काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले साउन १३ गते सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट नायव महानिरीक्षकमा पदोन्नति भएका मनिष थापा, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकबाट वरिष्ठ उपरीक्षकमा बढुवा भएका ई। मिलनमान मास्के, र विशेष बढुवा भएका नायव उपरीक्षकहरू ईश्वरी बहादुर पुन, चाम नारायण महतो र रित बहादुर बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
नेपाल सरकारको साउन १२ गतेको निर्णयअनुसार यी पदोन्नति भएका हुन् । महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरूलाई बधाई दिँदै सङ्गठनप्रति इमानदार, अनुशासित र व्यावसायिक भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगरसहित अन्य अधिकृत र जवानहरूको उपस्थिति थियो ।














