काठमाडौं । आदिवासी चलचित्र लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा पहिलोपटक आयोजित ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल–२०२५’ मा केरुङलाई उकृष्ट निर्देशक जुरी अवार्ड प्रदान गरिएको हो ।

यसअघि उनले राष्ट्रिय÷अन्तराष्ट्रियस्तरको दर्जनौं अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेका छन् । विगत दुई दशकदेखि चलचित्र लेखन तथा निर्देशनमा क्रियाशील केरुङले चलचित्र ‘चे’मार्फत उक्त अवार्ड हासिल गरेका हुन् ।
चलचित्र ‘चे’ले लिम्बूहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भइरहेका छन् ? भन्ने कथा उठाएको छ । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । विकासको नाममा भत्काइरहेको याक्थुङ आदिवासीहरुको समाधिस्थल सकिएपछि याक्थुङ समुदायमा चे÷लास नै प्रमुख समस्याको रुपमा देखिएको यथार्थ घटनालाई चलचित्रमा चित्रण गरिएको छ ।
‘चे’ले याक्थुङ सिने अवार्ड–२०८१, पाँचौ आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२, बिराट म्युजिक एण्ड फिल्म्स अवार्ड–२०८१, बिशेष चलचित्र पुरस्कार–२०८१ (चलचित्र विकास बोर्ड), लगायतका महोत्सव र अवार्डहरुमा उत्कृष्ट अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेको छ ।
फेस्टिभलमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, एडिन्बराका सांसद फेजल चौधरी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । नेपाल स्कटल्याण्ड एसोसिएसनसँग फेष्टिभल आयोजनका लागि नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश नं.१ ले सहकार्य गरेको चलचित्रकर्मी महासंघका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।
महोत्सवमा उत्कृष्ट अभिनेता दयाहाङ राई, उकृष्ट निर्देशक मिलन चाम्स, उत्कृष्ट अभिनेत्री मिरुना मगर, उत्कृष्ट चरित्र अभिनेता माओत्से गुरुङलगायत लघुचलचित्र, डकुमेन्ट्री, आदिवासी जनजाति चलचित्र र आदिवासी विषयमाथि बनेका चलचित्रहरुलाई २० विधामा अवार्ड वितरण गरिएको थियो ।
चलचित्र ‘चे’ आगामी १७ अगष्ट २०२५ मा हङकङमा, ४ अक्टोबर २०२५ मा सौल कोरियामा र २७ नोभेम्बर २०२५ मा दमाम साउदी अरबियामा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।











