Logo
Logo

स्वास्थ्य आपतकाल


- दृष्टि न्युज/संवाददाता

0
Shares

भनिन्छ, ‘बिग्रिएको घडीले पनि चौबीस घण्टामा दुईपटक ठिक समय दिन्छ’, कोरोना कहरमा नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकारले जनतालाई दिएको राहत त्यहीँ बिग्रेको घडी र समयजस्तो छ । सरकारले कोरोनाभाइरस नियन्त्रण गर्ने नाममा दश अर्ब रुपैयाँ बजेट सिध्याएको छ । अझ कति खर्च हुने हो, थाहा छैन ।

स्वास्थ्य उपकरण, औषधिलगायतका सामग्री खरिदका नाममा व्यापक भ्रष्टाचार भएको छ । कोरोना संकटको अवस्थामा पनि सरकारको यस्तो बेथिति हेर्न नसक्ने युवाहरु ‘इनफ इज इनफ’ अब त अति भो भनेर अनसन बस्न बाध्य छन् । कोरोनाभाइरस परीक्षण बढाउन र अन्तिम समयमा नागरिकको ज्यान बचाउन सरकारसँग पर्याप्त भेन्टिलेटर माग गर्ने युवाहरु बालुवाटारबाटै गिरफ्तार भएका छन् । खुला सीमाबाट धमाधम कोरोना संक्रमित मजदुरहरु काठमाडौं प्रवेश गरेका छन् ।

चैतमा दुई जना कोरोना संक्रमित व्यक्ति देखिँदा देश नै ‘लकडाउन’ गरेर ठप्प गर्ने सरकारले कोरोनाको कारण सयभन्दा बढीले ज्यान गुमाउँदा भने राजस्वको लोभले सीमा भन्सार खुला गरेको छ । सरकारलाई जनता कोरोनाको कारणले मर्ला भन्दा पनि कोरोनाको कारणले कर्मचारीले तलब खान नपाउने हो कि भन्ने चिन्ता छ । ‘लकडाउन’कै बीच करिब १२ सयभन्दा बढीले आत्महत्या गरेको समाचार बाहिर आएको छ । तर, समस्या हिजोभन्दा आज, आजभन्दा भोलि विकराल बन्ने खतरा बढ्दै गएको छ ।

अब कोरोना संक्रमणबाट जोगिन सरकारको मुखमात्रै ताकेर हुँदैन । अमेरिका, युरोपजस्ता देशहरुले त आफ्ना जनतालाई संक्रमणबाट जोगाउन सकेनन् भने, नेपालजस्तो स्रोत साधनको कमी भएको देशले कसरी थेग्न सक्ला भन्ने प्रश्न एकातिर छ भने, अर्कोतिर नागरिक समाज आफैँ सजग हुनुपर्ने अवस्था आएको छ । कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने हरेक कुरामा नागरिक आफैँले ध्यान दिनुपर्छ ।

कोरोना संक्रमितलाई गरिने अन्तिम उपचार भनेको भेन्टिलेटर हो । त्यसको हरेक अस्पतालमा व्यवस्था गरिनुपर्छ । तर, यहाँ कोभिड–१९ का लागि तोकिएका अस्पतालहरुमा बेडहरुको समेत अभाव हुँदै गएको छ । पछिल्लो समयका जसरी संक्रमित बढ्दै गएका छन्, त्यसरी नै बढ्दै गएमा यहाँ विमारी आइसोलेशनकै अभाव मृत्युवरण गर्न बाध्य हुनेछन् । तर, सरकारले त्यसतर्फ ध्यान दिएको छैन । सरकारले कोभिड–१९ का विमारी उपचार हुने अस्पतालहरुको संख्या र हाल उपचार गर्दै आएका अस्पतालहरुका आइसोलेशन वार्ड थप्न ध्यान दिनुपर्छ ।

धेरैले पहिलादेखि ‘सांसद विकास कोषको रकम कोरोना उपचार कोषमा खर्च गर्नुपर्छ’ भनेर माग गर्दै आएका छन् । त्यसैगरी सरकारसँग अन्य यस्ता धेरै कोषहरु छन्, ती कोषको सदुपयोग कोरोना संक्रमितहरुलाई बचाउनुमा गरिनुपर्छ । अस्पतालसम्म पुगेका संक्रमितहरु नयाँजीवन पाएर फर्किएका उदाहरण पनि छन् ।

पछिल्लो तथ्यांकअनुसार २६ हजार ६६० संक्रमितमध्ये १७ हजार ३३५ निको भएर घर फर्किएका छन् । यो तथ्यांक हेर्दा पनि निको हुनेको संख्या बढी छ । सकभर यो रोग आफ्नो शरीरमा संक्रमित हुन नदिने उपाय आफैँले अपनाउनुपर्छ । अहिले बजार, सडक, कार्यालय र सार्वजनिक यातायातको अवस्था हेर्दा भीडभाड नै देखिन्छ । सामान्य नागरिकहरुमा कोरोना संक्रमण होला भन्ने डर नै छैन । त्यस्ता व्यक्ति वा समूहलाई सचेत गर्न सडकमा प्रहरीहरु खटिएका त छन् । तर त्यो नै पर्याप्त छैन । त्यसका लागि वडा तहदेखि नै स्थानीय निकाय परिचालित गरिनुपर्छ । त्यसमाथि अस्पतालहरुमा संक्रमण बढ्यो भनेर अस्पताल ‘सील’ गरेर अस्पताल नै बन्द गरिएको छ ।

यसरी धमाधम अस्पतालहरु बन्द भयो भने, अन्य रोगका उपचार गर्न कहाँ जाने ? यसले थप समस्या उत्पन्न हुने हुँदा सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्छ र सबै सरकारी तथा निजी, अस्पताललाई सञ्चालन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्