Logo
Logo

डिआइजी बढुवा : कुन नेताको पछि को ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ भदौ । चार महिनाअघि गृह मन्त्रालयले नेपाल प्रहरीमा हचुवाको भरमा सात डिआईजीको दरबन्दी कटौती ग¥यो । जुन विषयले प्रहरी र गृहबीच सम्बन्ध मात्र चिसिएन तत्कालिन प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली र गृहसचिव महेश्वर न्यौपानेबीच भनाभन नै भयो । बिना कुनै अध्ययन दरबन्दी कटौती गरेर प्रहरी संगठनलाई कमजोर बनाउन लागेको भन्दै तत्कालीन महानिरीक्षक ठाकुर ज्ञवाली सचिवसँग जंगिएका थिए ।

ज्ञवालीको आक्रोश ठिक रहेछ भन्ने अहिले गृह मन्त्रालयले महशुस गरेको छ । आफ्नो गल्ती सच्याएर डिआईजीको दरबन्दी थप्ने प्रक्रिया यतिबेला अघि बढेको छ । समायोजनका लागि तयार गरिएको प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनमा डिआईजीको पाँच दरबन्दी थप्ने प्रस्ताव अघि बढेको छ ।

पाँच डिआइजीको दरबन्दी थप नहुँदै प्रहरीमा बढुवाको दौडधुप भने सुरु भइसकेको छ । पाँच दरबन्दी थपिएका रिक्त दरबन्दी आठ पुग्नेछ । हाल तीन दरबन्दी रिक्त छन् । आठ दरबन्दीमा तीन गुणा बढी एसएसपीहरु प्रतिस्पर्धामा छन् । मन्त्रिपरिषद्बाट आफूहरुले नै दरबन्दी थप्न लबिङ गरेको भन्दै यतिबेला एसएसपीहरु दौडधुपमा लागेका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापाको ब्याचबाट पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलीप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, शौरभ राणा एसएसपीमै छन् । उनीहरु स्वभाविक रुपमा बढुवाका दाबेदार हुन् । उनीहरुमध्ये देवबहादुर बोहराले भीम रावलको पावर लगाएका छन् भने गणेश ऐरलाई प्रचण्डको साथ छ । यसअघिको बढुवामा ऐरलाई छुटाएको भन्दै प्रचण्ड रिसाएका थिए । शौरभ राणा हालै निलम्बन फुकुवा भएकाले उनको सम्भावना कमजोर छ । तर, पछिल्लो ब्याचका एसएसपीहरु यतिबेला शक्तिशाली छन् ।

पछिल्लो ब्याचबाट दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादब, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नल प्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ लगायत पनि प्रतिस्पर्धामा छन् । ब्याचबाट आईजिपीकै प्रतिस्पर्धीका रुपमा हेरिएका लोहनी सुन काण्डमा फसेपछि बढुवामा पछि परे । पूजा सिंह पूर्व राष्ट्रपति डा रामवरण यादबको पावर लगाएकी छिन् । तर, काभ्रेमा हुँदा आर्थिक अनियमितता गरेको घटनाले उनलाई समस्या हुने देखिन्छ । नरबहादुर खत्री गृह जिल्ला गुल्मीका नेकपा नेताहरुकोमा धाइरहेका छन् । मोहन आचार्य प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको पावरका भरमा डिआईजी हुने सपनामा छन् । मसाउद आलम खाँ मुस्लिम समुदायको व्यक्तिलाई पनि प्राथमिकता दिनुपर्ने भन्दै लबिङमा छन् । नल प्रसाद उपाध्यायले यसअघि नै बढुवामा पर्न गृहमन्त्री निकट व्यक्तिलाई ३० लाख दिएको स्रोत बताउँछ । जसमध्ये १५ लाख उनले फिर्ता लिएका छन् भने बाँकी पैसा यसपटक बढुवाका लागि भनेर छाडेको उच्च स्रोत बताउँछ ।

त्यस्तै जुनियर ब्याचबाट एसएसपी सन्दीप भण्डारी पनि विगतमा विश्वराज पोखरेलमै शैलीमा ब्याचका सबैलाई उछिनेर बढुवा हुने दाउमा छन् । तर, उनको चलखेल रोक्न ब्याचकै अन्य एसएसपीहरु लागेको स्रोत बताउँछ । कार्यसम्पादन मूल्याङकनको काम नसकिएकाले बढुवा भने असोजमा मात्र हुने स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्