काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीति व्यापारीकरणसँगै भ्रष्टीकरण भएको बताएका छन् । शुक्रवार पार्टीको उपत्यकास्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले सङ्घीयता, धर्मनिरपेक्ष गणतन्त्रको मार्गचित्र र विचार असफल भएको बताए ।

अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको, लाखौँ युवालाई विदेश पलायन हुन बाध्य पारेको, हरेक क्षेत्रमा सीमित दल र नेताको सिन्डिकेट लगाएको उनको आरोप छ ।
धर्म परिवर्तनको डढेलोले धार्मिक सद्भाव विगारेकोसमेत आरोप उनले लगाए । यी घटनाक्रमले यो व्यवस्थाबाट जनता वाक्क दिक्क भएको थापाले बताए ।
काङ्ग्रेस र कम्युनिस्ट पार्टीप्रति तीव्र वितृष्णा रहेको भन्दै थापाले जनता विकल्पको खोजीमा रहेको बताए । उनले हरेक जसो दिन नयाँ नयाँ भ्रष्टाचार काण्ड भइरहेको, बहालवाला मन्त्रीहरू नै हरेक काण्डमा संलग्न हुनुले यो व्यवस्थाले देश र जनताको हित हुन नसक्ने बताए ।
सङ्घीयताले भ्रष्टाचारलाई तल्लो तहसम्म पु¥याउनमात्रै भूमिका खेलेको, सत्ता र कुर्सीको फोहरी खेलमा प्रदेश रुमलिएको, राजनीतिलाई स्वार्थकेन्द्रित बनाउँदै व्यापारीकरणतर्फ लगिएकोले मुलुक डरलाग्दो भ्रष्टाचारको चक्रमा फसेको थापाले बताए । उनले राप्रपा नेपालले वैचारिक विकल्प दिइरहेको बताए ।














