काठमाडौं । भारतीय रक्षा अनुसन्धान तथा विकास सङ्गठन (डीआरडीओ) ले ड्रोनद्वारा सञ्चालित अत्याधुनिक मिसाइल यूएलपीजीएम-वी३ को सफल परीक्षण गरेको छ । बीबीसी हिन्दीका अनुसार, यो मिसाइल आन्ध्र प्रदेशको कुर्नूलस्थित राष्ट्रिय परीक्षण दायरामा प्रहार गरिएको थियो ।

यो मिसाइल विभिन्न प्रकारका लक्ष्यमा आक्रमण गर्न सक्षम छ र समतल भूभागदेखि उच्च उचाइसम्म प्रभावकारी रूपमा प्रहार गर्न सकिन्छ । यसको मुख्य विशेषता भनेको विभिन्न युद्ध हेडहरू जडान गरी लक्ष्य नष्ट गर्न सक्नु हो । डीआरडीओका अनुसार, यो मिसाइल दिन वा रात, कुनै पनि मौसममा सटीक प्रहार गर्न सक्षम छ ।
यो मिसाइल बेंगलुरुस्थित भारतीय स्टार्ट९अप कम्पनी न्यूस्पेस रिसर्च टेक्नोलोजीजले विकास गरेको हो र ड्रोनमार्फत प्रहार गरिएको छ । डीआरडीओले लामो दूरी र लामो समय उडान गर्न सक्ने ड्रोनहरूमा यो मिसाइल एकीकृत गरी सेनाको क्षमता वृद्धि गर्ने योजना बनाएको छ ।
रक्षामन्त्री राजनाथ सिंहले यो उपलब्धिका लागि डीआरडीओ र संलग्न कम्पनीहरूलाई बधाई दिँदै भारतले उन्नत रक्षा प्रविधि आफैँ विकास गर्न सक्षम भएको बताए । डीआरडीओका अध्यक्ष डा। समीर वी कामतले यो मिसाइल समयको माग भएको र यसले भारतीय सेनालाई उल्लेखनीय शक्ति प्रदान गर्ने उल्लेख गरे ।










