के राजनीति निर्दयी हुन्छ ? हानिकारक सहानुभूतिहरुको गम्भीर नाट्य रुपान्तरण हो राजनीति ? आफुप्रति आकर्षण र विरोधीप्रति विकर्षण पैदा गराउन प्रयोग गरिने मायावी षडयन्त्रहरु राजनीतिका चाल हुन् ? न त स्थायी मित्र, न स्थायी दुश्मन, सार्वजनिक गरिएका तथाकथित प्रतिवद्धताहरुको निरन्तर आवृत्ति । जसले राजनीतिक मालिकहरुका निजी आग्रहहरुलाई दुनियाँ, समाज र राज्यका प्राथमिकता भन्ने आमभ्रम सिर्जना गर्दछ ?

राजनीति त्यति जटिल हुँदैन, जति जटिल छ भन्ने भाष्य तयार पारिन्छ । राज्यका माथिल्ला पदहरुको चरित्रले पदमा बस्ने व्यक्तिको मनोविज्ञान र मानसिक अवस्थालाई जटिल बनाइदिन्छन् । पण्डित, पाखण्ड र नेताहरुको एकै चरित्र हुन्छ । उनीहरु एक्लै बोल्छन, अरु सबै सुन्छन् । जब सुन्न, हेर्न र वास्तविकता बोध गर्ने अवसर गुमाउँछ अनि उसका ब्रेनका तन्तुहरु शिथिल हुन्छन् र स्वतन्त्र अभ्यास गर्न सक्दैनन् ।
ती तन्तुहरु निजी आग्रहप्रति यति अभ्यस्त हुन्छन्, कानमार्फत फरक कुरा दिमागमा पुगेपनि दिमागका कोषिकाहरुको ग्रहणीय क्षमता गुमिसकेको हुन्छ । उदाहरणका लागि जारमा राखिएको पानी हल्लाइरहनुस् । तल लेउ लाग्दैन, नहल्लाउनुस लेदो तल थिग्रिरहेको हुन्छ । मान्छेको ब्रेन पनि प्रज्ञान, प्रविधि, विरोध, समर्थन, समाजका आग्रह, बहस, विवादबाट सन्तुलित हुने हो । यदि, यी सबैबाट कसैलाई मुक्त राखेर हेर्नुस्, उ कस्ता प्रतिक्रिया जनाउँछ, विचार गर्नुस् । कुनै पण्डित कसैसँग सम्वाद गर्छ ? कुनै प्रश्नको किन भन्ने उत्तर दिन्छ ? दिँदैन ।
खड्गप्रसाद (केपी) ओलीले विद्यादेवी भण्डारीमाथि हानिकारक सहानुभूति दर्शाउनु भएको हो । अंगे्रजीमा ‘टक्सिक इम्प्याथि’ भनिने हानिकारक वा घातक सहानुभुति, सुन्दा सहानुभुति जस्तै लाग्छ । ‘टक्सिक इम्प्याथि’ सम्प्रेषणका लागि जटिलतर्क, अप्रमाणित तथ्य र एकांकी विश्लेषणहरुको जालो बुनिन्छ । ती सबैका आधारमा एउटा नारा बन्छ र त्यसलाई मुक्त वितरणका लागि राजनीतिक बजारमा छाडिन्छ । अनि बौद्धिक, प्राज्ञ, संचारकर्मी वा मुद्दामा आधारित बहसका वाहक वा उपभोक्ताहरु उत्तेजित ओपिनियम निर्माणको प्रयत्न गर्छन् । जसले हानिकारक सहानुभुतिको प्रयोग गर्छ, उसैका हितार्थ जनमत बनाउनु यसको समष्टिय प्रयोजन हो ।
पुर्वराष्ट्रपति राजनीतिमा प्रवेश गर्न हुन्छ, हुँदैन ? ओलीका भाष्यमा हुँदै हुँदैन । राजनीतिमा पुर्वराष्ट्रपति प्रवेश नगर्ने हो भने के निकोसेराका किसानले खेतमा उभ्याएका बुख्याँचा प्रवेश गर्छन त ? पुर्वराष्ट्रपतिलाई आफ्नो जन्मस्थान रहेको पालिकाको मेयर बन्ने अधिकार यो संविधानले दिएको छ कि छैन ? संसारमा विकसित कुनैपनि विधिले पुर्वराष्ट्रपतिहरुका लागि राजनीति बन्धित गरेको छ ? छैन ।
कसलाई सदस्यता दिने वा नदिने ? कसरी दिने र कहिले दिने ? एमालेको निजी अधिकार हो । त्यसमा बाहिरियाहरुको चासोको अर्थ छैन । तर, एमालेले आफ्नो दललाई पार्टी सार्वजनिक संस्था हो भनेको छ, नेपाली जनताको प्रतिनिधिमुलक पार्र्टी भनेको छ र उसले आम मान्छेको हितका लागि यस पार्टीले काम गर्नेछ भन्ने प्रतिबद्धता बारबार लेखेको, बोलेको छ । उसकै प्रतिबद्धता अनुसार एमाले सार्वजनिक संस्था हो, सार्वजनिक बहसको बिषय हो र सार्वजनिक जीवनयुक्त अवयव हो यो दल । त्यसकारण उसका अन्तरनिहित पक्षहरुमा बहस पैरवी हुनु जायज छ । सार्वजनिक स्थानमा कसैले कसैमाथि अन्याय गर्छ भने त्यसप्रति विमति राख्नु नागरिक कर्तव्य हो । विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेजी राजनीति गर्ने स्वतन्त्र अधिकारको विरुद्ध छ । यो न्यायको बिषय भएको छ । न्याय हनन हुँदा नबोल्नु अन्यायलाई प्रश्रय दिनु हुन्छ । त्यसकारण यसमा बोल्नुपर्ने भएको हो ।
विद्यादेवी भण्डारि पनि कम्युनिष्ट हुन् । कम्युनिष्ट आदर्शमा विपक्षीको सफाया पार्टीको सिद्धान्त र निष्ठता नै मानिन्छ । रसियन नेता लेनिनका दायाँ हात मानिने ग्रिगोरि येभ्सेयेभिच जिनोभियभ र लेभ कामेनेभ उनको मृत्यपछि स्टालिनकै कित्तामा सामेल भएका थिए । स्टालिन र यि दुबैको मित्रता यति गहिरो थियो कि यिनैको सहयोगमा ट्रटस्किलाई पार्टीबाट किनारा लगाइयो । पछि, जब स्टालिनले कामेनेभ र ग्रिगोरिबाट खतरा महसुस गरे, उनीहरुलाई मराइदिए । लेनिनले स्थापना गरेको लेनिनवादी संगठन संरचनामै स्टालिनवाद स्थापित भएको थियोे । एमाले पनि आफुलाई लेनिवादी संगठन संरचना अपनाएको पार्टी मान्छ सायद ।
ओलीले लेनिनवादी संगठन संरचनाको आडमा विद्यादेवी भण्डारीको सदस्यता खारेज गरिदिए । उनीहरुबिचको लामो समयको राजनीतिक मित्रता वा सहकार्यको नतिजा लेनिनवादको नसामा स्टालिनिष्ट प्रतिक्रिया हुनु थियो, भयो । नेपालमा कम्युनिष्ट शासन नभएर प्रजातान्त्रिक शासन व्यवस्था हुनाले सदस्यता खारेज भयो । अरु अप्रिय केही भएन । उत्तर कोरियामा फुपाजुलाई भोका कुकुरको खोरमा फ्याँकिएको कथा दिमागका कुनामा फनफनी घुम्छन् । नेपालमा यस्ता त्रास पाल्नु पर्दैन ।
पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक आग्रहले समाजको सानो हिस्सालाई मात्र आकर्षण गर्न सफल थियो, सदस्यता खारेजीपछि उनको मुद्दाको आयाम र आयतन अलि फराकिलो हुन पुगेको छ । विद्यादेवी भण्डारीले नबुझेको वा बुझ्न नखोजेको तथ्य उल्लेख गर्नु सान्दर्भिक हुनेछ । आजसम्म संसारको राजनीतिक इतिहास जुँगाहरुको लडाइँका दस्तावेज हुन् ।
इन्दिरा गान्धी र मार्गरेट थ्याचरलाई छाड्ने हो भने महिलाहरु पुरुषको सहयोगी राजनीतिक भुमिकामा छन् । विद्यादेवी भण्डारीले जब राजनीतिमा जुँगाको चुनौती सामना गर्न कम्मर कसेकै थिइन् भने उनका रणनीतिक चाल देखिएभन्दा फरक हुनुपथ्र्यो । उनकै भाषमाभन्दा उनले ३५ बर्ष अभ्यास गरेको लेनिवादी संगठन संरचनामा पन्पिँदै गएको स्टालिनवादी अहंकरवादको आँकलन गर्न सक्नुपथ्र्यो । लेनिवादी हतियारले विद्यादेवी भण्डारीको सदस्यता खारेज गर्न सक्छ भन्ने अनुमान गर्नसक्ने ज्योतिषहरु उनको कित्तामा दुईचार त हुनैपथ्र्यो ।
अर्को कुरा, नेपाली समाज मदन भण्डारीको बहुदलीय जनवादबाट सुरु भएर त्यहिँ अन्त्य हुने अस्थायी प्रकृतिको संरचना होइन । नेपालको लामो इतिहास छ र नेपालीहरुको इतिहास नेपाल देशको भन्दा पनि लामो छ । मदन भण्डारीले बहुदलिय जनवादको कुरा गर्नुभन्दा ६० बर्षअघि नै बहुदलका लागि खड्गमानसिंहरु सक्रिय थिए ।
भण्डारीका सम्बोधनमा अग्रणी आन्दोलनका नायक नायिकाहरुको नाम लिनु पनि उचित ठानिएन । किन? विद्यादेवि भण्डारीभन्दा ९० बर्षअघि जन्मिएकी योगमायाले उनकै गृहजिल्ला भोजपुरबाट समाज सुधारको प्रयास थालेकी थिइन् । साहना प्रधान, मंगलादेवी सिंह र शैलजा आचार्यहरु अघिल्लो पुस्ताका नेता थिए । पुष्पलाल, वीपी, गणेशमासिंह र मनमोहन अधिकारिहरुको प्रजातान्त्रिक विरासत धान्ने हिम्मत कथ्यमा किन आउन सकेन ? प्रकृतिको प्राकृतिक चरित्र र हिम्मत माताहरुमा देखिन्छ, विद्यादेवी भण्डारीमा त्यो हिम्मतको अपेक्षा गर्नु अनुचित होइन ।
प्रकृतिको अध्ययनमा देखिन्छ, एनिमल किङडम अथार्त प्राणी अधिराज्यमा माताहरु अधिकांशत शान्त हुन्छन्, जब अशान्त हुन्छन् नि भाले प्रजाति जिजिविषाका लागि सरण पर्न वाध्य हुन्छ । डमरुको सुरक्षाका लागि एक बघिनि दशौँ बाघसँग लड्न तयार हुन्छिन् । अस्तित्व रक्षा वा रणनीतिक प्रत्याक्रमण प्रक्रियामा प्राणी अधिराज्यमा माताहरुको अपराजेय शक्ति छ । सनातनी दर्शनहरुले पनि भन्छन्, जब नारी बाहिर निस्किन्छन, जुँगा खौरिएर पुरुषभित्र पस्छन् । कहिलेकाहिँ मिथ्या विश्वासहरु राजनीतिक रंगमन्चका दृश्यचित्र जस्तै बन्छन् । विद्यादेवी भण्डारीको प्रयास मिथ्या विश्वास नबनोस् ।
उहाँले इतिहास अलिकति खोतले त्यसबट पनि महान शिक्षा पाउनुहुन्थ्यो । उहाँका निकटस्थ लेखकहरुले आफ्नै प्रज्ञान क्षमतामा बन्ध्याकरण नगरी तथ्य केलाउन सक्नुपर्ने हो । पृथ्वीनारण शाहकी बुहारी सिंहप्रताप शाहकी पत्नी राजेन्द्रलक्ष्मी ती बीर पात्र थिइन्, जसले राज्य संचालन गर्नेे क्षमता आफुसँग छ भन्ने अन्तरशक्ति पहिचान गरिन् । बहादुर शाहलाई झ्यालखानामा हालिन् र नायवी लिएर देशको सिमा विस्तार अभियान चलाइन् । बहादुर भनिएका सेनाहरु एकपछि अर्को गर्दै भागेपछि झाँसिकी रानी पिठयँुमा बच्चा बाँधेर तरवार लिएर आफैँ लडाइँको मैदानमा आइन् । सेनाहरु त पहिले नै भागिसकेका थिए । विद्यादेवी भण्डारीले एमालेभित्र आफ्ना ठानेका जर्नेलहरु धमाधम भाग्दैछन् । अपराध त्यो दुश्कर्म हो, जो शक्तिसँग हरदम त्रस्त रहन्छ । जर्नेलहरु भाग्नु निजहरुको नियति हो विद्यादेवीको कमजोरी होइन ।
राजेन्द्रलक्ष्मी यता आएर नेपालको इतिहासमा कुनै महिलाले पनि राजनीतिमा जुँगाको एकाधिपत्य तोड्ने हिम्मत र कला देखाएका थिएनन् । मलाई लागेको थियो, विद्यादेवी भण्डारीले यो जुँगाको साम्राज्यमा धावा बोल्दैछिन र प्राणी अधिराज्यमा माता बाहिर निस्किएपछि भालेहरुको जिजिविषा बाँच्नुमा सिमित रहन्छ भन्ने सत्य मानव सभ्यतामा पनि एकपटक पुष्टि हुने छ । के हुन्छ कसो हुने छ त्यसको पटाक्षेप समयले गर्ला ।
आम अनुमान विपरित मार्गरेट थ्याचरले उनकै पार्टीका नेता एडवार्ड हिथलाई हराएकी थिइन । इन्दिरा गान्धी मोरारजि देशाइको प्रचण्ड विरोध सामना गरेर भारतको राजनीतिमा स्थापित भइन् । नेपालमा महिलाहरुले पुरुष अभिमान आूर्तिका लागि राजनीति गरिदिएका थिए । मंगलादेवी सिंह, शैलजा आचार्य वा सहाना प्रधानहरु राजनीतिको फ्रन्टलाइनमा नउभिइ पछिल्लो पंक्तिमा उभिए । सायद उनीहरुलाई थाहा थियो, पहिलो पंक्तिमा उभिनुले जुँगाको साम्राज्यले चुनौति महसुस गर्छ र त्यसले आफ्नै एैतिहासिक पहिचानमाथि टिपेक्स लगाइदिन सक्छ ।
ओलीलाई लाग्छ १४ भुवन र १४ विद्या उनैलाई मात्र कण्ठस्थ छ । तर, भुवनहरु १४ नभएर हजारौँ छन् र विद्या पनि १४ बाट १४ हजार पुगिसकेको उनले पत्ता पाएका छैनन् । भण्डारीलाई राजनीतिमा नआउनुस्, तपाइँको इज्जत जान्छ, सम्मानपूर्ण भएर बसिरहनोस् भन्ने उनको उपदेश हानिकारक सहानुभुति हो । जसको उद्देश्य पार्टी सत्तामा आफ्नो निरन्तरताका लागि ढोँगी सहानुभुतिको सहारा लिनुथियो । यसैलाई ओलीले प्रज्ञानपुर्ण भनेका छन् । एउटा किताब नपढी सुत्नै नसक्ने ओली सायद, अलिबाबा र ४० चोर, तेनालिरामका चतु¥याँइ, दि ब्रेभ वान कमिक्सबाट लिँदा हुन् राजनीतिमा प्रतिस्पर्धीहरुलाइ समन गर्ने विधि ।
विद्यालाई किनाराकृत गरेपछि ओलीले अब प्रतिस्पर्धाका डर पालिरहनु पर्दैन र भविष्य सोचिरहनु पनि परेन । ओलीले सोच्न छाडेपछि त्यस विन्दुबाट सोच्ने सामथ्र्य विद्यासँग छ भने अब पनि उनले राजनीतिमा हलचल ल्याउन सक्छिन् । तर, सदस्यता खारेज गरिएको रोदन वा विनयशिलताले राजनीतिको निरंकुश प्रविृत्तिलाइ पगाल्न सक्दैन । उनलाइ पुर्वराष्ट्रपति राजनीतिमा आउँदा इज्जत रहँदैन, यसो नगर्नुस भन्नु घातक सहानुभुति मात्र थियो ।
च्यासलमा ओली र भंगालमा विद्या फरक अनुहारका एकै चारित्रिक विशेषतायुक्त भयातुर भंगीमा ग्रस्तहरुको सान्निध्यमा छन् भन्ने अनुमान योग्य कुरा हो । उनले सायद जीवनको पहिलोपटक बोध गरिन् होला आफ्नै अनुचरी गरिरहेका कति धेरै एमालेजनहरु उनीप्रति फणा उठाएर बिष ओकलिरहेका छन् । एमालेले सदस्यता खारेज गरिदिएको राति उनले के सोचिन् होला ? ओलीले आफैँले गरेको विद्यादेवीको सदस्यता खारेजीको बहादुरीलाई आफैँले पुरस्कार योग्य ठाने वा पश्चातापपुर्ण ? उनका अन्तरमनले सहि ठान्यो वा राजनीतिमा ‘न दुश्मन, न मित्र’ आफ्नै क्षुधाहरुको पूर्तिका लागि क्ष्यम्य हरकत ठानेर आफैँ चित्त बुझाए ? ‘तातो ग्यास मनुष्यका मगजका सम्पुर्ण उत्रिदिए’ के विद्यादेवी मान्छेका मगजको तातो ग्याँस उत्रिने समय पर्खिन्छन् वा उतार्न लाग्छिन् ?
सदस्यता खारेजको समाचाले उनमा स्त्रिसुलभ कोमलतापुर्ण मनोभावनात्मक उद्वेग उत्पन्न भयो भने, रोइन होला । सायद कसैले पत्ता नपाउने गरि सुक्सुँक पनि गरिन् वा रिगोवेर्टा मेन्चु, झाँसिकी रानी, लिउ हुलान, याङकाइ हुइ, मंगलादेवी सिंह, साहना प्रधान र शैलजाहरुका कथाका पाना पढिन् वा सम्झिन् ? वा उनका स्वर्गीय पति मदनकुमार भण्डारीले टुकीको धिपधिप उज्यालोमा लेखेको जनताको बहुदलीय जनवादका आदर्श र चालु राजनीतिको तुलना गरिन् ? च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको बडेमाको भवनको गजुरमा चढेर बहुदलीय जनवादको पुस्तक देखाउँदै उनैलाई मानमर्दन गरिरहेका झोले, चम्चा, हुक्के र बैठकेको अनुहार ठम्याउने प्रयत्न गरिन् ?
अब, उनका योजनाहरु के के छन ? के अब विद्यादेवी भण्डारीको राजनीतिक अभ्यास वा हिम्मत पनि किनारीकृत भएको हो ? आर्थिक र सामाजिक स्तरीकरणका मोटामोटा पोथाहरुमा नपाइने राजनीतिक स्तरकिरणको यो परिघटना मौसमी पटाक्षेप भएको हो वा यो राजनीति परिवर्तनको एक विम्व ‘विद्यादेवी सदस्यता काण्ड’ हुने हो ? प्रकाण्डहरुले रचना गरेका धेरै काण्डहरुले नेपालको राजनीतिक परिवर्तनको गोरेटो कोरेको मान्न सकिन्छ ।
उनले पनि संरचनात्मक सिमिततालाई नै ध्यान दिएको देखिएको छ । राजनीति गर्न एमाले नै चाहिन्छ भन्ने उनको सिमित सक्षमता लामो समय एमाले सदस्यता र पार्टी राजनीतिले स्थापित गरेको भ्रम हो । कुनै पनि दल, दलबाहिर हुने उथलपुथलबाट बनेका भत्किएका वा सुधार गरिएका हुन्छन् । नेपाली समाजको ठूलो हिस्सा एमाले दलभन्दा बाहिर नै छ । उनले संचनात्मक सिमितताबाट नसोची रचनात्मक सक्रियतालाई रोजिन् भने दल बन्ने र बनाउने बाटाहरु हजार हुन्छन् । संरचनात्मक सिमितता भन्नुको तात्पर्य राजनीति गर्न उपयुरक्त मञ्च एमाले मात्र देख्नु हो । बनिबनाउ चौखट (फ्रेम)बाट बाहिर निस्किएर हेर्नु कठिनचाहिँ हो तर चौखट बाहिर निस्कनेहरुले नै क्रान्ति गरेका कथाहरु छन् ।
साथै, नेपाली समाजमा ठूलो आयतन ग्रहण गरिसकेका केही खास राजनीतिक मुद्दाहरु, जसमाथि मुल राजनीतिक दलहरु अन्यमनस्क छन्, तिनीहरुप्रति विद्यादेवी भण्डारीका दृष्टिकोण के हुन् ? धर्मनिरपेक्ष, संघीयता वा समानुपातिक प्रतिनिधित्वका सम्बन्धमा उनका आफ्ना निजि धारणा के हुन् ? जातियता, संस्कृतिक र बहुसास्कृतिक विविधताहरुलाई उनी कसरी हेर्छिन् ? एकीकृत राज्यको सबैभन्दा माथिल्लो राष्ट्रपतिको पदमा बसेर हेर्दा मानसिक एकीकरणको अवस्था कस्तो पाइन् ?
सभ्यता र संस्कृतिजन्य फरक र विविधताप्रति उनमा रहेको भावनात्मक संवेग के हुन ? राजनीतिको मुल्य तोकिएको वर्तमानमा मुल्यको राजनीति स्थापना गर्ने उनका सोच, चिन्तन, अभ्यास र गति के के हुनेछन् ? सभ्यताजन्य द्वन्द्वहरुप्रति उनका अवधारणाहरुले के भन्छन् ? पश्चिमा भाष्य सिर्जित वामपन्थी र नेपालको नेटिभ राजनीतिक मौलिकताहरुका असामन्जसयता सतहमा आइरहेका छन् । त्यसलाई उनी कसरी ग्रहण गर्छिन् ? तिमध्ये कुन तिरस्कृत वा संरक्षण योग्य छन् ? के छन् उनका विचारहरु ? राजनीतिको प्रभावकारिता यि प्रश्नहरुमा उनका दृष्टिकोणले निर्धारण गर्दछ ।











