धनगढी । कैलालीमा एक युवतीको हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजवालको आज बिहान चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

बर्दगोरिया गाउँपालिका–३ घर भएकी उनी राजधानी सेकुवा एण्ड मःम सेन्टरमा काम गर्दै आएकी थिइन् । सेजवाललाई सोही सेकुवा सेन्टरमा काम गर्ने युवकले चक्क हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार शनिबार बिहान १० बजेतिर सेजवाललाई बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले चक्कु हानेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटल पु¥याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए ।
सेजवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














