
काठमाडौं । पछिल्लो समय चुपचाप जस्तै रहेका चक्रे मिलन भनेर चिनिने मिलन गुरूङ गएराति पक्राउ परे । करिब १ बजेतिर महाराजगञ्जस्थित साम्वाला होटलमा होहल्लासहित म्युजिकको तालमा बर्थडे मनाइरहेका उनीसहित ४७ जना पक्राउ परेका हुन् । उनीहरुलाई पक्राउ गर्न प्रहरीले एक प्रकारको पापड नै बेल्नुपरेको थियो ।
प्रहरीले देशैभरी गुण्डागर्दीमा संलग्नमाथि २०७१/७२ तिर इन्काउन्टर सुरू गरेपछि गुण्डागर्दी कम भएको थियो । तर, पछिल्लो समय गुण्डागर्दी फेरि मौलाउन थालेको देखिन्छ । केही दिनअघि गाडीको लावालस्कर लगाएर सडकमा गुडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । गाडीको लावालस्करले बाटो छेकेर गुरूङको गाडी सडकमा गुडेको अपराध अनुसन्धान कार्यालयमा पुगेपछि उनी प्रहरी निगरानीमा परेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले केही दिनअघि आतंकित गर्नेगरी सडकै ढाकेर बाटो छेकेको भिडियोहरू देखिएपछि उनीमाथि निगरानी बढाएको बताए । दुई–तीन दिनदेखि गुरूङले बर्थ डे मनाइरहेका थिए । सोही क्रममा बिहीबार उनी बर्थ डेको अवसरमा पशुपतिमा पूजाआजा र सडकमा बसेका असहायलाई सहयोग वितरण गरेको भिडियो बाहिरिएको थियो ।
साम्वाला होटलमा पुग्नसमेत गुरूङलाई स्कटिङ गरेर सडकमा लावालस्कर गाडी देखाएपछि प्रहरी पक्राउ गर्ने अवस्थामा पुगेको हो । ‘आतंक सृजना गर्ने गतिविधि गरेपछि केही दिनदेखि उनीहरू निगरानीमा थिए । बर्थ डे मनाउने नाममा निरन्तर आतंक सृजना गरेपछि पक्राउ गर्नु परेको हो’, उनले भने । पक्राउ परेकाहरूलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














