Logo
Logo

मोदीले बुझेको ‘डायस्पोरा’ शक्ति


डा. दीपेश केसी

1.7k
Shares

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सम्मेलनमा भाग लिने क्रममा पाँच देशको भ्रमणलाई कार्यतालिकामा पारेका छन् । अफ्रिकाको घानाबाट सुरु गरेको भ्रमण दक्षिण अमेरिका हुँदै अफ्रिकाकै नामिबियामा पुगेर टुंग्याउँदै मोदी भारत फर्कने तय भयो । उनी जहाँ पुगे त्यहाँ भारतीय मूलका नागरिकहरूसँग भेटे । भारतीय ‘डायस्पोरा’ले मोदीको भव्य स्वागत गरे ।

मोदीले पनि उनीहरूको भारतसँगको कनेक्टिभिटी बढाउने सन्देश दिए । ‘डायस्पोरा’प्रति मोदीको सद्भावले उनको भारतबाहिर लोकप्रियता मात्र बढेन प्रभाव पनि बढ्न पुग्यो । विश्व राजनीतिमा मोदी मजबुत देखिनुमा ‘डायस्पोरा’ शक्तिले दिएको ऊर्जा पनि हो ।

संसारमा कुनै देश नहोला, जहाँ भारतीय मूलका नागरिकहरू नहुन् । भारत संसारकै सबैभन्दा बढी ‘डायस्पोरा’ भएको देशका रूपमा चिनिन्छ । ३ करोडभन्दा बढी भारतीय मूलका नागरिकहरू भारतबाहिर बसोबास गर्छन् । सन् २०२४ मा भारतको विदेश मन्त्रालयले लगभग ३ करोड ५४ लाख भारतीय ‘डायस्पोरा’को सङ्ख्या निकालेको छ ।

जसमा १ करोड ५८ लाख गैर आवासीय भारतीय र १ करोड ९५ लाख भारतीय मूलका नागरिकहरू छन् । सबैभन्दा बढी अमेरिकामा ५४ लाख, दोस्रोमा युएईमा ३६ लाख भारतीय ‘डायस्पोरा’ छन् । उनीहरूले भारतका लागि आर्थिक योगदान पनि गरेकै छन् । भारतको संस्कृतिलाई विश्वभर परिचित गराउन पनि योगदान गरेका छन् । ‘डायस्पोरा’का कारण संसारभर भारतीय खानामा आकर्षण बढ्दै गएको छ । योग संसारभर लोकप्रिय बनेको छ ।

मोदीले घाना, ट्रिनिडाड एण्ड टोबागो, अर्जेन्टिना र ब्राजिलको भ्रमण गरिसके । त्यहाँ भारतीय ‘डायस्पोरा’सँग भेटे । उनीहरूले बचाएको भारतीय संस्कृतिको प्रदर्शन अवलोकन गरे । ट्रिनिडाड एन्ड टोबागोमा भारतीय ‘डायस्पोरा’को परम्परागत खाना खाए । जसमा पूजामा समेत चढाइने सोहारीको पातमा खाना खाने परम्परा पनि थियो । विहारमा दरिलो आधार बनाएको भोजपुरी संस्कृति हो सोहारीको पातमा खाना खाने परम्परा ।

मोदीले भारतीय मूलकी हिन्दू धर्मालम्बी ट्रिनिडाड एन्ड टोबागोकी प्रधानमन्त्री कमला पेरसाद बिसेसरसँग सोहारीको पातमै खाना खाए । भारतीय मूलका त्यहाँका बासिन्दाबाट भोजपुरी संस्कृति झल्कने प्रदर्शनहरू अवलोकन गरे । कमलाका लागि अयोध्या भएर बग्ने सरयू नदी र महाकुम्भ मेला ताकाको पवित्र जल उपहारका रूपमा दिए । अयोध्याको राम मन्दिरको प्रतिरूप पनि प्रदान गरे ।

डायस्पोरालाई सांस्कृतिक सम्बन्धबाट जोड्ने कदमहरू चालेको सन्देश दिए । ट्रिनिडाड एन्ड टोबागोका भारतीय मूलका छैठौं पीढीका लागि ओसीआई अर्थात् गैरआवाशीय नागरिकता कार्ड प्रदान गर्ने घोषणा गरे । उनले त्यहाँ रहेका भारतीय मूलका नागरिकको भारतसँगको कनेक्शनलाई बढाउने नीति पनि खुलाए । प्रधानमन्त्री कमलालाई भारतीयहरुले विहारको छोरीका रूपमा लिने गरेको बताए । पोर्ट अफ स्पेनमा भोजपुरी चौतालाको प्रस्तुति हेरे ।

नयाँ पीढीका भारतीय मूलका युवासँग भेटे । उनी जुन देशमा पुगिरहेका छन् त्यहाँ भारतीय मूलका नागरिकहरूसँग भेट्ने कार्यक्रमहरूमा सरिक हुँदै आएका छन् । उनको स्वागतमा भारतीय मूलका नागरिकहरू उल्लेख्य सङ्ख्यामा भ्रमण मुलुकमा पुग्ने गरेको दृश्यहरू विगतमा जस्तै यसपटक पनि देखिए । घानामा भारतीय ‘डायस्पोरा’हरू मोदीलाई भेट्न भेला भएका थिए । राजधानी आक्रामा ‘डायस्पोरा’को उल्लेख्य सङ्ख्या उपस्थित थिए मोदीको स्वागतमा ।

मोदीले संसारभर रहेका साढे तीन करोड भारतीय ‘डायस्पोरा’लाई ‘भारतको शान’ भने ट्रिनिडाड एन्ड टोबागोमा । ‘डायस्पोरा’लाई मोदीले कूटनीतिक अस्त्रका रूपमा लिएको विश्लेषण नभएको होइन । मोदीको सांस्कृतिक कूटनीतिमा ‘डायस्पोरा’को महत्त्वपूर्ण भूमिका देखिन थालेको छ ।

अर्कोतर्फ, भारतको तीव्र आर्थिक विकासको महत्वाकांक्षा पूरा गर्न बाह्य व्यापारमा ‘डायस्पोरा’को योगदान पनि देखिन थालेको छ । भारतीय मूलका लक्ष्मी मित्तल बेलायतकै धनी हुन् । दक्षिण अफ्रिकाका नामी व्यावसायिक घराना गुप्ता परिवार भारतीय मूलकै हुन् । यसकारण पनि मोदीले ‘डायस्पोरा’लाई भारतको पनि पूँजी भनिरहेका छन् ।

‘डायस्पोरा’को पूँजी, प्रविधि र क्षमतालाई राष्ट्र हितमा प्रयोग गर्ने कौशल विश्वका कमै नेताहरूमध्ये मोदीले पनि देखाएका छन् । ‘डायस्पोरा’लाई भारतमा लगानीका लागि वातावरण विकास गरेका छन् । यतिमात्र नभई ग्रामीण विकास देखि गँगा नदी सफाइ अभियानमा समेत सहभागी गराए ।

अयोध्याको मन्दिर निर्माणमा भारतीय ‘डायस्पोरा’बाट समेत आर्थिक सहयोग जुटाउन सके मोदीले । ‘डायस्पोरा’को शक्ति र त्यसबाट प्राप्त गर्न सक्ने लाभको दायरा निकै ठूलो देखेर मोदीले अध्ययन नै गर्न लगाए । संसारभर रहेका भारतीय ‘डायस्पोरा’को विवरण संकलन गर्न निर्देशन दिए । एक अध्ययनका अनुसार भारतीय ‘डायस्पोरा’को कुल सम्पत्ति १० खर्ब डलर रहेको छ । जसमध्ये आधा वित्तीय सम्पत्ति हो ।

यो यथार्थलाई गहिरोसँग बुझेका मोदीले ‘डायस्पोरा’लाई भारतको विकासमा जोड्ने नीति सारेका हुन् । यसका लागि उनले संस्कृति, विचार र विदेश नीतिलाई माध्यम बनाएका छन् । योगा होस् या अन्य दक्षिण एशियामा चल्तीका सांस्कृतिक अभ्यास नै किन नहोस् विश्व व्यापी स्थापित गराउन ‘डायस्पोरा’को निकै महत्त्वपूर्ण भूमिका रह्यो । त्यसमाथि पनि भारतीय ‘डायस्पोरा’ले योगलाई अन्तर्राष्ट्रिय रुपमै दिवसका रूपमा मनाउने अवस्था निर्माणमा योगदान गरे ।

‘डायस्पोरा’को भूमिका र प्रभावकारिताले वर्तमानमा भारतको प्रतिष्ठा विश्वभर बढ्न पुगेको छ । कुनैबेला भारतलाई भोकमरी, अशिक्षा र गरिबीले आक्रान्त देशका रूपमा लिइन्थ्यो विश्वभर । वर्तमानमा भारतीय ‘डायस्पोरा’हरूले प्राप्त गरेका उचाईले भारतको समेत प्रतिष्ठा चुलिएको छ । भारतीय मूलकी कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति बनिन् ।

उनी डेमोक्रयाटिक पार्टीबाट डोनाल्ड ट्रम्पसँग राष्ट्रपतिको प्रतिष्पर्धामा उत्रिएर पराजित भइन् २०२४ मा । भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बने । भारतीय मूलका नाम चलेका वैज्ञानिक, साहित्यकार, कलाकार विभिन्न देशमा छन् । उनीहरूको प्रभावलाई बुझेर मोदीले सरकारी तहबाटै खोजी खोजी सम्पर्क स्थापित गराए । लगानी अभिवृद्धि गराए ।

२२ सेप्टेम्बर २०१९ मा हाउडी मोदी नाम दिएर अमेरिकाको टेक्सासमा भारतीय ‘डायस्पोरा’को आयोजनामा वृहत्त सम्मेलन आयोजना गरिएको थियो । ५० हजार भारतीय मूलका अमेरिकी सहभागी भएको सम्मेलन निकै चर्चामा आयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी उक्त सम्मेलनबाट ‘डायस्पोरा’को शक्ति र मोदीले त्यसलाई आफ्नो राष्ट्रहितमा कसरी ढालिरहेछन् भन्ने देखिएको थियो । उनले अन्तर्राष्ट्रिय तहमा भारतीय मूलका नागरिकहरूको ज्ञान, आर्थिक क्षमता, राजनीतिक प्रभाव, सांस्कृतिक पहुँच, सामाजिक प्रभावलाई भारतको अधिकतम हितमा लगाउने नीति अन्तर्गत ‘डायस्पोरा’सँग सम्पर्क बढाइरहेका छन् ।

प्रविधिको द्रुत विकाससँगै राष्ट्रका सीमाहरू भित्र मात्र नागरिकहरू सङ्कुचित भइरहन तयार छैनन् । नागरिकहरू विश्वका कुना काप्चामा अवसरको खोजीमा फैलिइरहेका छन् । तिनले संस्कृतिलाई साथमा लिएर गएका छन् । तिनलाई मूल थलोसँग जोडेर राख्न सके उक्त समाजले अधिकतम लाभ लिन सक्छ । मोदीले विश्वभर छरिएका भारतीय ‘डायस्पोरा’लाई संस्कृति, अर्थतन्त्र, भाइचाराका माध्यमले जोडिरहेका छैनन् मात्र भारतको प्रभाव विश्वव्यापी बनाउने रणनीतिका रूपमा पनि सदुपयोग गरिरहेका छन् ।

भारतीय ‘डायस्पोरा’ जुन देशमा छन् ती देशमै संगठित गराउन मोदी सफल भएका छन् । संगठित भारतीय ‘डायस्पोरा’को प्रभाव अमेरिका र बेलायतको चुनावमा पनि देखियो । मौरिसस, फिजी, ट्रिनिडाड एन्ड टोबागो जस्ता देशहरुमा भारतीय मूलका नागरिकहरू शासनसत्ताको बागडोर सम्हाल्ने हैसियतमा पुगिसके । मोदीले यसकारण पनि ‘डायस्पोरा’को शक्तिलाई बुझे । तिनको साथ लिन जाने र साथ दिन पनि जाने ।

मोदी जुन देश पुगे त्यहाँ भारतीय ‘डायस्पोरा’को माया र साथ पाए । ‘डायस्पोरा’को समेत सामथ्र्य शक्तिलाई बुझेर उनीहरूको ज्ञान, पूँजी र क्षमतालाई मूलथलो राष्ट्रले सदुपयोग गर्न सके त्यो राष्ट्र र समाज अझ द्रुत गतिमा प्रगति गर्न सक्छ । मोदीले पुस्तौं विदेशमा बसिसकेका भारतीय मूलका ‘डायस्पोरा’लाई खोजी खोजी मूलथलोसँग जोड्ने नीतिबाट एकातर्फ देशलाई लाभ दिलाइरहेका छन् अर्कोतर्फ भारतीय संस्कृतिलाई विश्वव्यापी बनाइरहेछन् ।

प्रतिक्रिया दिनुहोस्