काठमाडौं । कलाकार तथा निर्देशक सागर केरुङद्वारा निर्माण तथा निर्देशित लिम्बु भाषाको फिल्म ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ । १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा प्रदर्शन हुने भएको हो ।
कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा मंगलबार पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो । याक्थुङ मुन्चइत चोक सयङ हङकङले प्रदर्शन गर्ने तयारी गरिरहेको हङकङका वरिष्ठ उपाध्यक्ष भवेन्द्र थाम्सुहाङले जानकारी दिए ।

थाम्सुहाङका अनुसार याक्थुङ मुन्चइत चोक सयङले सञ्चालान गरिरहेको लिम्बु कलाकारहरुलाई सम्मानस्वरूप सामाजिक सुरक्षाभत्ता दिने लगायतका अभियानहरु सफल पार्न विविध कार्यक्रमहरु आयोजना गरिरहेको बताए । यसका अलावा ४ अक्टोबर २०२५ मा सौल कोरियामा र २७ नोभेम्बर २०२५ मा दमाम साउदी अरबियामा प्रदर्शन मितिको घोषणा गरेका हुन् ।
फिल्म ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भइरहेका छन् ? भन्ने कथा हो अर्थात् लासको कथामाथि निर्माण गरिएको फिल्म हो । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । विकासको नाममा भत्काई रहेको याक्थुङ आदिवासीहरुको समाधिस्थल सकिएपछि याक्थुङ समुदायमा चे÷लासनै प्रमुख समस्याकोरुपमा उभिएको यथार्थ घटनालाई चित्रण गरिएको छ ।
चलचित्रमा सागर केरुङ, बिमला खजुम, यासेली योङहाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, रत्ना लिङ्देन लावती, नरेन्द्रराज केरुङ, पूर्ण सेलीङ्, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ, कर्णहाङ् सुब्बा ताम्लिङ लगायतले अभिनय गरेका छन् ।
याक्थुङ फिल्मसको ब्यानरमा निर्मित यस फिल्ममा निर्देशनसँगै लेखन र निर्माण पनि सागरकै रहेको छ । यस फिल्ममा छायांकन युबराज राई, निर्माता इन्दु फोम्बो र सवु लिम्बु थाम्सुहाङ रहेका छन् ।
यो फिल्मले पाँचौ आदिवासी जनजाती चलचित्र महोत्सव–२०८२ मा विशेष चलचित्र अवार्ड प्राप्त गरेको थियो भने यसै फिल्मबाट निर्देशक सागर केरुङले राष्ट्रिय चलचित्र सम्मान तथा पुरस्कार–२०८१ बाट विशेष चलचित्र सम्मान पाएको छ ।











