काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्नेहरूलाई प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक ऐनमार्फत यो व्यवस्था लागू गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

उनले जनगुनासो र हटलाइनमा आएका उजुरीका आधारमा यस्तो नियम बनाइएको जानकारी दिए । यसैगरी, महानगरले अनधिकृत पार्किङमा पनि जरिवाना तोकेको छ । मोटरसाइकल/स्कूटरलाई १,०००, कार/जीपलाई २,५००, मिनीबस/मिनीट्रकलाई ३,५०० र ठूला सवारीलाई ५,००० जरिवाना गरिनेछ ।
सार्वजनिक स्थानमा अनुमतिविना विज्ञापन, पर्चा, पोष्टर टाँस्ने, पेन्टिङ गर्ने वा फोहर गर्ने कार्यमा ५,००० देखि १,००,००० सम्म जरिवाना तोकिएको छ । रुख–बिरुवामा क्षति पुर्याएमा ५०० देखि ५०,००० सम्म जरिवाना लाग्नेछ ।














