
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पारिश्रमिक बढेकोमा खुसी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत श्रम विना प्रगति सम्भव नभएको र श्रमिकको सम्मान विना समृद्धि सम्भव नहुने पनि स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ’श्रम बिना प्रगति सम्भव छैन र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन ।’ साथै प्रधानमन्त्री ओलीले विगतमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गरेर श्रमिकको भविष्य सुरक्षाको दिशा तय गरिएको पनि स्मरण गराएका छन् ।
‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेका थियौँ । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्,’ उनले भनेका छन्, ‘सरकारले हिजो (साउन १ गते)देखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको छ । श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुनेछ । जय श्रमिक, जय नेपाल ।’
उनका अनुसार सो कार्यक्रममार्फत् हालसम्म करिब २१ लाख श्रमिक सहभागी भइसकेका छन्, जुन श्रमिकमैत्री नीतिको महत्वपूर्ण उपलब्धि हो ।














