काठमाडौं । लिम्बु चलचित्रकर्मीहरूको स्मारिका ‘मुन्चइत्’को विमोचन शनिबार चुम्लुङहिम काठमाडौंमा सम्पन्न भएको छ । याक्थुङ मुन्चइत् चोक सयङ सङ्घीय कार्यसमिति र नेवास्ताम्सालिङ प्रदेश समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नविन सुब्बाको प्रमुख आतिथ्यतामा स्मारिका विमोचन गरिएको हो ।

२१६ पेजको उक्त स्मारिकामा प्रा.डा.लक्ष्मणप्रसाद गौतम, नविन सुब्बा, सागर केरुङलगायतका लेखकहरूका चलचित्रसम्बन्धी लेखहरू समावेश छन् । साथै, याक्थुङ मुन्चइत् चोक सयङको विधान, कार्यसमितिहरूको विवरण र अन्य नियमावलीहरू पनि समेटिएका छन् ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, मुन्धुमविद येहाङ लावतीलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । स्मारिकाका सम्पादक सागर केरुङले लिम्बु चलचित्र उद्योगको विकास र प्रवर्द्धनमा यो प्रकाशनले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।














