Logo
Logo

अवैध मिर्गाैला प्रत्यारोपणलाई बैधता ? यसरी भयो मुद्दामा चलखेल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ भदौ । नक्कली भान्जा खडा गरी मिर्गाैला प्रत्यारोपण गरेको घटनामा संलग्नहरुले ‘उन्मुक्ति’ पाएका छन् । जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नै परिवर्तन गरी ‘पीडित’लाई नै अभियुक्त बनाएपछि सबै जना छुटेका छन् । जिल्ला अदालत ललितपुरले चिकित्सक, वकिल, प्रहरी, कर्मचारी, वडाअध्यक्ष लगायत सबैलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले मानव शरिरको अंग प्रत्यारोपण ऐन २०५५ अुनसार दुई साताअघि जिल्ला अदालतमा २० जनालाई मुद्दा दायर गरेको थियो । मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानब बेचबिखन मुद्दा चलाउन सिफारिस गरेकोमा सरकारी वकिल कार्यालयले मुद्दा परिवर्तन गरेपछि जाहेरवाला नै अभियुक्त बनेका हुन् । चिकित्सक, वकिल, प्रहरी तथा वडाअध्यक्ष पक्राउ परेको यो घटनामा चिकित्सक, कर्मचारी र वडा अध्यक्षलाई मतियारका रुपमा मात्र प्रस्तुत गरिएको छ । अत्याधिक दबाब आएपछि प्रहरीले समेत यसमा अप्रत्यक्ष रुपमा सघाएको थियो ।

गत वर्ष जेठमा चितवनको कलेज अफ मेडिकल साइन्समा भएको मिर्गाैला प्रत्यारोपणमा नक्कली नाता खडा गरी मिर्गाैला प्रत्यारोपण भएको खुलेको थियो । प्रहरीले सुरुमा पीडित सन्तोष राईको जाहेरी लिएर घटनाको अनुसन्धान गरेको थियो । अहिले उनलाई नै पक्राउ गरी प्रतिवादी बनाइएको छ । उनले जानी–जानी आफ्नो अंग बिक्रि गरेकाले प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरकी जिल्ला न्यायाधीवक्ता मोना सिंहको भनाइ छ । ‘मिर्गाैला दातालाई झुक्याएको होइन, सबै कुरा थाहा भएर मिर्गाैला बेचेको देखिन्छ, १० लाखमा डिल भएकोमा एक लाख ३३ हजार नपाएपछि उनले उजुरी गरेको देखियो,’ सिंह भन्छिन्,‘झुक्याएको अवस्था नभएकाले हामीले मुद्दा परिवर्तन गरी उनलाई पनि प्रतिवादी बनाएका हौं ।’ मानव शरिरको अंग प्रत्यारोपण ऐनअुनसार थोरै मात्र सजाय हुन्छ । मानव बेचबिखनमा १० वर्षसम्म कैद सजाय हुनेमा मानव शरिरको अंग प्रत्यारोपणसम्बन्धि ऐनमा पाँच वर्षसम्म मात्र सजाय हुन्छ ।

सरकारी वकिल कार्यालयको निर्णयमा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी असन्तुष्ट छ । पर्याप्त प्रमाण भएपनि दबाबको भरमा मुद्दा परिवर्तन गरिएको स्रोत बताउँछ । यसअघि निदान अस्पतालमा यसरी नक्कली नाता खडा गरी भएको घटनामा मानव बेचबिखन मुद्दा नै चलेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले ललितपुरले नै गत वर्ष यस्तै घटनामा मानव बेचबिखन मुद्दा चलाएको थियो । त्यतीबेला प्रतिवादीहरु जेल चलान भएकोमा अहिले सबै छुटेका छन् । अर्थात्, एउटा अपराध व्यक्तिहरु फरक फरक मुद्दा बनेको छ ।

मिर्गाैला दातालाई पक्राउ गरेपछि मिर्गाैला ग्रहणकर्ता र उनको परिवारलाई भने पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । ललितपुरमा विष्णुगोपाल बतासको गत वर्ष चितवनको कलेज अफ मेडिकल साइन्सेन्समा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । बतास र उनको परिवारा सदस्य फरार छन् । १३ जना भने प्रहरी हिरासतमै छन् ।

प्रत्यारोपणमा संलग्न चिकित्सकहरू राकेशकुमार बर्मा, डा.सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेती कानुनी सल्लाहकार रमेश काफ्ले र जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकाल, तथा वडा अध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक राजकुमार केसी तथा पूर्व खरिदार नवराज केसीलाई मतियार बनाइएकोमा उनीहरु छुटेका छन् ।

उनको भाञ्जा रिजनवीर जोशीको नाममा कागजपत्र बनाएर राईको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । विदेशमा रहेका जोशीलाई समेत मुद्दा दायर गरिएको छ । चलखेलका आधारमा नाता प्रमाणित गरेको भन्दै ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनलाई समेत पक्राउ गरिएको थियो । यो घटनामा दुई प्रहरी तथा जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकाल समेत पक्राउ परेका थिए । वडाध्यक्ष, चिकित्सक, अस्पतालका कानूनी सल्लाहकार तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई मतियारका रुपमा मात्र अभियोग गरेर मुद्दा दायर गरियो । प्रहरीको अनुसन्धानमा अस्पतालको मिलेमतो समेत खुलेको थियो । तर, उनीहरुको प्रत्यक्ष मिलेमतो नदेखिएको भन्दै मतियार मात्र बनाइएको छ ।

यो मुद्दाले मानव अंग बेचबिखनका घटना बढाउन सक्ने प्रहरी अधिकारी बताउँछन् । ‘अब आफैं फसिन्छ भनेर पीडित कसैले उजुरी दिदैनन्,’एक प्रहरी अधिकारी भन्छन्,‘केही व्यक्तिलाई जोगाउन सरकारी वकिल कार्यालयबाट गलत नजिर राखिएको छ ।’ मानव अंग बेचबिखनमा धेरै जसो आर्थिक समस्यामा परेका व्यक्तिहरुलाई झुक्याएर तथा प्रलोभनमा पारेर अंग निकाल्ने गरिएको छ । उजुरी गर्दा उनीहरुलाई नै अभियुक्त बनाईपछि उजुरी दिनेहरु निरुत्साहित हुने र अवैध प्रत्यारोपण बढ्ने प्रहरी अधिकारीको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्