका थिए।

तर, निर्देशक पासवानले उक्त हस्ताक्षर आफ्नो नभएको भन्दै अदालत र प्रहरीमा किर्ते जालसाजीको उजुरी दिएका थिए । प्रहरीले सो हस्ताक्षरलाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँदा उक्त हस्ताक्षर शाहले नै किर्ते गरेको पुष्टि भएको थियो।

प्रहरीका अनुसार, मुद्दा दर्ता भएदेखि नै फरार रहेका शाहलाई पक्राउ गरी जिल्ला अदालत धनुषामा पेश गरिएको छ। अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद दिएको डीएसपी सिंहले जानकारी दिए।

शाह नेकपा (एकीकृत समाजवादी) को सिफारिसमा परिषद्को अध्यक्ष नियुक्त भएका थिए । तर, किर्ते मुद्दाबाट जोगिनकै लागि उनी केही समयअघि मात्रै पार्टी परित्याग गरी नेकपा ९एमाले० मा प्रवेश गरेको चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्