Logo
Logo

लकडाउनमा काका–भतिजको लुटधन्दा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ भदौ । कोरोना संकटका कारण देशभरी अनेक समस्या बढ्न थालेका छन् । प्रहरीमा उजुरी बढ्न थालिसकेको छ । प्रहरीमा पर्ने उजुरीमध्ये धेरै जसो आर्थिक कारोबारसम्बन्धि हुने गरेका छन् । आर्थिक कारोबारमा विश्वासघातका घटना बढ्न थालेका छन् ।

लकडाउनपछि सहकारी क्षेत्रमा पनि ठूलो समस्या हुने देखिएको छ । कतिपय सहकारीहरु लकडाउनकै अवधिमा भाग्न समेत थालेका छन् । भक्तपुरको एक सहकारीले पनि २५ सय सर्वसाधारणको रुवाबासी बनाएको छ । सूर्य बिनायकस्थित हितैषी ऋण तथा सहकारी संस्थाले यसरी ठगी गरेको हो । सो सहकारीका अध्यक्षसहितका सञ्चालकलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले संस्थाको करोडौं हिनामिना गरेका छन् ।

अध्यक्ष सन्तोष न्यौपाने, उपाध्यक्ष उद्धव शर्मा, कोषाध्यक्ष राजन न्यौपाने, सचिव दीपक सिलवाल तथा सदस्यहरु नानीराम न्यौपाने, करुणा ढुंगेल, उद्धव श्रेष्ठ र व्यवस्थापक बिजय बस्नेतले यसरी ठगी धन्दा मच्चाएका हुन् । उनीहरु यतिबेला ठिमी प्रहरी वृत्तको हिरासतमा छन् ।

हाल अध्यक्ष रहेका सन्तोष न्यौपानेले यही सहकारीबाट एक करोड भन्दा धेरै कमाइसकेका छन् । सुरुमा उनी व्यवस्थापक थिए । उनका काका नानीराम न्यौपाने ११ वर्ष सहकारीको अध्यक्ष थिए । काका–भतिज मिलेर सहकारी ठगी गरेको प्रहरी अधिकारीहरु बताउँछन् । सहकारीले सर्वसाधारणको आठ करोड रुपैया तिर्न बाँकी छ । त्यसमध्ये धेरै जसो निम्न आय भएकाहरु छन् ।

यो एउटा प्रतिनिधि घटना मात्र हो । अन्य सहकारीविरुद्ध समेत प्रहरीमा उजुरी बढेको स्रोत बताउँछ । सहकारी क्षेत्रमा नियमन नै नहुने भएकाले यस्तो ठगी बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्