काठमाडौं । तेलुगु सिनेमाका प्रसिद्ध हास्य कलाकार तथा अभिनेता फिश वेंकटको निधन भएको छ । उनले जुलाई १८ मा ५३ वर्षको उमेरमा निधन भएको हो ।

अभिनेता केही महिनादेखि मिर्गौलाको समस्याबाट पीडित थिए । फिश वेंकट ‘गब्बर सिंह’ र ‘डीजे टिल्लु’ जस्ता चलचित्रका लागि परिचित छन् । फिश वेंकट केही महिनादेखि मिर्गौलाको उपचार गराइरहेका थिए । उनको डायलाइसिस भइरहेको थियो । अभिनेतालाई मिर्गौला प्रत्यारोपण आवश्यक थियो ।
यस्तै फिश वेंकट आर्थिक सङ्कटको सामना गरिरहेका थिए । उनलाई पवन कल्याण र विश्वक सेनले उपचारका लागि आर्थिक सहयोग गरेका थिए । उपचारको क्रममा उनले मिर्गौला दाता भेट्टाउन सकेनन् । हैदराबादको पीआरके अस्पतालमा मिर्गौला फेल भएका कारण उनको मृत्यु भएको हो ।
फिश वेंकटको जन्म सन् १९७१ मा आन्ध्र प्रदेशको मछलीपट्टनममा भएको थियो । आफ्नो अभिनय करियरमा फिश वेंकटले १०० भन्दा बढी फिल्ममा काम गरेका थिए । उनी सहायक र हास्य भूमिकाका लागि प्रसिद्ध थिए ।
२००० मा उनले फिल्म समक्का सरक्काबाट अभिनयको दुनियाँमा प्रवेश गरे । उनी प्रायः पर्दामा खलनायकको भूमिकामा देखिएका थिए। साथै, उनले केही फिल्ममा हास्य कलाकार बनेर मानिसलाई हँसाए ।
उनले ‘अधूर’,‘गब्बर सिंह’, र ‘डीजे टिल्लु’ जस्ता चलचित्रबाट आफ्नो छाप छोडे। आज उनी यो संसारमा छैनन्, तर उनले निर्वाह गरेका पात्रहरू अझै पनि प्रशंसकहरूको मनमा जीवित छन् ।











