Logo
Logo

जनार्दनको चीत्कार कि चेतावनी ?


शरद् रिजाल

2.3k
Shares


नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तेस्रो कार्यकालका रुपमा रहेको १८ महिने सरकारले सुशासनको अभियान आरम्भ गर्दैगर्दा उपमहासचिव जनार्दन शर्माले भने प्रचण्ड प्रधानमन्त्री रहेको त्यस अवधि सुशासन अभियानको रुपमा नरहेको आशयको अभिव्यक्ति दिएपछि माओवादीवृत्त तरंगित बनेको छ ।

‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरू कम्युनिस्ट नेताले असुली धन्दा गरेकै छन्, यो ठहर भएकै छ । यो आरोप होइन, यथार्थ हो ।’, उपमहासचिव शर्माले गत साउन ६ गते राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो भनेपछि माओवादीमा आँधीबेहरी चल्न थालेको छ ।

भनिन्छ–‘सर्पको खुट्टा सर्पले मात्रै देख्छ ।’ ४० को दशकदेखि प्रचण्डसँग एउटै पार्टीमा रहेका जनार्दनले तितोसत्य पोखेका छन् । यो यथार्थ हो । यसबाट पाठ सिकिएन भने भ्रष्ट नेताहरूको पतन अवश्य हुन्छ नै, त्यसले सिंगो पार्टीलाई समेत पतनको डिलमा पु¥याउँछ ।

पछिल्लो समय पार्टीमा प्रचण्डको एकाधिकारविरुद्ध जनार्दन खुलेरै लागेका छन् । उनले जति प्रचण्डलाई अरूले जान्दैनन् । त्यसैले पनि उनले मुलुककै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई मात्रै सादगी र निष्कलङ्क देखेका हुन सक्छन् ।

स्मरण रहोस्, ५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमालेको ९ महिने सरकारले नेपाली जनताले आजीवन सम्झने उल्लेख्य काम गरेको थियो । ‘आफ्नो गाउँ आफैँ बनाऔं’ कार्यक्रमदेखि बृद्धभत्ताको सुरुवात अधिकारीकै ९ महिने सरकारले गरेको हो । जसलाई एमालेले अहिले पनि मागी खाने भाँडो बनाएको छ ।

प्रचण्ड मुलुकको तीन पटक प्रधानमन्त्री भइसक्दा पनि नेपाली जनताले दीर्घकालसम्म सम्झिने उल्लेख्य काम गर्न सकेनन् । अरु त अरु द्वन्दपीडितको घाउमा मल्हम लगाउनसमेत चुके । बेपत्ताको त कुरै छाडौँ । तर पनि, पार्टी जति कमजोर भए उति लामो समय प्रधानमन्त्री हुने सौभाग्य भने उनले पाएका छन् । उनको यसअघिको दुई कार्यकाल करिब ९ महिनाभन्दा बढी जान सकेन तर पछिल्लो तेस्रो कार्यकाल भने उनले गठबन्धन अदलबदल गर्दै १८ महिना सत्तामा रहन सफल भए ।

यद्यपि, पालैपालो दुई ठूला दल कांग्रेस र एमालेलाई झुक्याएर सत्तामा रहेका उनलाई ती दुवै पार्टी मिलेर सत्ताबाट गलहत्याइदिए । एकातिर राजकीय सत्ता गुमाउनुको पीडा अर्कोतिर पार्टी सत्ताबाट बहिर्गमनका लागि उपमहासचिव जनार्दनले पेश गरेको पार्टीभित्र लोकतान्त्रिकरण र नेतृत्व हस्तान्तरणको एजेण्डाले उनी अहिले आजित छन् । यही कारण माओवादीमा केही समययता उपमहासचिव जनार्दन र अध्यक्ष प्रचण्डबीचको अन्तरसंघर्ष निकै पेचिलो तवरले उत्कर्षमा पुगेको छ ।

प्रचण्डलक्षित प्रधानमन्त्रीले असुली धन्दा चलाएको जनार्दनको आरोपले माओवादीभित्र आरोप्रत्यारोपको श्रृंखला सुरु भएको छ । यसले माओवादीले दाबी गरेको सुशासनको अभियानमाथि नै प्रश्न उठाएको छ । यस अभिव्यक्तिपछि प्रचण्डका निकटस्थहरूले सार्वजनिक रूपमै जनार्दनविरुद्ध सामाजिक सञ्जालमा उत्रिएका छन् ।

३६ वर्षे नेतृत्व यात्रामा प्रचण्डसँगै रहेका जनार्दनले पछिल्लो पार्टीको ओरालो यात्रालाई नजिकबाट नियालेका छन् । र, त्यसलाई रोक्न उनी नेतृत्वको विकल्प अपरिहार्य रहेको निष्कर्षमा पुगेका छन् । यही कारण प्रचण्डले जनार्दनलाई पार्टी छाड्न चुनौती दिएका थिए । त्यही बढ्दो तिक्तताकै उपज शर्माको पछिल्लो अभिव्यक्ति आएको आकलन पनि गरिन्छ ।

त्यसो त एकथरी माओवादी कार्यकर्ताले प्रचण्डको पछिल्लो १८ महिने शासनकालमा सुशासनका लागि केही सकारात्मक पहल गरिएको र त्यसकै कारण सरकारबाट बाहिरिनु परेको माओवादी नेताहरू बताउँदै आएका छन् ।

नेपालीमा एउटा उखान निकै प्रख्यात छ– ‘बोकेको कुकुरले मृग मार्दैन ।’ माओवादीले जतिबेला आफूसँग बलियो संसदीय अंकगणित थियो, त्यस समयमा जनपक्षीय काम गर्न नसकेर सरकारबाट बाहिरिनु पर्यो । दोस्रो कार्यकालमा पनि कमजोर संसदीय अंकगणित र समयावधि निर्धारण गरेर प्रचण्डले सरकारको नेतृत्व गरेकाले उल्लेख्य परिणाममुखी काम हुन सकेन । तेस्रो कार्यकालमा माओवादी सर्वाधिक कमजोर संसदीय अंकगणित रहेको अवस्थामा कांग्रेस एमालेको बैशाखीले सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो । सत्ता सहयात्री बदलेरै भए पनि करिब १८ महिना प्रचण्डले सरकार चलाए ।

प्रतिस्पर्धी दलका नेताले उक्त आरोप लगाएको भए त्यसलाई राजनीतिक विषयका रुपमा मात्रै लिन सकिन्थ्यो होला । तर, पार्टीकै उपमहासचिवले नै प्रचण्डको कार्यकाल भ्रष्टाचारजन्य कार्यबाट अछुतो नरहेको आशय व्यक्त गरेपछि माओवादीको सुशासनको दाबीमाथि नै विरोधाभाष उत्पन्न भएको छ ।

प्रचण्डको हरेक राजनीतिक यात्रामा साथमै रहेका जनार्दनले हचुवाकै भरमा यति गम्भीर आरोप लगाएको मान्न सकिँदैन । पछिल्लो राजनीतिक टसलकै कारण उनले यस्तो आरोप लगाएका हुन् भने पनि त्यसको जवाफदेही पनि जनार्दन हुनैपर्छ । यदि, जनार्दनले राजनीतिक तुष र नेतृत्वसँग पार्टीभित्र चलेको अन्तरसंघर्षकै उपज यस्तो गम्भीर लाञ्छना लगाएका हुन् भने त्यो राजनीतिक संस्कार कदापी हुन सक्दैन । त्यसो गरिएको भए जनार्दनकै लागि प्रत्युत्पादक हुन सक्छ ।

तर, वास्तविकता पहिल्याएरै जनार्दनको लाक्षणिक अभिव्यक्ति आएको हो भने प्रचण्ड सरकारले सुशासनको अभियानको आवरणमा अदृष्य आर्जनमा लागेर जनतामा भ्रम सिर्जना गरेको पुष्टि हुन्छ । यसबाट जनताले पनि माओवादी नेतृत्वको ‘देखाउने र खाने दाँत’ अलग भएको अर्थमा बुझ्न झनै सहज हुने छ ।

प्रतिक्रिया दिनुहोस्