काठमाडौं । थाइल्यान्ड र कम्बोडियाले सीमानामा पाँच दिनको लडाइँपछि युद्धविराम गरेका छन् । दुवै देशका नेताहरूले सोमबार मलेसियामा शान्ति वार्ता गरेका हुन् । पाँच दिनको लडाइँमा कम्तीमा ३५ जना ज्यान गएको छ ।

लामो समयदेखि विवादित क्षेत्रमा भएको युद्धमा दुई पक्षले तोप, रकेट र बन्दुक प्रहार गर्दा दुई लाखभन्दा बढी मानिस भागेका छन् । विवादित क्षेत्रमा प्राचीन मन्दिरहरूको समूह छ ।
सन् १९०७ मा कम्बोडियाको फ्रान्सेली औपनिवेशिक प्रशासकहरूले गरेको अस्पष्ट सिमाङ्कनका कारण दुवै पक्षले दाबी गरेको क्षेत्रमा सन् २००८ देखि सन् २०११ मा भएको हिंसापछिको यो सबैभन्दा घातक घटना हो ।
थाई कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइ र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले युद्धविराम गर्ने सहमति जनाएका हुन् । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले युद्धविराम सोमबार मध्यरातबाट लागू हुने जनाएका छन् ।
थाइल्यान्ड र कम्बोडिया दुवै सदस्य रहेको आसियान ब्लकका अध्यक्ष रहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको निवासमा उनीहरूबिच भेट भएको थियो ।
दुवै पक्ष पहिले नै सैद्धान्तिक रूपमा युद्धविराममा सहमत भइसकेका छन् । यद्यपि अर्कोले शान्ति प्रयासहरूलाई कमजोर पारेको आरोप लगाउँदै र क्लस्टर बमको प्रयोग र अस्पतालहरूलाई निशाना बनाउने बारेमा आरोप-प्रत्यारोप गरिरहेका छन् ।
थाइल्यान्डले आफ्ना आठ सैनिक र १४ सर्वसाधारणको मृत्यु भएको बताएको छ भने कम्बोडियाले आठ सर्वसाधारण र पाँच सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । थाई सेनाले लडाइँमा मारिएका १२ कम्बोडियाली सैनिकको शव फिर्ता गरेको छ ।











