काठमाडौं । अझै कतिपयलाई थाहा छैन, रञ्जिता लिम्बू गीत पनि गाउँछिन् । जतिलाई थाहा छ, उनी राम्रो गाउँछिन् । रञ्जिता लिम्बू मोडलिङमार्फत चर्चामा आएकी हुन् । त्यसैले पनि रञ्जिताप्रति दर्शक तथा श्रोताको हेर्ने नजर फरक-फरक पाइएको हो ।

यिनै मोडल तथा गायिका रञ्जिता लिम्बूले गाएको नयाँ गीत सार्वजनिक भएको छ । पुर्वेली लोकभाकामा तयार पारिएका ‘बुट्टे झोलीमा’ बोलको यस गीतमा रञ्जितालाई मेल भोकलमा परेश राईले साथ दिएका छन् । लोकभाकामा गाइएको भएपनि पनि गीत मेलोडियस छ । जसले गर्दा यो गीत चाँडै दर्शक तथा श्रोताको मन-मुटु र ओठमा झुण्डिन सक्ने अपेक्षा गायिका रञ्जिताले गरेकी छन् ।
‘बुट्टे झोलीमा’ बोेलको यस गीतमा शब्द तथा संगीत शशि गुरुङको रहेको छ । ‘सिँगौरी’जस्ता चर्चित गीतका सर्जक शशिका थुप्रै लोकशैलीका गीतहरु हिट छन् । ‘सिँगौरी’ हिट भएपछि थप हौसिएका गीतकार एवं संगीतकार शशि गुरुङले ‘बुट्टे झोलीमा’ बोलको यस गीतलाई पनि छमछम नाच्न मिल्ने बनाएका छन् । मेलापात र हाटबजारमा नाच्न मिल्नेगरी बनाइएको यो गीतमा रञ्जिताको स्वरलाई म्याचिङ गरेको छ ।
गायनमा लाग्नुअघि रञ्जिताले थुप्रै गीतमा मोडलिङ गरिसकेकी थिइन् । पुर्वेली लोकगीतदेखि मोर्डनसम्ममा मोडलिङ गर्दै आएकी रञ्जिताले ‘बुट्टे झोलीमा’ गीतको भिडियोमा आफैंले मोडलिङ गरेकी छन् ।
पुर्वेली शैलीमै फिल्मांकन गरिएको यस भिडियोमा रञ्जितासँगै २०२५ का मिस्टर नेपाल सन्तोष लक्सुम लिम्बू र चर्चित हास्य अभिनेता बुद्धि तामाङले अभिनय गरेका छन् । दिनेश माङ्मुले निर्देशन गरेको यस भिडियोलाई गायिका रञ्जिता लिम्बूकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
रञ्जिताले यस गीतबाट दर्शक तथा श्रोताको माया र हौसलाको अपेक्षा गरेकी छन् । उनले दर्शक एवं श्रोतासँग आग्रह गर्दै भनिन्, ‘पछिल्लो पटक पुर्वेली लोकगीत गाउने प्रयास गरेकी छु, मलाई सुनेर प्रतिक्रिया दिनुहोला ।’











