मकवानपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले बागमती प्रदेश सरकार संकटमा परेको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेश सभापति इन्द्र वानियाँ एक–अर्काविरुद्ध शक्ति प्रदर्शनमा उत्रिएसँगै सरकार परिवर्तनको सम्भावना बलियो बनेको छ । दुवै नेताले प्रदेशसभा सदस्यहरूलाई आफ्नो पक्षमा पार्न तीव्र कसरत गरिरहेका छन् ।

कांग्रेसभित्रको यही शक्ति संघर्षले बागमती प्रदेशको राजनीति अहिले तरंगित बनेको छ । मुख्यमन्त्री लामाविरुद्ध कांग्रेस संसदीय दलमै अविश्वास प्रस्ताव दर्ता भएसँगै उनको नेतृत्वमा रहेको सरकार डगमगिएको छ ।
सभापति शेरबहादुर देउवाको नजिक मानिने लामा र वानियाँबीच पछिल्लो समय वर्चस्वको द्वन्द्व चुलिएको हो । वानियाँ पक्षले २१ जना सांसदको हस्ताक्षरसहित लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि लामा सत्ता जोगाउन संघर्षरत छन् ।
उता वानियाँले प्रदेशसभा सदस्यहरूलाई आफ्नो पक्षमा राख्न व्यस्त छन् । मुख्यमन्त्री लामा भने अविश्वास प्रस्ताव असफल पार्ने वा फिर्ता गराउने प्रयासमा जुटेका छन् । कांग्रेसका ३७ जना प्रदेशसभा सदस्यमध्ये २५ प्रतिशतको समर्थनमा अविश्वास प्रस्ताव पारित हुने सम्भावना रहेको छ ।
प्रस्ताव असफल पार्न कठिन देखिए पनि लामाले वानियाँ पक्षमा रहेका सांसदलाई आफूतर्फ तान्दै संख्या १९ भन्दा तल झार्ने रणनीति लिएका छन् । संसदीय दलको नेताका रूपमा टिक्न लामा कम्तीमा १९ सांसदको समर्थन आवश्यक पर्छ ।
यो संकट समाधानका लागि पार्टी केन्द्रले संघीय सांसद राजन केसीलाई समन्वयको जिम्मा दिएको छ । केसीले आज दिउँसो १ बजे दुवै पक्षका सांसदहरूलाई छलफलका लागि बोलाए पनि बैठक नबसी स्थगित भएको छ । अब बैठक मंगलबार बिहान ११ बजेका लागि तय गरिएको छ ।
सो बैठकमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा रहेका सांसदहरूको औपचारिक शक्ति परीक्षण हुने अपेक्षा गरिएको छ । सरकार गठनका बेला लामा र वानियाँबीच १०–१० महिना सत्ता बाँडफाँटको सहमति भएको दाबी पनि सार्वजनिक भएको छ ।
सो सहमति अनुसार १० महिना पछि लामाले सत्ता हस्तान्तरण नगरेको भन्दै वानियाँ पक्ष आक्रोशित बनेको हो । करिब २० महिना सरकारको नेतृत्व गरिसकेका लामाविरुद्ध आफ्नै पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।











